कपिलवस्तु । प्रदेश नम्बर ५ का उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री लीला गिरीले यहाँकाे धार्मिक तथा ऐतिहासिक ठाउँ शिवगढीलाई पर्यटकीय गन्तव्य बनाउन सकिने बताउनु भएको छ । बिहीबार शिवगढीको अवलोकनका क्रममा मन्त्री गिरीले शिवगढीको संरक्षणले स्थानीयको जिवनस्तर उकास्न सकिने बताउनुभएकाे हाे ।
ऐतिहासिक, धार्मीक तथा पर्यटकीय क्षेत्र शिवगढीको अवलोकन गर्नुहुँदै मन्त्री गिरीले शिवगढीको भुगोल हेर्दा पर्यटकीय गन्तव्य बन्न सक्ने देखिएको उल्लेख गर्नुभयाे । शिवराज नगरपालिका - १ धानखोलाबाट २ घण्टा पैदल यात्रा गरि शिवगढी पुग्नुभएका मन्त्रीले त्यसबाट देखिने दाङ, अर्घाखाँची, तराईका फाँट तथा मनोरम दृश्यको अवलोकन गर्नुभयाे ।
अंग्रेजसँगको लडाइँमा निर्माण गरिएको किल्ला ऐतिहासिक रहेकोले संरक्षण गर्नुपर्नेमा उहाँकाे जोड छ । यो हाम्रो सुरक्षार्थ गढी हो, 'यसलाई संरक्षण गर्नुपर्छ, मुख्य भुमिका स्थानियहरुको हुन्छ, प्रदेशले के गर्नुपर्छ हामी गछौँ ', उहाँले भन्नुभयो । गत वर्ष पनि यस मन्दिरको संरक्षणको लागी बजेट विनियोजन गरिएकाे थियाे ।
शिवगढीबाट प्युठानको स्वर्गद्धारी, अर्घाखाँचीको सुपादेउराली, गुल्मीको रिडिसम्म पुग्ने पथ निर्माण गरी पर्यटकिय क्षेत्रको करिडोर बनाउने प्रदेश सरकारको योजना रहेको मन्त्रीकाे भनाइ छ । 'शिवगढी क्षेत्रमा निजि क्षेत्रको लगानीमा केबुलकारको तयारी रहेकोले अब यस क्षेत्रकाे विकासले फड्को मार्नेछ', उहाँले भन्नुभयाे । प्रदेश सरकारले गुरु योजना निर्माण गर्दैछ, यसपछी प्रदेश नम्बर ५ पर्यटकीय क्षेत्रको हब बन्छ, उहाँले भन्नुभयो, 'शिवगढीमा विकासको सम्भावना छ यसलाइ प्रदेशले विशेष प्राथमिकता दिन्छ ।'
उद्योग पर्यटन समितिका सभापती दधिराम न्यौपानेले कपिलवस्तु जिल्लामा एतिहासिक स्थल धेरै रहेकोले यि क्षेत्रको विकासमा स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । शिवगढी अनुगमनले केहि नयाँ योजना बन्ने भन्दै यसपछी प्रदेशको विशेष योजना बन्ने उहाँले उल्लेख गर्नुभयाे ।
प्रदेश सांसद तथा सामाजिक विकास समितिका सभापती दिर्घनारायण पाण्डेले शिवगढीको विकासको लागि आउने दिनमा विशेष योजनाका साथ काम गर्ने बताउनु भयो । पाण्डेले शिवगढीको बारेमा अध्ययन गरेपछी यहाँकाे विकासका लागि पहल गरिने बताउनुभयाे । प्रदेश सांसद अर्जुन केसीले शिवराज नगरपालिकाका नागरिकको जिवनलाई शिवगढीले समृद्ध बनाउने धारण राख्नुभयो ।
अवलोकन कार्यक्रममा शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले नगरबाट सडक मर्मत तथा भौतिक संरचना निर्माणका लागि बजेट विनियोजन गरिएको बताउनु भयो । नगर प्रमुख अधिकारीले गतवर्ष नगरको तर्फबाट रमवादह र धानखोलामा विकास निर्माणको काम भएको बताउनुभयो ।
कार्यक्रममा शिवराज नगरपालिका वडानम्बर १ का अध्यक्ष जगत बहादुर जिसी, ३ का अध्यक्ष टेकलाल सापकोटा र व्यापार संघ कपिलवस्तुका अध्यक्ष श्री महादेव पोखरेल , उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ईश्वरी प्रसाद पान्डे, उपाध्यक्ष लक्ष्मण भन्डारी, व्यापार संघ कपिलवस्तुका महासचिव जगत प्रसाद पौडेल, चन्द्रौटा उद्योग वाणिज्य संघ कपिलवस्तुका महासचिव दमन प्रसाद भाट, पत्रकार, व्यापारी र राजनीतिकर्मी लगायतको सहभागिता रहेकाे थियाे ।