शिब बाेहराबागलुङ । मुक्तिनाथ जाने तीर्थालुलाई जिल्लामा एक दिन राख्ने अभियान अनुसार यहाँकाे पञ्चकोटमा संसारकै अग्लो कलश निर्माण गरिने भएकाे छ । आन्तरिक र बाह्य पर्यटक आउने क्रम सुरु भएसँगै यस्ताे अभियान शुरू भएकाे हाे ।
हिन्दु र बौद्ध धर्मावलम्बीका लागि पञ्चकोटलाई दर्शनको गन्तव्य बनाउने तयारी छ । दुई वर्षअघि बागलुङ नगरपालिका भित्रका ताराजालकोट, राङराङकोट, माझकोट, कारिकोट र संसारकोटमा पूर्वाधार निर्माणसँगै पञ्चकोटको बृहत्तर विकासका लागि गुरुयोजना बनाइएको थियाे ।
यहाँका होटल व्यवसायीका अनुसार मुक्तिनाथ जाने पर्यटक बागलुङमा एक दिन बसेर कालिका र पञ्चकोट घुमेर जाने क्रम सुरु भइसकेकाे छ । पूर्वाधार निर्माणकै क्रममा रहेपनि वार्षिक एक लाखकाे हाराहारीमा पर्यटक आइरहेका छन् । पर्यटक बढेकै कारण जिल्लामा होटल निर्माणमा समेत लगानी बढेको छ । मुक्तिनाथ पिठाधीश्वर कमलनयनाचार्यको अगुवाइमा याे अभियान सुरु भएको हो ।
बागलुङ, पर्वत, म्याग्दी, पोखरा, काठमाडाैं, अर्घाखाँची लगायतका ठाउँबाट पञ्चकोट घुम्न जाने पर्यटक यहाँको मनोरम दृष्यबाट लोभिएको बताउँछन् । त्यसैगरि पछिल्लो समय बागलुङमा विद्यालय तथा कलेजका विद्यार्थी र विभिन्न संघसस्थाबाट समुह बनाएर पञ्चकोट आउने गरेकाे पाइएकाे छ ।
१ हजार ५ सय मिटर उचाइँको भू-भागमा निर्माण गर्न प्रस्तावित १ सय ८ फिट अग्लो कलश धौलागिरिका अधिकांश स्थानबाट देख्न सकिन्छ । यहाँ कलशसँगै ५ हजार ५ सय ५५ केजीको घण्टासमेत स्थापना गर्ने तयारी छ ।
पश्चिममा रहेका पाँच कोट (महालक्ष्मी, सम्यलक्ष्मी, भोगलक्ष्मी, ज्ञानलक्ष्मी र मोक्षलक्ष्मी ) को संरक्षण गरी पर्यटक नियमित व्यवस्था मिलाउने र केबुलकार निर्माण गरी पाँचवटै स्थानमा पुग्नसक्ने योजना बनाइने समेत बताइएकाे छ । धार्मिक आस्था हराएको र पुरातात्विक स्थानहरू लोप हुँदै गएकाे अवस्थामा अभियानले संरक्षण आन्दोलन शुरू गरेकाे स्थानीयकाे भनाइ छ ।