हरि अधिकारीकपिलवस्तु । यहाँको एक सुकुम्बासी बस्ती अखाद्य मह कारोबारी गर्ने दुईजना पक्राउ परेका छन् । वाणगंगा नगरपालिका वडा नम्बर ८ पुलचोकस्थित सुकुम्बासी बस्तीमा अखाद्य महको कारोबार गर्दै आएकाहरु पक्राउ परेका हुन् ।
आइतबार सुराकीले दिएको सूचनाको आधारमा प्रहरीले बस्तीमा छापा मार्दा तीन घरबाट अखाद्य मह बनाई बिक्री गर्ने गरिएको पाइएको हो । प्रहरीले विगत ६ महिनादेखि भाडामा बसेर केही व्यक्तिहरुले अवैध मह कारोबार गर्दै आएको पाइएको बताएको छ ।जिल्लाको गोरुसिंगेमा महको अवैध कारोबार भइरहेको शैका लागेर स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्तिहरूबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरी अनुसन्धानको क्रममा उनीहरुले सुकुम्बासी बस्तिमा अवैध मह व्यापारको अखडा नै बनाएर अखाद्य मह बनाउने गरेको रहस्य खुलेको हो ।
प्रहरी टोलीले चार बोरा चिनी, चार क्वीन्टल मह, मौरीका सडेगलेका दुई बोरा चाका, दश किलो फिड्किरी र खिया लागेका एक सय बढी टिनको बट्टा लगायतका सामग्री बरामद गरेको नेपाल मौरीपालक महासंघ प्रदेश ५ का सचिव लिलापति घिमिरेले बताए ।
यहाँ अवैध रुपमा अखाद्य महको कारोबार गर्नेको संख्या धेरै रहेको र भारतीय नागरिकको संलग्नतामा यस्तो कारोबार हुने गरेको अनुसन्धानमा खुलेको छ । बस्ती अनुगमनका क्रममा एक जना थप कारोबारी पक्राउ परेका हुन् ।
स्थानीयका अनुसार वाणगंगाबाट स्याङ्जा, नवलपरासी, रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची, कास्की, दाङ, प्यूठान, रोल्पा लगायतका जिल्लामा अवैध महको कारोबार हुने गरेको छ ।