बागलुङ । ऊर्जा मन्त्री वर्षमान पुनले बागलुङको ढोरपाटनमा बन्न लागेको ८ सय मेगावाट क्षमताको उत्तर गंगा जलाशययुक्त परियोजना बागलुङमै बन्ने बताउनुभएको छ । सोमबार मन्त्री पुनले उत्तरगंगा जलायशययुक्त परियोजनाको निरीक्षण गर्ने क्रममा यस्तो बताउनुभएको हो ।
निरीक्षण गर्दै मन्त्री पुनले उत्तरगंगा जलाशययुक्त हाइड्रो पावर राष्ट्रिय गौरवको आयोजना भएकाले सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ ।
यो राष्ट्रिय गौरवको आयोजना हो मन्त्री पुनले भन्नुभयो, ‘बागलुङमा यो आयोजना निर्माण गरी सम्पन्न गर्दा राज्यको खर्च कम हुने र चाँडै सम्पन्न भई राज्यलाई फाइदा पुग्ने भएकाले परियोजना बागलुङमै निर्माण हुन्छ ।’ सरकारले ल्याएको सुखी नेपाली समृद्धि नेपाल निर्माणका लागि यो आयोजनाले टेवा पुग्ने बताउँदै कामका लागि कुनैपनि अवरोध नभएको विश्वास व्यक्त गर्नुभयाे ।
आर्थिक हिसाबले पनि कम लगानीमा यो आयोजना सम्पन्न हुने प्रतिवेदनले देखाएकाले अबको केही समयमै निर्माण तीव्र गतिमा हुने पुनको भनाइ छ । ‘यो राष्ट्रकै गहना भएकाले सबैको चाँसो हुन स्वाभाविक हो’, मन्त्री पुनले भन्नुभयो, ‘निर्माण सम्पन्न भएपछि स्थानीयको जीवनस्तर परिवर्तन हुन्छ ।’
निरीक्षणका क्रममा सांसद देवेन्द्र पौडेल, पूर्व सभामुख ओनसरी घर्ती, कमला रोका, विद्युत प्राधिकरणका उपमहानिर्देशक माधवप्रसाद कोइराला ढोरपाटन पुगेका थिए । आयोजना निर्माण हुन केही समय पहिले स्थानीयले सामान्य विवाद जनाएपनि अहिले विवाद नभएको जनप्रतिनिधि कम्बीर विश्वकर्माले बताउनुभयो ।
केही समयदेखि यो आयोजना रुकुममा बन्ने कि बागलुङमा भन्ने विषयमा विवाद सिर्जना भइरहेको छ ।