नारायण भण्डारी / शियान(चीन)
पहिला साँस्कृतिक क्रान्ति गरेका चीनका बासिन्दा अहिले भने आफ्नै संस्कृतिमा रमाउन थालेका छन् । नयाँ वर्षको स्वागतमा चिनियाँहरुले अहिले वसन्त उत्सव गरिरहेका छन् । वर्ष फेरिएसँगै चीनको साँस्कृतिक नगरी शियान वसन्त उत्सवको सजावटले झकिझकाउ भएको छ ।
नेपालमा ग्याल्पो ल्होसार मनाउने समयमै चीनमा नयाँ वर्ष शुरु हुन्छ । चीनमा पनि नयाँ ल्हो अनुसार कुकुर वर्ष आरम्भ हुँदैछ । यस अवसरमा घर,होटल बजार र शहरका गल्ली सजाइएको छ ।
आरुको फूलमुन्तिर वर्षको प्रतीक राखेर चिनिया जनताले धनधान्य र असर्फीसहित समृद्धिको कामना गरी नयाँ वर्षको स्वागत गरेका छन् । वसन्तका फूल,पानीको फोहरा, संगीतको धुनका साथ रङ्गीन बत्ती बालेर उनीहरुले वसन्त उत्सव मनाएका छन् ।
पृथ्वीको उत्तरी ध्रुवमा जाडो घटेर न्यानो बढ्न थालेपछि चिनियाहरु वसन्त आगमनको पर्व मनाउँछन् । अयन परिवर्तन भई सूर्य उत्तरायण भएपछि मनाइने नयाँ वर्ष विश्वभर नै उत्साहका साथ मनाउने चलन छ । चिनिया नयाँ वर्ष चन्द्रगणना अनुसार पर्ने हुँदा इश्वीको नयाँ वर्ष जनवरी १ तारिखको शुभकामना पनि यसै अवसरमा आदानप्रदान गरिन्छ ।
वसन्त उत्सवका सजावटमा मुख्य गरी रातो रंङकै अधिकता देखिन्छ । चिनिया संस्कृतिमा पनि नेपालीमा जस्तै यस रंङलाई श्रीवृद्धि, समृद्धि र शुभको संकेत मानिन्छ । समृद्धिले नै संस्कृति जन्माउँछ र संस्कृति सभ्यताको प्रतीक पनि हो । चिनिया जनताले अहिले समृद्धि प्राप्त गरेका छन् र स्वसंस्कृतिमा रमाउन थालेका छन् ।
समृद्धिको वृक्षमा फुल्ने संस्कृतिको फूल सबैका लागि प्यारो हुन्छ । कारणवश मानिस यसबाट पर पुगे पनि फेरि साँस्कृतिक फूलकै फूलबारीमा फर्कन्छ ।