काठमाडौं । ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाउन लगातार २७ घण्टा सामूहिक नृत्य गर्ने १३ नेपाली युवाहरुको टोलीले घोषणा गरेको छ । शुक्रबार मारुनी मिडिया नेटवर्कले पत्रकार सम्मेलन गरी आगामी फागुन २२ गते बिहान ९ बजेबाट नृत्य कार्यक्रमको आयोजना गर्ने जानकारी दिएको हो ।
किर्तीमान राख्नको लागि गिनिज बुकले अनुमतिसमेत दिइसकेको बताइएको छ । किर्तीमानी राख्नको लागि व्यवस्थापनको जिम्मेवारी लिएको गिनिज ईभेन्ट्स नेपालका अध्यक्ष सन्तोष लामाले कार्यक्रम सफलताको शुभकामना दिनुभएको छ ।
चर्चित लोकदोहोरी गायिका राधिका हमालले पनि विश्व किर्तीमानी कायम गर्नको लागि सामूहिक नृत्यमा सहभागीलाई शुभकामना दिनुभयो । कार्यक्रममा मारुनी मिडिया नेटवर्कका पबन्धक डिल बहादुर मगर (डिकेश) ले ‘देशले हामीलाई के दियो ? भन्दापनि हामीले देशलाई के दियौं ?’ भन्ने मूल नाराका साथ आफूहरु विश्व किर्तीमानी राख्ने तयारीमा जुटेको स्पष्ट पार्नुभयो । उहाँकाअनुसार विश्व किर्तीमानी कार्यक्रममा नेपालको मौलिक गीत–संगित, भेषभुषामा नृत्य प्रस्तुत गरिनेछ ।
यसअघि सन् २०११ अक्टोबर ३१ मा अमेरिकाको एम.टि.भि.ओ. म्युजिक अवार्डको नाममा १३ जना युवायुवतीले लगातार २४ घण्टा १ मिनेट सामूहिक नृत्य गरेर विश्वकै सबैभन्दा लामो सामूहिक नृत्यको विश्व रेकर्ड राखेका थिए । अमेरिकाको नाममा रहेको यसअघिको रेकर्ड तोड्न र नयाँ रेकर्ड राख्ने प्रयासस्वरुप मारुनी मिडिया नेटवर्कमार्फत १३ जना नेपाली युवायुवतीद्वारा सामूहिक नृत्य गर्ने घोषणा गरिएको हो । सामूहिक नृत्यमा सामेल हुनेहरुमा डिल बहादुर मगर (डिकेश), केश बहादुर पुर्जा, शान्ता तिलिजा, सरला तिलिजा, शिक्षा गर्बुजा, अंशु गर्बुजा, चन्द्रमाया गुरुङ, जस्टिना श्रीस, सुस्मिता गुरुङ, शान्ति शाही, यमुना रोका, सञ्जु पुन र राजिन पुन रहेका छन् ।