शम्भु दाहाल झापा । चार बुँदे सहमतिसँगै सुल्झीएको मेचीखोल ढुङ्गा उत्खनन् विवाद सहमति भएको ४ घण्टा बित्न नपाउँदै मेची नगरपालिकाले उल्लङ्घन गरेको छ । गत सोमबार इलाम र झापाका सरोकारवाला व्यक्तिसहितको सर्वपक्षीय छलफलपछि रोङ गाउँपालिका र मेची नगरपालिकाले चार बुँदे सहमतिमा हस्ताक्षर गरेका थियो ।
सहमतिको एक नम्बरमा सिद्धि र मेची नदी चुरे बफर जोन क्षेत्रको नदीजन्य पदार्थ निषेधित क्षेत्र भएको हुँदा सो क्षेत्रका ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् कार्यलाई तत्काल बन्द गर्ने र यस क्षेत्रमा सवारी ढुवानीका साधन ट्रक, ट्याक्टर र ट्रिपर प्रवेशमा रोक लगाउने उल्लेख गरिएको थियो ।सोमबार बेलुका साढे ६ बजे सर्वपक्षीय सहमतिपछि चार बुँदे सहमति गरेको ४ घण्टा बित्न नपाउँदै मेची खोलाबाट अवैध उत्खनन् गरी मेची नगरपालिका ३ तिरिङमा नेत्र सुब्बाको स्टकबाट ट्रिपरले ढुङ्गा ल्यायाे । त्यसलाई मेची नगरपालिकाले वैधानिकताको बिल दिएको छ ।
सहमति उल्लङ्घन गरी विर्तामोडतर्फ ढुङ्गा ल्याउने ना ७ ख ६६२५ नम्बरको टिपर धुलाबारी चोकबाट र को १ ख ४३९४ नम्बरको ट्रिपर इँटाभट्टा चोकबाट प्रहरीले नियन्त्रणमा लिएको छ । दुवै ट्रिपरले चुरे क्षेत्रबाटै ढुंगा लोड गरी ल्याएको चालकलाई सोधपुछ गर्दा खुलेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बताउनुभयो । चालकसँग मेची नगरले ठेक्का लगाएको विनीता श्री ट्रेड एन्ड सप्लायर्स प्रालि इटहरीकाे रसिद थियो । उक्त रसिदमा ढुंगा २६५ क्यु फिटको करबापत एक हजार ७९६ रुपैयाँ लिएको देखिन्छ ।
जनप्रतिनिधि र प्रशासनले चुरे क्षेत्रबाट हुने गरेको अवैध ढुंगा उत्खनन्मा चासो नदेखाएपछि रोङ गाउँपालिकाका स्थानीय चुरे क्षेत्र बचाउ अभियानमा उत्रिएको संघर्ष सिमितिका अध्यक्ष निर्मल तामाङले बताउनुभयाे । इलाम र झापाको सिमानामा रहेको मेची खोला उत्खनन् नरोकिएको भन्दै संर्घष समितिले झापातर्फ जाने सिँचाइको नहर नै बन्द गरिदिएको थियो । चुरे संरक्षणका लागि भन्दै रोङ गाउँपालिकाले प्रतिबन्ध लगाएको खोलामा पनि झापाको मेचीनगरका ट्याक्टर व्यवसायीले ढुंगा तथा बालुवा तस्करी गर्दा गाउँ र सिद्धि नहरनै भत्कने खतारा बढेकाले यस्तो गर्न बाध्य भएको तामाङ्गकाे भनाइ छ ।
अति संवेदनशील चुरे क्षेत्रबाट दैनिक सयाैँ गाडी ढुङ्गा तस्करी हुँदा रोङ गाउँपालिकाको वडा नम्बर ६ को बस्ती नै जोखिममा परेको रोङ ६ का वडाध्यक्ष मनिकुमार स्याङबोले बताउनुभयो । नहर बन्द गरेपछि मेचीनगर वडा नम्बर १, २, ३ र ४ का कृषक नौ दिन पानीबाट वञ्चित हुनु पर्यो । सिद्धि नहरको पानीले मेचीनगरमा १७ सय हेक्टर जमिनमा सिँचाइ हुँदै आएको छ ।
चार बुँदे सहमतिपछि मंगलबार बिहानदेखि नहर खोलिदिएको रोङ–६ का वडाध्यक्ष तामाङले जानकारी दिनुभयो । सिद्धि नहरको पानी मेचीनगरको तिरिङ र बाहुनडाँगी क्षेत्रमा आउँछ । नहरकै पानी त्यहाँका कृषकले खेतबारीमा प्रयोग गर्छन् । नहर बन्दा हुँदा नौ दिनसम्म कृषक समस्यामा परेका थिए । सरकारले ७० करोड बढी लगानीमा सिद्धि नहर सञ्चालनमा ल्याएको हो । आइइई गरेको स्थानमा बोर्ड नै छैन । मेची नगरपालिकाले आइइई गरेको क्षेत्रमा बोर्ड नलाउँदा चुरे क्षेत्रमा मात्र नभइ हडिया, निन्दा, मेची, टिमाई, बिरिङ्ग नदीमा जथाभावी उत्खनन् भइरहेको पाइएको छ ।
ठेकेदारले केही जनप्रतिनिधि र स्थानीय प्रहरीको आडमा खोलाको निरन्तर दोहन गरिरहेको छ । खोलाको दोहन भइरहँदासमेत अनुगमन समितिले त्यसतर्फ चासो देखाएको छैन् । गत वर्ष नदीजन्य पदार्थ जिल्ला अनुगमन समिति झापाले मेचीनगरमा अनुगमन गर्दा पनि नगरपालिकाले आइइई गरेको क्षेत्रबाहेकका क्षेत्रबाट पनि ठेकेदारले जथाभावी उत्खनन् गरिरहेको पाइएको थियो । यस वर्ष पनि ठेकेदारले आइइई क्षेत्रबाहेक पनि नदीका सीमा विभिन्न व्यक्तिलाई बेचेर रकम असुल्दै आएको छ । आइइई क्षेत्र तोकेको स्थानमा सबैले देख्ने गरी बोर्ड राख्न मेचीनगर नगरपालिकालाई जानकारी गराइसकेको इलाका प्रहरी कार्यालय काँकडभिट्टा प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले बताउनुभयो ।
के छ चार बुँदे सहमतिमा ?सहमतिमा सिद्धि र मेची नदी चुरे बफर जोन क्षेत्रको नदीजन्य पदार्थ निषेधित क्षेत्र भएको हुँदा सो क्षेत्रका ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् कार्यलाई तत्काल बन्द गर्ने र यस क्षेत्रमा सवारी ढुवानीका साधन ट्रक, ट्याक्टर र ट्रिपर प्रवेशमा रोक लगाइएको छ । साथै सो क्षेत्रमा त्यस्ता सवारी साधन प्रवेश गरेको भेटिएमा दुवै स्थानीय सरकारले कानुनी कारबाहीका लागि स्थानीय प्रशासनमा लेखेर पठाउने र सो क्षेत्रका स्थानीयले घरयासी प्रयोजनका लागि सवारी साधन नदीमा लगेको खण्डमा स्थानीय सरकारबाट अनुमतिपत्र अनिवार्य ल्याउने प्रावधान छ ।
सिद्धि नहरको बन्द रहेको पानी मंगलबारदेखि सञ्चालन गर्ने, चुरे बफर जोन क्षेत्रमा उत्खनन् भएको नदीजन्य पदार्थलाई जिल्ला अनुगमन समितिको निर्णयअनुसार नियन्त्रण लिइ कानुन बमोजिम प्रक्रिया अघि बढाउने र चुरे क्षेत्रलगायत आइइई नभएका क्षेत्रलाई दुवै पालिकाले उत्खनन् नगर्ने र नगराउने प्रतिवद्धता हुँदै सार्वजनिक सूचना दुवै पालिकाले जारी गर्ने निर्णय भएको जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले जानकारी दिनुभयो ।
समन्वय समिति झापाका अध्यक्ष पोर्तेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकमा प्रदेश सांसद श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, रोङ गाउँपालिकाका अध्यक्ष शमशेर राई, मेचीनगर उपप्रमुख मीना उप्रेती, समन्वय समिति इलामका उपाध्यक्ष चित्रकला बराइली, सदस्य चन्द्र मगर, झापाका सदस्य गंगा कार्की, झापाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौला, रोङ–६ नम्बरका वडाध्यक्ष सुभाष तामाङ, मेचीनगर–१ का वडाध्यक्ष पासाङ तामाङ, संघर्ष समितिका संयोजक निर्मल स्याङबो (तामाङ) लगायत सिद्धि नहरका उपभोक्ता, पत्रकार, सुरक्षाकर्मीलगायतको उपस्थिति थियो ।
तस्करलाई किन कारबाही हुँदैन ?मेची खोलाबाट ढुङ्गा तस्करी गरी मेची नगरपालिकाको तिरिङ्ग खोलामा लाखौँ घनमिटर ढुङ्गा राखिएको छ । सम्बन्धित स्थानीय तहले प्रमाणीत गरेको घाड्गदमा बाहेक अन्य नदीजन्य वस्तु राख्न पाइदैन । मेची नगरपालिकाका बन, वातावरण तथा प्राकृतीक स्रोत संयोजक तथाकार्यपालिका सदस्य टिकाराम मग्रातीलाई यस विषयमा सोध्दा अब १ महिनामा यो अवैध घाट्गद अटाउने बताउनुभयो । तर आठ महिना अघिबाट अहिलेसम्म नगरपालिका के हेरेर बसेको छ भन्ने स्थानीयको प्रश्न छ ।
नजिकै रहेको तिरिङ्ग प्रहरी चौकीको आँगनबाट बाटो छ । त्यहीबाटो ढुङ्गा बोकेका तस्करका गाडी कुद्छन् तर किन प्रहरी नदेखे झैँ गर्छ ? संघर्ष सिमतिका अध्यक्षले प्रश्न गर्नुहुन्छ ।
घरैपिच्छे ट्याक्टरमेची नगरपालिको तिरिङ्ग क्षेत्रका अधिकांश घरमा ट्याक्टर छन् । ट्याक्टर स्थानीयले कृषी प्रयोजनको लागि भनेर किनेका भए पनि ढुङ्गा, गिट्टी तस्करीमा प्रयोग गर्दै आएका छन् । सरकारले अन्य गाडीमा २ सय १३ प्रतिशतसम्म कर लिने गरेको भए पनि कृषी प्रयोजनको लागि कृषकलाई सहुलियत होस भनेर ट्याक्टरमा १ प्रतिशतमात्र कर लिने गरेको छ । तर यसरी भित्रिएका अधिकांश ट्याक्टर ढुङ्गा गिटी, बालुवा ओसारपसारमा प्रयोग हुने गरेका छन् । मेची यातायात कार्यालयका प्रमुख कृष्ण प्रसाद पौडेलसँग यस बिषयमा बुझ्दा यातायात कार्यालय र ट्राफिक प्रहरी मिलेर नै यसको नियमन गर्नुपर्ने बताउनुभयो ।