बझाङ । हिमपातका कारण ७ करोड रूपैयाँ भन्दा बढीको क्षति भएको छ । लगातार ४ पटक परेको हिमपातका कारण सुर्मा गाउँपालिकामा २ जनाको मृत्यु भएकाे हाे । जिल्लाका सुर्मा र साईपाल गाउँपालिकामा ११ सय भन्दा बढी पशु चौपाया समेत मरेका छन् हिमपातले सबैभन्दा बढी साइपाल गाँउपालिकामा क्षति भएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामीले जानकारी दिनुभयाे ।
करिब ३ सय परिवारले भेडा च्याङ्गा पालेका भएपनि बाक्लो हिमपात भएपछि एक करोड ३ लाख बराबरका भेडा, च्याङ्ग्रा मरेका छन् । गाउँपालिकाले वितरण गरेका ६ लाख ५० हजार बराबरका विभिन्न जातका फलफूलका बोटमासमेत नोक्सान पुगेको छ । गाउँपालिका भरि एक करोड ९ लाख ५० हजार मूल्य बराबरको नोक्सान भएको धामीले बताउनुभयाे । यस्तै जिल्लाको तल्कोट गाउँपालिकामा २२ लाख ५० हजार मूल्य बराबरको नोक्सान भएको तल्कोट गाउँपालिकाका अध्यक्ष लालबहादुर विष्टले बताउनुभयाे ।
हिमपातका कारण दाँतोली गाड लघु जलविद्युत आयोजना र मल्लो सुगाड लघु जलविद्युत योजनाका पोलहरु ढलेर १५ लाख बराबरको नोक्सान भएको र विद्युत पुर्णरुपमा अवरुद्ध भएको विष्टले जानकारी दिनुभयाे । गाउँपालिकाले वितरण गरेका ३० भन्दा बढी टर्नेल हाउसहरुमा पूर्णरुपमा क्षती पुगेकाले ७ लाख ५० हजार बराबरको क्षती भएकोउहाँले बताउनुभयाे ।
खप्तड छान्ना गाउँपालिकाभरि एक करोड २ लाख ३५ हजार मूल्य बराबरको नोक्सान भएको छ । एकै पटक बाक्लो हिउँ परेका कारण गाउँपालिकाबाट वितरण गरिएका २ सय ८ भन्दा बढी टर्नेल हाउस भत्केका छन् भने विभिन्न ठाउँमा विद्युतका पोलहरु भाँचिएको र गाउँपालिकाले वितरण गरेका दाँते ओखर, कागती, केराका बोट, लगायतका फलफूल पूर्णरुपमा नष्ट गरिदिएको गाउँपालिका अध्यक्ष वर्कबहादुर रोकायाले जानकारी दिनुभयाे । नगरपालिकाको तल्लो क्षेत्रमा कम हिउँ पर्ने भएका कारण माथिल्लो क्षेत्रमा मात्रै हिउँले क्षति पुर्रयाएकाे उहाँकाे भनाइ छ ।
मष्टा गाउँपालिकामा ४१ लाख बराबरकाे क्षति भएको छ । ३० लाख मूल्य बराबरका टर्नेलमा क्षति पुगेको छ भने ६ लाख मूल्य बराबरका फलफूल र ५ लाख मूल्य बराबरको विद्युतका पोल तथा तारमा नोक्सान पुगेको गाउँपालिका अध्यक्ष कर्णबहादुर कठायतले जानकारी दिनुभयाे ।
सुर्मा गाउँपालिकामा भने २ जना युवाको हिउँमा पुरिएर मृत्यु भएको छ । गाउँपालिकाकाे वडा नम्बर एकका अध्यक्ष पुस्कलबहादुर बोहराका अनुसार गाउँपालिकाबाट अनुदानमा वितरण गरिएका १८ लाख ७५ हजार मूल्य बराबरका टर्नेल, २ लाख २५ हजार मूल्य बराबरका पशु चौपाया तथा भेडा, बाख्रा मरेका हुन् ।
थलारा गाउँपालिकामा फलफूल तथा तरकारी खेती टर्नेल हाउस लगाएर जम्मा १० लाख मुल्य बराबरको क्षति भएको गाँउपालिका अध्यक्ष भुवनेश्वर उपाध्यायले बताउनुभयाे ।
यसैगरी दुर्गाथली गाउँपालिकामासमेत जुइली गाड दोस्रो हाड्रो पावरका पोल भाँचिएका र २ घर भत्किएका छन् । गाउँपालिकाबाट वितरण गरिएका टर्नेल हावससँगै विभिन्न प्रजातिका फलफूल नोक्सान हुँदा ३० लाख मूल्य बराबरको क्षति भएको गाउँपालिकाका अध्यक्ष प्रयागराज जोशीले बताउनुभएकाे छ ।
बुंगल नगरपालिकाको वडा नम्बर ४ र ५ बाहेक अन्य ठाउँमा हिउँले १५ लाख ६५ हजार मूल्य बराबरको क्षति पुर्याएकाे छ । जिल्लाको छविस पाथीभेरा गाउँपालिकामा समेत हिमपातले झण्डै १ करोड मूल्य बराबरको क्षति गरेको गाउँपालिका अध्यक्ष अक्कलबहादुर धामीकाे भनाइ छ ।
धामीका अनुसार यहाँ सबैभन्दा बढी क्षति कृषि क्षेत्रमा भएको छ । फलफूलका बोट ढलेका र गाउँपालिकाले वितरण गरेका सबै फलामे टर्नेलहरु भाँचिएर काम नलाग्ने भएका छन् । यस्तै विथ्थडचिर गाउँपालिकामा पनि हिमपातले क्षति गरेको गाउँपालिकाले जनाएको छ ।
यता जिल्ला प्रशासन कार्यालयमा भने जिल्लाका विभिन्न स्थानमा हिमपातले गरेकाे नाेक्सानबारे तथ्याङ्क नभएको तर २ जनाको हिमपातका कारण मृत्यु भएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे बताउनुभएकाे छ। अहिले सबै स्थानीय तहबाट हिमपातले कुन ठाउँमा कति क्षति गरेको छ भन्ने विषयकाे विवरण संकलन गर्ने कार्य भइरहेकाे पाण्डेकाे भनाइ छ ।