काठमाडौं । भोजपुर, अरुण गाउँपालिका वडा नम्बर ५ की प्रतिमा पोखरेल । पेशाले शिक्षिका । परिवारका ६ सन्तानमा एक छोरी प्रतिमा सानैदेखि साहित्यमा पनि रुची राख्नुहुन्थ्यो । कविता र गीत लेखनसँगै मेहनत र संघर्षमा बाँच्नु पर्ने औसत नेपालीको नियतीबाट फरक रहेन जिन्दगी । तर जीवनमा जस्तै सुनामी आए पनि यात्रा चलिरह्यो ।
एक मनले भन्थ्यो, समुदायमा सेवा गर्नुपर्छ । तर आर्थिक अवस्था जर्जर । ऋतु बदलिए । समयक्रमले काँचुली पनि फेर्यो । शिक्षण पेशामा जोडिएपछि प्रतिमा फेरि साहित्यमा सक्रिय हुनुभयो । परिवारमा अभिभावक गुमाइसकेको अवस्थामा कार्यरत विद्यालयकै मलिन चेहरामा शिक्षिकाको मायामोह पोखियो । पञ्चकन्या आधारभूत विद्यालयको वार्षिकोत्सव पारेर शिक्षिका पोखरेलले १४ छात्रछात्रा, महेन्द्रोदय माविका ७ छात्रछात्रालाई पोशाक र शैक्षिक सामग्री वितरण गर्नु भएको छ ।
यही क्रममा अरुणोदय माविमा २ छात्रछात्रालाई पोशाक, शैक्षिक सामग्री, सगरमाथा माविमा एकजनालाई वार्षिक छात्रवृत्ति, विश्वविद्योदय प्राविमा एकजनालाई छात्रवृत्ति विश्वप्रेमी माविमा एक छात्रालाई पोशाक उपलब्ध गराएर शिक्षकको कमाइ कम भए पनि मन ठूलो हुन्छ भन्ने प्रमाण दिनु भएको छ ।
यस्तै, शिक्षिका पोखरेलले अरुण गाउँपालिका वडा नम्बर-५ की अशक्त एकल महिला कुमारी ढकाललाई मासिक भत्ता दिन शुरु गर्नु भएको छ । ‘अभिभावकविहीन बालबालिकालाई सहयोग गरेको हुँ, त्यस्तो ठूलो काम त होइन,’ शिक्षिका पोखरेलले भन्नुभयो, ‘हरेक नागरिकले यस्तै सकेको सहयोग गर्दा पनि समाजलाई ठूलो प्रेरणा र शिक्षा हुनसक्छ ।’
‘जीवनमा उतारचढाप आइरहन्छन्, सास रहुन्जेल धैर्यता गुमाउन हुन्न,’ पोखरेलले भन्नुभयो, ‘यो सानो कामको पनि स्थानीय तहमा प्रशंसा भएको छ, अरु समाजसेवा गर्न उत्साहित बनाएको छ ।’