रविन्द्रसिंह ठकुरीबाँके । कोहलपुर बजार । त्यही बजारमा छ, कल्पना नास्ता पसल । त्यसको संचालक छिन् कल्पना थापा । पसल सानै भएपनि साइनबोर्ड झुण्ड्याइएको छ । त्यसमा लेखिएको छ– यहाँ म.म, चाउमिन, भुटन र थुक्पा पाइन्छ । नगरपालिका वडा नम्बर २ स्थित मुक्तिनगरकी कल्पनाका अधिकांश ग्राहक नियमित आइरहने पुरानै छन् । पसलमा आउने ग्राहक देख्ना साथ कल्पनालाई थाहा हुन्छ, कसलाई के चाहिन्छ ? कल्पना पहिला ग्राहक आउना साथ उनीहरुको रुचि अनुसारको परिकार तयार पार्थिन्, अनि मुहार हँसिलो पार्दै ट्क्रयाउँथिन् । तर अचेल भने अवस्था त्यस्तो छैन । पसलमा आउने ग्राहकप्रति उनको त्यति ध्यान जान्न, नत मुहार नै पहिले जस्तो हँसिलो छ । त्यसको कारण हो छोरा ।
कल्पनाका १४ वर्षीय छोरा राजु बेपत्ता छन् । ६ महिनाअघि ‘पानी बेच्न जान्छु’ भन्दै पसलबाट निस्किएका राजु अहिलेसम्म फर्किएका छैनन् । राजु कोहलपुरकै ‘श्रीकृष्ण सेकेन्डरी स्कुलमा ६ कक्षमा पढ्थे । स्कुलबाट फर्किएपछि उनले आमालाई पसलमा सघाउँथे । बढ्दै र पढ्दै थिए राजु । खाइलाग्दो कल्कलाउँदो छोरो, जीवनको साहरा । उनको जीवनको साहरा हराएको छ । सपना गुमेको छ । तर आशा चाँहि मरेको छैन । बजारमा कोही बालक देख्ना साथ कल्पनाको आँखा त्यहीँ पुग्छ । ठान्छिन् छोरा आयो कि ! तर उनको आँखाले बारम्बार धोका पाइरहेको छ । बजारमा देखिने सयौँ बालकतिर नजर लगाउँछिन्, तर राजु कहिल्यै टुपुल्किएनन् । छोरो आउँछ कि भनेर हेर्दाहेदै दिन बित्यो, साता बित्यो, महिना बित्यो तर राजु आएनन् ।
पसल नखोलूँ भने जीवन गुजारा चल्दैन, खोलूँ मन त्यहाँ छैन । कल्पना बेलाबेला टोलाइरहन्छिन् । कोठाभित्र पस्छिन् । भित्तामा राजुका लुगा झुण्डिएका छन् । एल्बममा तस्बिर । कल्पना त्यही तस्बिर छातीमा टाँस्छिन । अनि भक्कानिन्छिन् । उनको मनले भन्छ– छोरा तिमी कहाँ छौं ? छिट्टै फर्की आऊँ न........’ । कल्पनाको छोरो आउने आशको कल्पना सधै हावामा तैरिएर उडिरहेको छ । छोरा आपस् भनेर कप्पनाले अनेक भाकल गरिन् तर पूरा भएन । खबर अनेक आए तर राजु आएनन् । खबर ल्याउनेहरु कसैले भन्छन्– मरिसक्यो अब आउँदैन चित्त बुझाउ भो । आमाको मन हाे किन मान्थ्यो र ? कल्पनाको आश मरेको छैन । जीवनको साहरा आउने आशमा सधैं बाटो हेरिरहन्छिन् ।
राजु हराएपछि उनको सबैतिर खाेजी भयो । कल्पना टोलटोल डुलिन् । बस्तीबस्ती चाहरिन् । बजारमा सबैतिर खोजियो । खोजीमा छिमेकी र टोलबासीले पनि साथ दिए तर पनि राजुको पत्तो भएन । कल्पनाले खोजीको लागि प्रशासनलाई अनुरोध गरिन् । प्रहरी कार्यालय पुगिन् । खाेजीको लागि दबाब दिन बासिन्दा समेत प्रशासन धाए । तर पनि राजुको अवस्था एकीन भएको छैन ।
प्रहरीकाे अनुसन्धानमा राजु पहिला तुल्सीपुरको एक होटलमा काम गरेको अनि हाेटल साहुँसँग सल्यानकाे मूलपानी गएकाे देखिन्छ । त्यसपछि उनले मूलपानीस्थित ए वान साथीभाइ रेष्टुरेन्टमामा काम गरेकाे अनि त्यहाँ कुकसँग विवाद भएपछि सम्पर्क विहीन भएको देखाइएको छ । कसैकसैले राजु बुटवलमा मारिएको भन्ने खबर समेत सुनाउँछन् । त्यो सुन्दा कल्पना झन् भक्कानिन्छिन् । त्यस्तो खबरले सुन्दा बासिन्दा आक्रोसित भएका छन् । ‘हराएको व्यक्तिलाई प्रमाण नभेटी मर्यो भन्न मिल्छ ? बासिन्दाको आक्रोस छ । बासिन्दाले राजुको अवस्था सावर्जनिक गर्न प्रहरी र प्रशासनलाई बारम्बार दबाब दिइरहेका छन् । कि श्वास चाहियो कि लास’ भनेर कराइरहेका छन् ।
प्रहरीले पनि घटनालाई गम्भीर रुपमा लिएको छ । खोजी कार्य तीव्र पारिरहेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरले बालकको प्रारम्भिक अनुसन्धानदेखि अहिले सम्मका सबै कागजात जिल्ला प्रहरी कार्यालय सल्यानलाई दिइसकेको जनाएको छ । डिएसपी कुलदिप चन्दले घटना सल्यान जिल्लाको कपुरकोलको भएको हुँदा मुद्दा दर्ता पनि त्यही ठाउँमा भएको जानकारी दिनुभयो ।
प्रहरीले घटनामा संलग्न रहेका भनिएका पाँच जनालाई पक्राउ गरिसकेको जनाएको छ । उनीलाई पक्राउ गरी अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।