मोरङ । प्रदेश स्तरीय चित्रकला प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, चित्रकला विभाग र ललितकला संगम विराटनगरको सहकार्यमा बिहीबार विराटनगर सेन्ट्रल महलमा प्रदर्शनी सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, चित्रकला विभाग प्रमुख प्राज्ञ सुषमा राजभण्डारीले प्रदेश १ मा विभागले ललितकला संगम विराटनगरसँग गरेको यो कार्यक्रम पहिलो रहेको बताउनुभयाे । उहाँले विराटनगरमा एउटा कला म्यूजियम निर्माण गर्नसमेत पहल गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रदेश सरकारकी सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरले समाज विकासमा कलाको अहम भूमिका हुने बताउनुभयो । उहाँले भ्रमण वर्षलाई सार्थक बनाउन चित्रकलालाई उपयोग गर्ने र यसका लागि मन्त्रालयको तर्फबाट आफूले पहल गर्ने बताउनुभयाे ।
४० जना भन्दाबढी कलाकारद्वारा निर्माण गरिएका चित्रकलाको अवलोकनबाट प्रदर्शनी उद्घाटन भएकाे थियो ।
ललितकला संगम विराटनगरका अध्यक्ष गोपाल कलाप्रेमीले कलामध्येको एक महत्त्वपूर्ण विधा चित्रकला भएको बताउनुहुँदै देश विकासका विभिन्न आयामलाई चित्रमार्फत पनि देखाउन सकिने उल्लेख गर्नुभयाे । 'हामीले भिजिट नेपाल २०२० मा पर्यटकलाई घुमाएर मात्रै नभई हातले कोरेर बनाएका चित्रले देश चिनाउन सकिन्छ भन्ने सन्देश दिन चाहेका छौं ', उहाँले बताउनुभयाे ।
चित्रकलाले अनेकौँ संकेत र रूप समेत देखाउने चित्रकला विभाग प्रमुख प्राज्ञ सुष्मा राजभण्डारीले भनाइ छ । ‘‘चित्रमा मुहुर्त र अमुर्त दुवै कला छन् । देशभित्रका हरेक विषयवस्तुलाई कलाकारले चित्रमा उतार्न सक्छन् ’’, उहाँले भन्नुभयाे ।
शुक्रबार विराटनगरस्थित आरोहण गुरुकुलमा कला कार्यशालाको समेत आयोजना गरिएकाे थियाे ।
चित्रकला प्रदर्शनी कार्यक्रम राज्य मन्त्री गजमेर, प्राज्ञ राजभण्डारी, प्राज्ञ सभासदस्यहरू सञ्जय वान्तवा, गंगा सुवेदी, सरोजा खड्गी, एस.सी. सुमन, पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति विजु थपलिया, सामाजिक विकास मन्त्रालयका कानूनविद् कोष राज न्यौपाने, पत्रकार महासंघ जिल्ला अध्यक्ष विक्रम लुइँटेललगायतको उपस्थिति थियो ।