रविन्द्र सिंह ठकुरीसल्यान । यहाँको एक प्राथमिक विद्यालयका विद्यार्थीहरु लामो समयदेखि खुला चउरमा बसेर अध्ययन गरिरहेका छन् । कालिमाटि गाँउपालिका वडानम्बर ७ -याङस्थित शारदा प्राथमिक विद्यालयका विद्यार्थीले यसरी भौतिक पुर्वाधारको अभावमा अध्ययन गरिरहनु परेको हो ।
भौतिक पुर्वाधार नभएका कारण बालबालिकाहरुको पठनपाठनमा समस्या आएकोतर्फ सरोकारवाला निकायले ध्यान नदिँदा विद्यार्थीले अफ्ठयारो महशुस गरिरहेका छन् । विद्यालयमा शौचालय, खाने पानी तथा पर्याप्त फर्निचरको व्यवस्था छैन् ।
विद्यालयमा खानेपानीको व्यवस्था नभएकाले आफूहरु नजिकैको खोलामा पानी खानजाने गरेको विद्यार्थी बताउँछन् । पाँच कक्षामा अध्ययनरत रमेश परियार भन्छन्, ‘शिक्षकहरु छन् तर पढाइ पनि राम्ररी भएको छैन् ।’
८५ जना विद्यार्थी रहेको विद्यालयमा दुई स्थायी दरबन्दी, एक करार, एक बालबिकास र एक जना परिचर रहेका छन । विद्यालयमा विभिन्न समस्या रहेको शिक्षिका तृज्ञा थापाले बताइन् । । नजिकै खोला, फिल्ड भरी ढुंगा, कक्षाकोठामा विद्यार्थीका लागि बस्ने डेस्क बेन्चको राम्रो व्यवस्थ र चउरमा तारबार नहुँदा बालबालिकालाई समस्या हुने गरेको उनको भनाइ छ ।
शौचालय निर्माणका लागि वडा कार्यालयबाट एक लाख रकम विनियोजन गरिएको कालिमाटी गाँउपालिका वडा नम्बर ७ का अध्यक्ष नैनसिंह रानाले बताए । वडा कार्यालयदेखि करिब ५ सय मिटरको दुरीमा रहेको विद्यालयको त अवस्था यस्तो छ भने झन दुर्गम र दुर दराजका विद्यालयहरुको अवस्था कस्तो होला भन्ने कुराको सहजै अनुमान गर्न सकिन्छ ।