काठमाडौं । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले संघ, प्रदेश र स्थानीय तहमा उल्लेख्य प्रगति हुँदै गएको संकेत गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै मुख्यमन्त्री पोखरेलले विश्वस्तरका इण्डेक्समा नेपालको उल्लेख्य सुधार भएको दाबी गर्नुभएको छ । सिमित स्वार्थमा निहित जालोले नकारात्मक सन्देश प्रवाह गरी जनताका नैराश्यता पैदा गर्नुको तुक नभएको उल्लेख गर्दै पोखरेलले १४ बुँदामा स्ट्याटस लेख्नुभएको छ । निरासाको खेती जारी रहेको भन्दै उहाँले जनतामा अफवाह नफैलाउन सम्बन्धित पक्षलाई आग्रहसमेत गर्नुभएको छ ।
मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेको स्ट्याटसः–विश्वस्तरका इण्डेक्समा नेपाल बारेको सत्यतथ्य । तर पनि निरासाको खेती जारी छ ...१. विश्व बैंकको व्यवसायसम्बन्धी सूचाकांक (डुइङ बिजनेश इन्डेक्स)ले नेपालको व्यवसायिक वातावरणमा उल्लेख्य सुधार भएको भन्ने देखाएको छ । गत वर्ष ११० औं स्थानमा रहेको नेपाल यस वर्ष ९४ औं स्थानमा उठेको छ । यो एक वर्षमा हामी विश्वस्तरमा नै १६ स्थान अगाडि बढेका छौँ ।
२. मानव विकास सूचकाङ्क, जो संयुक्त राष्ट्र संघीय मानव विकास प्रतिवेदनले सार्वजनिक गरेको छ, त्यसमा २ स्थान प्रगति गरी नेपाल १४९ औँबाट १४७ औँ स्थानमा अगाडि बढेको छ ।
३. भोकमरी सूचकांकमा अहिले नेपालको स्थिति सुध्रिएको छ र यो ७३ औँ स्थान (२०.८ प्राप्तांकसहित) मा रहेको छ । यसले पनि प्रगति र विकासको संकेत गरेको छ ।
४. शान्ति सुव्यवस्थाको स्थिति कस्तो छ त ? विश्व शान्ति सूचक (ग्लोबल पीस इन्डेक्स) मा नेपालले यस वर्ष १२ बिन्दुले सुधार गरेको देखिएको छ, अर्थात् नेपाल यसरी सुधारको स्थितिमा अगाडि बढेको छ । १६५ देशमध्ये नेपाल ७६ औं स्थानमा आइपुगेको छ । जबकी अरु देशहरूको स्थिति फरक छ । बंगलादेश १०१ औं स्थान, चीन ११० औं स्थान, भारत १४१ औं स्थान र पाकिस्तान १५३ औं स्थानमा रहेका छन् ।
५ .विधिको शासनको सूचकमा नेपाल २ स्थानमाथि उठेको छ । गत वर्षभन्दा यस वर्ष क्रमशः यो माथि जाँदैछ । विश्वका १२६ देशहरूमध्ये नेपाल ५९ औँ स्थानमा रहेको छ ।
६ .भ्रष्टाचार नियन्त्रण र पारदर्शितासम्बन्धी सूचकांक (करप्सन पर्सेप्सन इन्डेक्स) मा नेपाल ११औँ स्थानमाथि चढेको छ र १२४ औँ स्थानबाट ११३ औँ स्थानमा पुगेको छ ।
७ . विश्वव्यापी खुशी मापन सूचक (ह्याप्पीनेश इन्डेक्स) मा के छ त ? खुशी मापनमा पनि नेपाल अहिले ३ स्थानमाथि उठ्न सकेको छ ।
८ .आर्थिक–सामाजिक कार्यसम्पादन र संस्थागत मूल्याङकनसम्बन्धी विश्व सूचक (कन्ट्री प्नफमेन्स एण्ड इन्सिच्यूशनल एसिसिमेन्ट–सीपीआइए) मा हाम्रो मुलुक १ तह (३.४ बाट ३.५) माथि उठेको छ ।
९. विश्व प्रतिस्पर्धासम्बन्धी सूचकमा पनि १ स्थान (१०९ औं बाट १०८ स्थान) माथि उठेको छ ।
१०. लैङ्गिक समानताको विश्व सूचकमा गत वर्षभन्दा १ स्थानमाथि उठेको छ । गत वर्ष नै हामी अगाडि थियौं, त्यसमा पनि यस वर्ष अलिकति माथि उठेको अवस्था रहेको छ ।
११ . विश्व भ्रमण तथा पर्यटनसम्बन्धी सूचक यसमा टुरिजम कम्पिटेटिभ इन्डेक्समा नेपाल फेरि १ स्थानमाथि उठेको छ । यसरी विश्व सूचकमा नेपाल अनेक कोणबाट अगाडि बढेको स्पष्ट छ । नेगेटिभ सूचक छैनन् ।
१२.जर्मनीको प्रसिद्ध Wander Hust Magazine ले विश्वमा भ्रमण गर्नैपर्ने १५ मुलुकमा नेपाललाई समावेश गरेको छ । यसबाट पर्यटकीय विश्व बजारमा नेपाल विशेष र उल्लेखनीय गन्तव्यका रूपमा विख्यात भएको छ । नेपाल भ्रमण वर्ष २०२० अभियानको सफलताका लागि यो महत्त्वपूर्ण आधार हो ।
१३. विश्व बैकले हालै सार्वजनिक गरेको “वुमेन, बिजनेस एण्ड द ल ( २०२०“ रिपोर्टका महिला, व्यवसाय र कानूनका क्षेत्रमा सुधार गर्ने प्रमुख १० देशको सूचीमा नेपाल परेको छ, त्यो पनि उत्कृष्ट तीनमा । यसले महिला शसक्तिकरणको क्षेत्रमा नेपाल विश्वमै अग्रणी स्थानमा देखाएको छ ।
१४. संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ)को विश्व प्रतिवेदन (“अ वल्ड रेडी टु लर्न“ मा सन् २००० पछिका १७ वर्षमा नेपालको विद्यालय भर्ना दर १२ प्रतिशतबाट ८६ प्रतिशत पुगेको भनी प्रशंसा गरिएको छ ।