भगीरथ भण्डारी इलाम । इलाम नगरपालिकाका केशव खनाल इलाममा शितभण्डार (कोल्डस्टोर) बन्दा निकै खुशी थिए । उनलाई लागेको थियो कोल्डस्टोर निर्माणपछि कृषि उत्पादनका वस्तु राख्न पाइयो भने उत्पादित वस्तु स्टोर गरेर जुनसुकै बेला पनि बजारमा निकाल्न सकिन्छ । तर उनको सपना -सपनामै सिमित रह्याे ।
त्यसैगरी इलाम नगरपालिका–५ का कृष्ण पौडेल पनि शितभण्डार बन्ने भयो भन्दा निकै खुशी थिए । उनी व्यापारी हुन् । उनलाई लागेको थियो शितभण्डार सञ्चालन भएपछि कृषिजन्य वस्तु स्टोर गरेर समयअनुसार बजारमा निकाल्न सकिन्छ । तर अहिले उनी पनि कोल्डस्टोर सञ्चालन हुन नसकेकोमा चिन्तित छन् ।
यता इलाम नगरपालिका–८ का सचिनजंग रायमाझीलाई पनि लागेको थियो, कृषकले उत्पादन गरेका वस्तु बजारमा पुर्याउन कुनै समस्या हुँदैन भन्ने । कृषि उत्पादनका लागि अग्रणी इलामका वासिन्दाले शितभण्डार निर्माण भएर पनि उपभोग गर्न पाएका छैनन् । इलाम सदरमुकाममा निर्माण भएको नेपाल भारत मैत्री शितभण्डार ९ वर्ष वित्दा पनि सञ्चालनमा आउन सकेको छैन ।
भारतीय दूतावासको सहयोगमा ६ करोड रुपैयाँ खर्चेर शितभण्डार बनाइएको भएपनि लामो समयसम्म सञ्चालन नहुँदा नगरपालिकालाई आर्थिक भार बढ्दै गएको छ । महँगा र महत्वपूर्ण उपकरण बिग्रने अवस्थामा पुगेका छन् । दुई हजार मेट्रिक टन क्षमता भएको कोल्डस्टोर सञ्चालनमा नआउँदा यहाँ उत्पादन हुने किवी, आलु टमटरसहितका फलफूल, साग सब्जीलगायतले उचित बजार पाउन सकेको छैन । शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेलामा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले शितभण्डारको शिलन्यास गर्नुभएको थियो ।
त्यसपछि फेरी नेपाल भारत मैत्री शितभण्डार निर्माण गर्ने भनेर भारतीय मन्त्रीले पुनः उद्घाटन गरे । दुईपटक उद्घाटन गरी बनाइएको शितभण्डार सञ्चालन नहुँदा निर्माण सकिएयता विद्युत उपभोगको रकम नियमित मर्मतसम्भार र १ कर्मचारीको खर्च नगरपालिकाले व्यहोर्नु परिरहेको छ । एकपल्टमा एकैखाले उत्पादन मात्र भण्डारण गर्न मिल्ने ‘सिंगल च्याम्बर’को भएकाले पनि कोल्डस्टोर सञ्चालनमा ल्याउन कठिनाइ भएको र यसलाई फरक तापक्रममा फरक खाले तरकारी र फलफुललगायत राख्न सक्ने गरी ‘मल्टिच्याम्बर’ बनाउनु पर्ने आवश्यकता रहेको छ ।
‘सिंगल च्याम्बर’ भएकाले केही असर नगर्ने भएपनि कोल्डस्टोर सञ्चालन गर्न कसैले हिम्मतै नगरेको हुँदा चल्न नसेकेको भनाइ छ । नगरपालिकाले पटक-पटक ठेक्का खुलाउँदा पनि सञ्चालनको लागि अहिलेसम्म कोही नआएको इलाम नगरपालिकाका प्रशासकीय अधिकृत रामकुमार शाह बताउँनुहुन्छ । इलाम नगरपालिकाले कर्मचारीबापत् मासिक १५ हजार रुपैयाँ विजुलीको बिलवापत् वार्षीक ६ लाख हाराहारीमा र वार्षीकरुपमा कोल्डस्टोरलाई चुस्त राख्न लाखौं रुपैयाँसमेत नियमित खर्च भइरहेको कार्यालयको तथ्याङ्कमा छ । जिल्लाको पहिलो कोल्डस्टोरको अभ्यास भएकाले पनि धेरैले सञ्चालनको आँट गर्नसकेका छैनन् । जिल्लामा अझै पनि सागसब्जी तथा फलफूल बेमौसममा विक्री गर्न कृषकले सकेका छैनन् । स्कुस, काँक्रा, फर्सी, रायो सागजस्ता तत्काल बिक्री गर्न बजार पुर्याउनु पर्ने बाध्यता कहिले हट्ला भन्ने सबै कृषकको चासोको विषय बन्न पुगेको छ ।