टिप्पणीकेही समय अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुलाई भेला पारेर मुटु सुम्सुम्याउनुभयो । तर, प्रधानमन्त्री ओलीले सम्पादकहरुको मुटु भेट्टाउनु भएन, र भन्नुभयो–‘तपाईंहरुको मुटु नै छैन ।’ उसो त बेला बखत ओली पत्रकारहरुप्रति खनिनु हुन्छ । एकताका ओलीले नै पत्रकारलाई सभ्यता सिकाउन बेर लगाउनुभएन । आफूभन्दा ठूलाको सम्मान गर्नुपर्ने र भाषिक शुद्धतामा ध्यान दिनुपर्ने भन्दै उहाँले सबै सञ्चारमाध्यमलाई सच्चिन भन्नुभयो । सञ्चारमाध्यममा प्रयोग हुने भाषा संस्कारी नभएको उहाँको तर्क थियो । सरकारले गरेका काम कारबाही एकपछि अर्को हुँदै किन अलोकप्रिय हुँदैछन् ? भन्ने मेसो पाउन नसकेका प्रधानमन्त्री ओली आफ्नै सरकारका मन्त्रीहरुसँग पनि समय–समयमा रिसाइरहनुहुन्छ ।
कम्युनिस्टको बहुमतको सरकार सत्तासीन छ । यो अवस्थामा आउन करिब ७ दशक बढी संघर्षपूर्ण यात्रा पार भएको छ । यसबीचमा धेरै उतारचढाव भएका छन् । २००७ साल, २०४७ साल, २०५१ साल, २०६३ साल यी महत्वपूर्ण कालखण्डमा मुलुकको व्यवस्थालाई परिवर्तन गर्ने अग्रगामी कदमहरु चालिएका थिए । जनता परिवर्तन चाहन्थे, सोही अनुरुप दलहरुलाई साथ दिँदै आफ्ना भावनाहरु व्यवस्थित ढंगले प्रस्तुत गरिरहे । जनता कस्तो नेतृत्व चाहन्थे ? के चाहन्थे ? हामीले के गर्यौँ ? के गर्न बाँकी छ ? भन्ने प्रश्नको जवाफ सरकारले दिने हो । यो सरकारकै जिम्मा ।
पार्टीभित्रका धेरैथरीका आकांक्षालाई एकसुत्रमा बाध्न सकस परिरहेको नेकपामा राष्ट्रनिर्माणको अर्को जिम्मेवारी छ । त्यसैले पनि बेलाबखत गाग्री छताछुल्ल भइदिन्छ, धेरैलाई भिजाउँछ र सुक्छ पनि । एकैछिनमा गाग्रीको पानी सुक्ने भएकैले होला, नेतृत्वले पनि खासै ध्यान दिँदैन । कुनैबेला त्यही पानी ओसिलो भएर जमिरहेकाे छ भने कतैबाट केही बीऊ खस्दा अर्को बिरुवा नटुसाउला भन्न सकिन्न । त्यसैले छताछुल्ल भएको पानीलाई यत्रतत्र गरी वा गाग्रीलाई नफुट्ने गरी सुरक्षित राख्न नेकपाको शीर्ष नेतृत्वको मुटु बलियो हुन जरुरी छ । शीर्ष नेतृत्वले आफ्नो मुटु सिमित व्यक्तिहरुलाई दिएकै कारण पनि असहज परिस्थितिको बेला बखत सामना गरिरहनुपरेको नेकपाका नेताहरु बताउँछन् ।
सरकारको अलोकप्रियता र प्रचारबाजी अलि गजबको छ । पत्रकारको मुटु खोज्दै हिड्ने प्रधानमन्त्री ओलीले आफ्नै मुटु हराइरहेको मेसो पाउनुभएको छैन । सरकारले गरेका कामको उचित मुल्यांकन जनताले गर्ने हो, उहाँले डम्फू पिट्दै र पिटाउँदै जाँदा कतिले सुन्छन, र कति दिक्काउँछन् । सिमित घेरामा जगडिएकै कारण होला उहाँले बाह्य संसारको कल्पना गर्नै पाउनुभएको छैन । उहाँको पछाडि मुटु भएका सम्पादकपनि छन् । मुटुभएका सञ्चारमाध्यम पनि छन् । तर, प्रधानमन्त्रीज्यूसम्म खबर प्रवाह गर्नेको मुटु बीच बाटौमै चुडिन्छ, र के भन्ने ? के नभन्ने ? होसै उड्छ । यही कारणले पनि सरकारका गतिला कामहरु जनताका माझ नपुगेका हुन् । जनताका माझसम्म, जनताको साथसम्म को कसरी र कहाँ पुगेका छन् ? अबका दिनका प्रधानमन्त्री वरिपरि घुमिरहने आत्माहरुले सच्चा हृदयका साथ खबर पुर्याउन जरुरी छ । किनकी जनतालाई समृद्ध बनाउने, मुलुकलाई विकसित बनाउने सञ्चारमाध्यम र सम्पादकभित्रका हामीपनि एक अंग हौँ ।
अर्को गजबको प्रसंग– अब त सरकारलाई प्रचार गर्न संस्थागत सञ्चारमाध्यमको कमै जरुरत पर्छ की भन्नेहरुको पनि ताँती छ । फेसबुक र यूट्यूबनै सरकारका सारथी बनेका छन् । कतिपयलाई नेता बन्नुछ, कतिपयलाई आलोचक बन्नुछ, कतिपयलाई जनताको प्रिय बन्नुछ उनीहरुको साहारा फेसबुक, युट्युव हुनु स्वभाविक छ । तर, सरकारलाई किन लोकप्रिय हुनुछ र ? उसको लोकप्रियता भएरनै जनताले मत दिएका हुन् र उनीहरुलाई दिएको समयसीमाभित्र घोषणा गरिएका ४० प्रतिशत कामहरु औँलामा गन्न सकिने गरी गर्ने हो भने अन्य सस्तो लोकप्रियताका पछाडि दौडिरहनु जरुरी छैन । आजकाल संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुको प्रचारको माध्यम फेसबुक, यूट्यूव र ट्विटर बनेको छ । हामी कति गोपनीय छौँ भन्ने कुरा त छिमेकी मुलुक चीन हेरेरै थाहा हुन्छ । सञ्चारमा भएको विकासले कहिकतैबाट हाम्रो अस्तित्व गुम्ने त होइन यो कसैलाई फिटिक्कै मतलब छैन ।
सानो उदाहरण, एकाबिहानै अनामनगरबाट जनता टेलिभिजनको कार्यालयतर्फ लम्किँदै थिए । एकथान यूट्यूवधारीहरु गफिदै गरेको देखेँ, उनीहरु भन्दै थिए भक्तपुरमा सासुबुहारीको निकै ठूलो फाइट परेको छ रे ! ए बाबा सासुबुहारीको आजमात्रै फाइट परेको हो र ! यो जुगौँदेखिको समस्या होनी ? किन सञ्चारमाध्यममा ल्याएर थप बेइज्जती गर्नु । पैसा कमाउने बहानामा एकातर्फ मानिस बौलाएका छन्, अर्कोतर्फ संस्कार हराउँदै गएको छ । थप, अपराध बढेको छ । तीनै यूट्यूवमा नेपालीहरुको सान जनै कसरी लगाउने ? मन्त्रोच्चारण कसरी गर्ने ? कहीँ छैन । मिलेर बसेका सासुबुहारीको कथा कहीँ भेटिदैन । समाजको यात्रा कता जाँदैछ...