फाइल तस्बिरबाँके । प्रहरीले ठूलो परिमाणको प्रतिबन्धित लागू औषध बरामद गरेको छ । ब्राउन सुगर र प्रतिबन्धित इन्जेक्सनसहित ३ जना लागूऔषध कारोबारीलाई प्रहरीले पक्राउ गरेको हो । सीमावर्ती भारतीय शहर रुपैडिहाबाट नेपालगञ्ज आउँदै गरेका भारतीय नागरिकबाट २ सय ग्राम र नेपाली नागरिकबाट १८ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख बीरबहादुर ओलीका अनुसार ईलाका प्रहरी कार्यालय जमुनाह र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको संयुक्त टोलीले भे ९ प ६५२९ नम्बरको स्कुटीको टायरको कभरमा लुकाएर १८ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर लिएर नेपाल आउँदै गरेको अवस्थामा कैलाली टिकापुर नगरपालिका वडा नम्बर १ का विष्णु पुरी र शिवराज पुरी लाई पक्राउ गरेको हो । त्यसैगरी नेपालगन्ज २ घरबारीटोलका २२ वर्षीय नगेन्द्र रानालाई डाईजेपाम ९५, लोरी १ सय र ईमिमिग्रेन १ सय पिस ईन्जेक्सन सेरेलेक्स र सोनपापडी मिठाईको बट्टामा प्याकिङ्ग गरी ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिईएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयले चालु आर्थिक वर्षको माघ महिनासम्म १५९ लागु औषध कारोबारीलाई नियन्त्रणमा लिएको जनाएको छ । आइतबार पत्रकार सम्मेलनमार्फत प्रहरीले १ सय ८ मुद्धामा ६ भारतीय नागरिकसहित १ सय ५९ जनालाई पक्राउ गरिएको जनाएको छ । जसमध्ये ५ महिला र १ सय ४८ नेपाली नागरिक छन् ।
हालसम्म ६०८ ग्राम ७४५ मिलिग्राम ब्राउन सुगर, ९९० ग्राम चरेश, ४ किलो अफिम, ४ किलो ७७५ ग्राम गाँजा, ३ सय एम.एल. कोरेक्स, २ हजार ६ सय १२ ट्याब्लेट नाईट्राजेपाम, २ सय १० पिस ट्रामाटस र २ सय ९५ पिस एम्पुल सहित १ सय ५९ जनालाई नियन्त्रणमा लिईएको बाँके प्रहरी प्रमुख बहादुर ओलीले बताउनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय र नेपालगञ्ज उपमहानगरपालिकाको सहकार्यमा लागू औषधको प्रयोग, रोकथाम र नियन्त्रणका लागि सञ्चालित कानूनी तथा मनोसामाजिक निशुल्क परामर्श केन्द्र संचालनमा आएसँगै लागुऔषध प्रयोग तथा ओसारपसार गर्ने ब्यक्तिहरु धमाधम पक्राउ पर्न थालेका हुन् ।