बांके । नेपालगन्ज उद्योग वाणिज्य संघमा अब्दुल वाहिद मन्सुरी चुन्ना अध्यक्ष पदमा विजयी बनेका छन् । ३ वर्षे कार्यकालका लागि शनिबार सम्पन्न निर्वाचनमा प्रतिष्पर्धी ललित कुमार रौनीयारलाई पराजित गर्दै चुन्ना विजयी बनेका हुन् । चुन्ना १५१० मत ल्याई विजयी बन्दा उनीसँग पराजित भएका रौनीयारले १२३४ मत प्राप्त गरे ।
त्यस्तै उपाध्यक्ष पदमा उद्योगतर्फ आदेश कुमार अग्रवाल र वाणिज्यतर्फ अमित बस्नेत निर्वाचित भएका छन् । समावेशी र साझा प्रजातान्त्रीक प्यानल गरी दुई समूह उद्योग वाणिज्य संघको निर्वाचनमा होमिएका थिए । समावेशी प्यानललाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र संघिय समाजवादी फोरम लगायतका राजनीतीक पार्टीको समर्थन रहेको थियो भने साझा प्रजातान्त्रीक प्यानललाई नेपाली कांग्रेस र राप्रपाले समर्थन गरेका थिए ।
अध्यक्षमा निवार्चित चुन्ना नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले समर्थन गरेको समावेशी प्यानलका उम्मेदवार हुन भने साझा प्यानलका रौनीयारलाई कांग्रेस र राप्रपा निकटका व्यवसायीले साथ दिएका थिए । उपाध्यक्षमा निर्वाचित अग्रवाल समावेशी तथा बस्नेत साझा प्यानलका उम्मेदवार हुन् ।
संघको निर्वाचन परिणाम अनुसार १२ जना सदस्यका लागि भएको निर्वाचनमा समावेशी प्यानलबाट हरिलाल न्यौपाने, चिरञ्जीवी ओली, श्यामसुन्दर अधिकारी, टंक बहादुर धामी, विजय भण्डारी बासु, मन्दिरा पाण्डे, धर्मराज अर्याल र भिम बहादुर रानाभाट विजयी बनेका छन् ।
त्यस्तै साझा प्रजातान्त्रिक समुहबाट सदस्यमा विजयी हुनेहरुमा टंक प्रसाद शर्मा, विन्दु चर्ती मगर, बिष्णु प्रसाद श्रेष्ठ र टेक बहादुर खड्का रहेका छन् । एसोसियट तर्फ साझा प्यानलका सञ्जय अग्रवाल र समावेशीबाट दिपेन्द्र विष्ट निर्वाचित भए भने वस्तुगत तर्फ साझाका सलाउद्दीन जसगढ निर्वाचित भएका छन् ।
वस्तुगत सदस्य तर्फको एक सदस्य पदमा मत बराबर भएको निर्वाचन समितीले जनाएको छ । १९ सदस्यीय कार्यसमितिमा नेकपा निकटका व्यवसायीहरुको बहुमत देखिएको छ ।