देशमा राष्ट्रप्रेम शब्दमा मात्र देखियो, व्यवहारमा देखाउने कोही भेटिएन । मानसपटलमा ताजै छ एउटै कार्य क्षेत्रमा सीमा क्षेत्रबाट २०० किलोमिटर भित्र दुई पटक अवैध रुपमा दुई÷तीन जिल्लाहरू पार गरी आधुनिक हतियारसहित विदेशी प्रहरीहरु मेरो कार्य क्षेत्रमा प्रवेश गर्दा समातेर सम्बन्धित निकायमा जिम्मा लगाउँदा पुरस्कृत हुनुको सट्टा अति दुर्गम स्थानमामा सरुवा गरिएको उहिले–उहिलेको कथा । तर पनि गुनासो छैन, सस्तो लोकप्रियता कहिले खोजिन र अपेक्षा पनि गरिनँ मैले ।
त्यस्तै बढुवाको संघारमा रहेको बेला कञ्चनपुरमा कार्यरत रहँदा जिल्लाको विकृतिको रुपमा रहेको मदिरा सेवन गरी होहल्ला गर्न प्रवृत्ति, गुण्डागर्दी, जुवातास, यौनधन्दा, लागुऔषध लगायतका कैँयौ कार्यहरू कार्ययोजना बनाई पूर्ण नियन्त्रणमा ल्याइएको अवस्थामा पनि मैले मेरो कामको विज्ञापन गरिन । तर समाजले सम्मान गरिरह्यो । केही व्यक्तिहरूको हैकम, उर्दी, हुकुम प्रमाङ्गी र समाजको शोषण अन्त्य हुने देखेर डाह, ईष्र्या, जलनको पोखरी भरिएर योजनाबद्ध प्रहार गर्दै गए । गलत कामको समर्थन कहिले पनि गरिन । गलत दबाब र प्रभाव कहिले पनि स्वीकार गरिन । मेरो कामले प्रहरी संगठन र सरकारको कामको मूल्याङ्कन हुन्छ भनेर एकोहोरो काममा लागिरहे । श्रावण २ गतेदेखि नगरपालिकाको करवृद्धि विरुद्व चर्किरहेको राजनैतिक आन्दोलन उग्र बन्दै गएको थियो । श्रावण १० गते निर्मला पन्तको घटना भएपछि आन्दोलन त्यसै घटनामा समाहित भएर अझै चर्कियो । धेरैले बदला लिन मौका पाए । अनुसन्धान र छानबिन समितिहरू तिनै बदला लिनेहरूको चक्रव्युहमा अल्झिए । अनुसन्धान गलत बाटोतिर डोर्याए र कुहिरोको काग बनाए ।
तत्कालीन अनुसन्धानमा खटिएको टीमसँग कुनै परामर्श गरिएन । उल्टै छानविनको नाममा अनेकौ यातना दिइयो । सस्तो लोकप्रियताको होडबाजी चल्यो । निर्मला घटना पश्चात लगातार करिब २० दिनसम्म दिउँसोको खाना खानेसम्म फुर्सद सम्म पाइनँ मैले । अनुसन्धान र छानबिन गर्नेहरूले त्यो समयमा मैले सामना गर्नु परेको कठिन परिस्थितिको अनुमान गर्न समेत सकेनन् । उर्दी र हुकुमको अवज्ञा गरेकोले बाटो कुरेर बदला लिन बसेका एक दुईवटा स्थानीय पत्रकारको फेसबुक निर्देशन अनुसार काम भयो । अघिल्लो दिन जे लेख्थे पछिल्लो दिन त्यही हुन्थ्यो । हुँदाहुँदा जिल्ला प्रहरी प्रमुखको सरुवा, निलम्बन, जागिरीबाट हटाउने र मुद्दा चलाउने निर्णयसँगै DNA परीक्षणसम्म गरियो । घटनाको खण्डन गर्नुको सट्टा गलत गरेको कुरा बोलिरह्यो प्रहरी संगठन ।
यसमा एउटा पत्रकारको फेसबुकमा दिएका निर्देशन र प्रहरीले अर्को दिन कार्यान्वयन गरेको कुरा अझै तुलना गरे हुन्छ । मैले आलोचना गर्न खोजेको होइन । आफ्नो स्वार्थका लागि अर्काको दुःखमा रमाउने र सस्तो लोकप्रियता तृष्णाले छटपटिएकाहरुको वास्तविकता प्रस्तुत गर्न खोजेको हुँ । काममा खटिएका प्रहरी कर्मचारीहरुबाट अन्जानमा भएका सानातिना त्रुटिहरूलई अपराधीकरण गर्न खोजियो । त्रुटि, लापरवाही र अपराध के हो भन्नेसम्म विश्लेषण गरिएन । डलरले कलरको बुट्टा भरे । राजनैतिक दाउपेचमा साँढेको जुधाइ बाच्छोको मिचाई भयो । सतहमा मात्र समथर देखेँ तर गहिराइमा एम्बुस थापेको चाल पाएन नेपाल प्रहरीले ।
यो पनि पढ्नुहोस् :https://45.77.241.73/2020/02/168136
जेहोस् ढिलै भएपनि नेपाल प्रहरी यथार्थको नजिक पुगेको देखिन्छ । हामी हिँडेको बाटो सही रहेछ र हामीले जहाँ भारी बिसाएका थियौं त्यहींबाट अगाडि बढनुपर्ने रहेछ भन्ने महसुश भएको छ । इमान्दारीका साथ अनुसन्धान काममा खटिएका प्रहरी कर्मचारीलाई बिना कारण कारबाही गर्दा र मुद्दा चलाउँदा ७७ जिल्लाका अनुसन्धान समूहमा कस्तो असर परेको छ त्यो महसुस गर्नु जरुरी छ । यसको असर र मनोबल प्रभाव लामो समयसम्म अदृश्य रूपमा पारिरहने छ । त्यसैले सरकारले गलत मनसाय र प्रवृत्तिका व्यक्तिहरुको गलत उक्साहटबाट भएका कमजोरीलाई सच्याएर जानु ढिलाइ गर्नुहुँदैन । इमान्दार प्रहरी कर्मचारीहरु र उनीहरूको परिवार आफन्तहरूलाई पर्न गएको गहिरो क्षतिको मूल्याङ्कन गरिनुपर्छ । निर्मला पन्तको आमाले एक वर्षसम्म गहिरो अध्ययन गरी यही भदौ महिनामा किटानी जाहेरी दिएको छिन् । ती असहाय महिलाले त्यो दौरानमा झेल्नुपरेका असंख्य पीडाहरू समय समयमा छचल्किएका छन् ।
यसमा निर्मलाले न्याय पाउनुपर्छ । अनुसन्धानलाई गलत बाटोमा लैजाने व्यक्तिहरूको पहिचान गरी कानूनी दायरामा ल्याउनु पर्छ । अन्यथा नेपालको इतिहासमा यो घटनाको अविस्मरणीय नजिर स्थापित हुने कुरालाई बिर्सनु हुँदैन ।
(जनता टेलिभिजनका जिल्ला संयोजक खेम बमले तत्कालीन एसपी दिल्लीराज विष्टसँग विभिन्न समयमा कुरा गरी तयार पारेको सामाग्री)