नेपालगञ्ज । नेपालगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा अब्दुल वाहिद मन्सुरी चुन्ना निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न निर्वाचनको आइतबार भएको मत गणनामा चुन्ना अध्यक्षमा विजयी हुनुभएको हो ।
अध्यक्ष चुन्नाले १५१० मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिस्पर्धी ललित कुमार रौनीयारले १२३४ मत प्राप्त गर्नुभएको थियो । उपाध्यक्ष पदमा उद्योग तर्फबाट आदेश कुमार अग्रवाल निर्वाचित हुनुभएको छ भने वाणिज्य तर्फबाट अमित बस्नेत निर्वाचित हुनुभएको छ ।
सामावेशी र साझा प्रजातान्त्रीक प्यानल बनाएर निर्वाचनमा भिडेका नेपालगञ्जका ब्यवसायीमा समावेशी प्यानललाई नेपाल कम्युनिष्ट पार्टी नेकपा, संघिय समाजवादी फोरम लगायतका राजनितीक पार्टीको समर्थन रहेको थियो भने साझा प्रजातान्त्रीक प्यानललाई नेपाली कांग्रेस र राप्रपाको समर्थन रहेको थियो । अध्यक्ष चुन्नाले समावेशी र प्रतिद्धन्दी रौनीयारले साझा प्यानलबाट निर्वाचनमा सहभागिता जनाउनुभएको थियो ।
उपाध्यक्षमा अग्रवाल समावेशी र बस्नेत साझा प्यानलबाट उम्मेदवार बन्नुभएको थियो । संघको निर्वाचन परिणाम अनुसार १२ जना सदस्यका लागि भएको निर्वाचनमा समावेशी प्यानलबाट हरिलाल न्यौपाने, चिरञ्जीवी ओली, श्यामसुन्दर अधिकारी, विजय भण्डारी बासु, मन्दिरा पाण्डे, धर्मराज अर्याल, टंक बहादुर धामी र भिम बहादुर रानाभाट तथा साझा प्रजातान्त्रिक समुहबाट टंक प्रसाद शर्मा, बिन्दु चर्ती मगर, बिष्णु प्रसाद श्रेष्ठ र टेक बहादुर खड्का विजयी हुनुभएको छ ।
एसोसियटतर्फ साझाबाट संजय अग्रवाल र समावेशीबाट दिपेन्द्र बिष्ट निर्वाचित भए भने बस्तुगत तर्फ साझाबाट सलाउद्दीन जसगढ निर्वाचित हुनुभयो। अर्को वस्तुगत सदस्यको मत बराबर भएको निर्वाचन समितीले जनाएको छ । १९ सदस्यीय कार्यसमितिमा चुन्ना बहुमतसहित विजयी हुनुभएको हो।