टिप्पणी
काठमाडौं । कञ्चनपुरको भिमदत्त नगरपालिका उल्टाखामकी निर्मला पन्तको हत्या प्रकरणले लामो समय मुलुक स्तब्ध बन्यो । कञ्चनपुरलगायत देशभर निर्मलाको न्यायको माग गर्दै आन्दोलन, धर्ना जुलुस गरियो । विविध महत्वकांक्षा बोकेका व्यक्तिहरुले आन्दोलनलाई सहयोग गरे । उग्र तुल्याए । कञ्चनपुरमा एक बालकको ज्यान समेत गयो, कैँयौ घाइते भए । निर्मला हत्या प्रकरणकै कारण बम दिदीबहिनीहरुलाई ज्यूँदी निर्मला बनाइयो । उनीहरुलाई सामाजिक, मानसिक रुपमा कमजोर तुल्याँइयो । ती विचारा अवोधहरुको आवाज कसैले सुनेनन् । राज्यशक्तिलाई समेत निर्मला हत्या प्रकरणमा दोषी देखाउँदै एकपक्षले आन्दोलनको नेतृत्व लिइरह्यो । निर्मलालाई न्याय दिलाउनुको साँटो घटनालाई उग्र बनाएर मुलुकलाई नै अनिर्णयको बन्दी बनाउन खोजियो । कसैका सिमित स्वार्थका पछाडि राष्टसेवक कर्मचारी समेत हतियार बने ।
मुलुकमा प्रत्येक दिन हत्याहिंसाका घटना भइरहेका छन् । कति चेलीहरु बलात्कारको सिकार बनेरहेकी छन् । ती घटना निर्मलाको न्यायका अगाडि निरिह सावित भए । घटनालाई अतिरञ्जित तुल्याएर, अनुसन्धानमा साथ दिनुको साँटो निर्मलालाई हतियार बनाएर दिवा स्वप्नमा डुबुल्की मार्नेहरु केही दिन अघिसम्म तन्द्रिए । अझैपनि निर्मलालाई न्याय दिने हो भने, यसबीचमा आएका धेरै तथ्यहरुले सावित गर्छ की निर्मलाको हत्यारा को हो ? निर्मलालाई हत्या गरेको स्वीकारिसकेका व्यक्तिलाई समेत विभिन्न प्रपञ्च रचेर समाजमा खुलेआम हिड्न सक्ने शक्ति प्रदान गर्नेहरुले सिंगै व्यवस्थालाई चुनौती दिइरहेको तथ्यले लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकको शोभालाई धमिल्याउने प्रयास ग¥यो । मुलुक स्वतन्त्र हुनुपर्छ, निष्पक्ष हुनुपर्छ र सबैका अधिकारलाई राज्यले संरक्षित गर्नुपर्दछ भन्ने मान्यता विपरित निहीत स्वार्थका लागि रोटी बेल्नेहरुले सरकारलाई मात्र चुनौती दिएनन्, सिंगो व्यवस्थालाई समेत हलचल गरायो ।
कञ्चनपुरमा भएको घटनाका पर्दा पछाडिका व्यक्तिहरु कुन ढंगले प्रस्तुत भए भन्ने कुरा कालान्तरले प्रष्ट पार्दै लैजानेछ तर, ती अवोध निर्मलाको आत्माले तिनीहरुलाई कहिल्यै माफी दिने छैन । राज्यले अनुसन्धानका लागि प्रहरी प्रशासनलाई निर्देशन दिने हो र प्रहरीले घटनाको सत्यतथ्य बाहिर ल्याउने हो । तर त्यसै घटनाको अनुसन्धानमा लागेका प्रहरीलाई समेत फेल गराएर बहादुरी सावित गर्नेहरुले केही दिन ती प्रहरीलाई रुवाए पनि समयको परीक्षाले ती प्रहरी पास भएको सर्टिफिकेट प्रदान गर्नेछ । ती अवोध निर्मलाको हत्याले मुलुक रोएको छ, परिवारले न्याय पाउनुपर्छ भन्नेमा सरकार प्रतिवद्ध छ । तर, त्यसै व्यवस्थाको विरुद्धमा लागेर एक्लो बृहस्पति बन्न खोज्नेहरुले समाजलाई कहिल्यै न्याय गर्न सक्दैनन् । यिनै कारणले लामो समयसम्मको विरासत छोड्नु पर्दाको छट्पटाहट जो कसैलाई हुनसक्छ । परीक्षा लेखेर र अन्तर्वार्ता दिएरै पास गर्ने परिपाटी मुलुकमा चलेकाले चिठ चोरेर प्रथम हुन खोज्दा भविष्य नै अन्धकार हुनुपर्ने यर्थाथहरु विगतमा नभएका होइनन् ।
कसैले हिड्दै गरेको कठिन बाटोमा लौरोको सहायताले उन्मुक्ति दिलाउनुको साँटो उल्टै अगाडि गएर काँडा बिछ्याउने, ढुंगा अड्याउने प्रवृतिका कारण मुलुकको सुशासनमा धक्का पु¥याएको छ । तत्कालीन एसपी विष्टले लेख्नुभएको छ– ‘हामीले हिँड्दै गरेको बाटो अत्यन्त कठिन थियो तर सही थियो । जहाँ भारी बिसाएका थियौं त्यहीबाट भारी उठाउने निष्कर्षमा पुग्नु नेपाल प्रहरीको सफलता नै मान्नुपर्छ । सतहमा समथर देखिन्थ्यो तर जमीन भित्र अनेकौं एम्बुसहरु थिए । ती अदृश्य एम्बुसहरुले प्रहरी अनुसन्धानलाई गलत बाटोमा निर्देशित गरेर अन्योल बनाए । तर आज नेपाल प्रहरीले ती एम्बुसहरु पत्ता लगाएर सही निष्कर्षमा पुगेको जस्तो लाग्छ । अझै अनुसन्धानका हरेक पाइलाहरुमा आ–आफ्ना स्वार्थहरुका त्यस्तै अनेकौं एम्बुसहरू छरपस्ट छन् । प्रहरीले सावधानीपूर्वक अगाडि बढ्नु जरुरी छ । गलत कुरालाई केही समय लुकाएर राख्न सकिन्छ, पछि सतहमा बाहिर आइहाल्छ । आखिर सत्यता सतहमा छताछुल्ल भएर आएको छ । नेपाल प्रहरी सफलताको अन्तिम बिन्दुमा पुगेको महसुश भएको छ । सबै कुराको न्याय र भौतिक क्षतिपूर्ति हुन सक्ला तर एउटा असल राष्ट्रसेवकलाई इमान्दारी र राष्ट्रभक्ति मेटाउने गरी गरिएको चरित्र हत्याको कहिले र कुनै कुराले पनि क्षतिपूर्ति हुने छैन ।