भगीरथ भण्डारी इलाम । प्रदेश नम्बर १ का १४ जिल्लाका दलित जनप्रतिनिधिको सहभागिता रहेको इलाम भेलामा सबैले ऐन कानूनको कार्यान्वयन गर्न जरुरी रहेको बताएका छन् ।
कानुनले मौलिक हकमा नै उल्लेख गरेको छ छुवाछुत गर्न पाइँदैन भनेर, त्यसैले त्यो नै परिवर्तनको पहिलो कदम भएको हुँदा कार्यान्वयनमा लाग्नुपर्ने सहभागी जनप्रतिनिधिहरुले बताएका हुन् । उनीहरुले अझै पनि महिला हिंसा र ग्रामीण भू–भागमा छुवाछुत जस्ता विभेद भइरहेका छन् । यस्ता कार्यलाई निर्मूल पार्न सबै लागि पर्नु पर्नेमा सहभागीहरुले जोड दिएका थिए ।
भेलाले साढे छ हजार दलित महिलाहरु राजनीतिक क्षेत्रमा पाइला राख्न सफल बन्नु भनेको ऐतिहासिक जीत हासिल गरेको भन्दै विजेता सबै महिलाहरुको राजनीतिक यात्रा थालनी भइसकेको छ, निरन्तर लागि परे सम्माननीय पदमा पुग्न अवश्य सकिने भएकाले सबै जनप्रतिनिधिलाई समाजका लागि खास काम गरेर देखाउनु पर्ने उल्लेख गरेका छन् । भेलाको उद्घाटन इलामको ठूलो टुँडिखेलबाट नौमती बाजासहितको र्याली निकालेर बजारको परिक्रमा गरी इलामको गौतम बुद्ध सभागृहमा कोणसभामा परिणत भएको थियो । कार्यक्रमको उद्घाटन प्रदेश नम्बर २ का प्रदेश प्रमुख तिलक परियारले गरेका थिए ।
यस्तै, दुई दिन चलेको कार्यक्रमको पहिलो दिन शुक्रबार नेपालमा जातपात र छुवाछूतको ऐतिहासिक पक्षका बारेमा पूर्व सभासद पद्यलाल विश्वकर्माले जानकारी गराएका थिए भने योजना तर्जुमाको सवाल र दलित समुदायको भूमिका बारेमा उदयपुर जिल्लाका जिल्ला समन्वय समिति प्रमुख खड्गबहादुर दर्नालले चर्चा गरेका छन् । यसैगरी सांस्कृतिक कार्यक्रम तथा साहित्यिक वाचनका कार्यक्रम समेत भएकोे कार्यक्रमका मूल समारोह समितिका संयोजक नवराज शंकरले जानकारी दिए ।
दोस्रो दिन शनिबार एक नम्बर प्रदेशको दलित जनप्रतिनिधहरुले अनुभव आदानप्रदान, प्रदेश नम्बर १ का १४ जिल्लाको स्थानीय तहको कामकारबाहीका बारेमा समीक्षा गर्ने कार्यक्रम थियो भने संविधान, कानून र नीति निर्माणमा दलितका सवालका बारेमा प्रतिनिधि सभा सांसद मिन विश्वकर्माले चर्चा गर्ने कार्यक्रम रहेको थियो ।
‘नेपालको दलित आन्दोलन : विगत, वर्तमान र भविष्य’ का बारेमा दलित अधिकारकर्मी गणेश विश्वकर्माले जानकारी गराएका थिए भने ‘दलित महिला : अवसर, सम्भावना र चुनौती’ बारेमा सीता सुन्दास र लक्ष्मी परियारबीच छलफल रहेको थियो । यसैगरी दोस्रो दिन दलित समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको सवालका बारेमा पनि जेवी विश्वकर्माले चर्चा गर्ने कार्यक्रम सम्पन्न भएको छ ।
यसैगरी दलित समुदायको समस्या र राज्यका बारेमा रामबहादुर राना र विनोद पहाडीबीच भएको छलफलको सहजिकरण नैन विश्वकर्माले गरेका छन् । सोही दिन दलित समुदायको पेशा संरक्षण र आधुनिकीकरणका बारेमा विमल धमला र हरि पोख्रेलबीच छलफलको सहजीकरण देवेन्द्र शंकरले गरेका थिए ।
दुई दिनसम्म सञ्चालन भएको भेला उद्घाटन समारोहका क्रममा सामाजिक, राजनीतिक र दलित आन्दोलनका दुई अगुवालाई अभिनन्दन समेत गरिएको छ । अभिनन्दनमा प्रदेश नम्बर दुईका प्रदेश प्रमुख तिलक परियार र प्रदेश नम्बर १ का प्रदेश सरकारको सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरलाई मायाको चिनो दिएर अभिनन्दन गरिएको थियो।