इलाम । बच्चाहरूको मनोरञ्जनको लागि इलाम नगरपालिका–७ मा चोकबजारमा फनपार्क निर्माण हुने भएको छ । फनपार्क बनाउनको लागि इलाम नगरपालिका कार्यालय र नगरविकास कोषका बीचमा ऋणसम्झौता भएपछि फनपार्क निर्माणको बाटो खुलेको हो ।
चार करोड ७९ लाख रुपैयाँको लागतमा फनपार्क निर्माण हुने भएको हो । कुल रकमको ७० प्रतिशतले हुने तीन करोड ३५ लाख ३० हजार रुपैयाँ नगर विकास कोषले ऋण साहयता उपलब्ध गराउने छ । बाँकी ३० प्रतिशतले हुने एक करोड ४३ लाख ७० हजार रुपैयाँ इलाम नगरपालिकाले लगानी गर्नेछ । नगर विकास कोषले ८ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराएको हो ।
निर्माण सकिएको २० वर्षमा नगर विकास कोषको सावा र ब्याज भुक्तानी गरिसक्नु पर्नेछ । निर्माणमा लाग्ने दुईवर्षलाई भने ग्रेस पिरियड राखिएको छ । सम्झौता अनुसार अर्ध वार्षिक रूपमा २४ लाख ५० हजार रुपैयाँ देखि २० लाख रुपैयाँसम्म किस्ता नगरपालिकाले भुक्तानी गर्नुपर्ने छ । आदर्श माविको नाममा रहेको तीन रोपनी दुई आना जग्गामा फनपार्क निर्माण गरिने भएको हो ।
फनपार्क पूरा भएको पाँच वर्षसम्म त्यसको सञ्चालन नगरपालिकाले गर्नेछ । त्यसको आयपनि नगरपालिकाकै हुनेगरी विद्यालयसँग नगरपालिकाले सम्झौता गरेको छ । पाँच वर्षपछि निर्माण भएका भौतिक संरचना सहित फनपार्क विद्यालयलाई नै हस्तान्तरण गरिने छ । त्यसपछि विद्यालयले नै फनपार्क सञ्चालन गर्ने र त्यसको आम्दानी पनि विद्यालयकै हुने इलाम नगरपालिकाका इञ्जिनियर दिपक गुरागाईंले बताए ।
पाँच वर्षपछि समेत नगर विकास कोषको ऋण भने नगरपालिकालेनै भुक्तानी गर्ने बताइएको छ । फन पार्कमा आकर्षक लाइट सहितको पिलर, विभिन्न ज्ञानवर्दक सामग्री सहितको ‘वाल अफ नलेज’, मिनि रेल, बगैचा, टेम्पो लाइट, पिङ, उफ्रिने घोडा, स्प्रिङ भएको उफ्रिने खेल, चिप्लेटी, सानो पोखरी, बस्ने ठाउँ, फुटपाथ, सानो पोखरी, चिया खाजा खाने ठाउँ, टिकट काउन्टर, सौचालय लगायतका भौतिक संरचना निर्माण गरिने छन् ।