राजन पौडेल
पर्वत । जब–हिउँद महिना शुरु हुन्छ, तब विभिन्न ठाउँहरुमा मेला महोत्सवको आयोजना गरिन्छ । ती मेला–महोत्सवमा विभिन्न कार्यक्रमहरु आयोजना गरिएको हुन्छन् । बच्चादेखि पाका उमेर समूहका मान्छेहरु मनोरञ्जनका लागि त्यहाँ पुग्छन् । महोत्सवमा राखिएका ‘रमाइलो मेला’मा रहने थरिथरिका पिङहरु खेलेर मनोरञ्जन प्राप्त लिन्छन् । तर पर्वतमा चलिरहेको 'छैटौँ पर्वत महोत्सव'मा भने केही फरक देखिएको छ ।
पर्वत उद्योग वाण्ज्यि संघले आयोजना गरेको महोत्सवमा भने 'रमाइलो मेला'ले राखेको पिङ र अन्य रमाइला खेलहरुमा भन्दा दर्शकको रोजाइमा पर्वतको नामाङ्कन गरिएको ‘आई लव पर्वत’ परेको छ ।
यो नामाङ्कनसहित बनाइएको काठको ‘आई लव पर्वत’ ले साना बालबालिकादेखि युवा-युवतीहरूकाे मन तानेकाे छ ।
अझ जोडि–जोडिसमूह भएर ‘आई लव पर्वत’ लेखिएको काठको चित्रलाई बीचमा पारेर फोटो खिच्नेहरुको भीड नै लाग्ने गरेको छ ।
महोत्सवस्थलको बिच भागमा राखिएको चित्रबाट पछिल्लो सेतै टल्कक टल्किएको हिमालले अझै मनलाई 'प्रफुल्लित' बनाएकाे छ । महोत्सवमा पुगेका दर्शकमध्ये अधिकाशंले चित्रमा नजिकै आफूलाई पारेर पछिल्लो चाँदीजस्तै देखिने दृश्य कैद गर्न पाउदा निकै उत्साहित भएको बताउने गरेका छन् ।
चित्रले आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउन र पर्वतको गरिमा बढाउन महत्पूर्ण भूमिका निर्वाह गरेको कुश्मा बजारका लक्ष्मण सापकोटाले बताउँछन् । उनी भन्छन्–‘देख्दा केही जस्तो नभए पनि राखिएको स्थलबाट देखिने हिमालको पृष्ठभूमिले पर्वतको पहिचानमा थप टेवा पुगेको छ ।’
उनी जस्तै पर्वतका विभिन्न ठाउँबाट महोत्सव हेर्न आएका दर्शकहरुले ‘आई लव पर्वत’ लेखिएको चित्रको प्रशंसा गरेका छन् । सरकारले पर्यटन वर्ष मनाइरहेका बेला त्यसमा पनि सहयोग पुग्ने देखिएको छ । एसियाकै अग्लो र लामा पुलहरुको नजिकै महोत्सवस्थल भएका कारण पनि बाहिरबाट आउने पर्यटकहरुको संख्यामा बृद्धि भएको छ ।
पछिल्लो केही वर्ष यता अग्लो र लामा पुलहरु होस् वा एसियाकै नमुना बन्जी जम्पले पर्वतको गरिमा उच्च हुँदै गएको अवस्थामा पर्वतको नाम सहितको चित्राङ्कित 'पानको पात'को चित्रले अझै पर्वतलाई चिनाउन थप सहयोग पुगेका पर्वत उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा महोत्सवका प्रचारप्रसार समितिका संयोजक ठाकुर बि पौडेलले बताए ।