शिब बोहोराम्याग्दी । विकास योजना सञ्चालन गर्दा सरकारी कार्यालय एकआपसमा समन्वय गर्दैनन् भन्ने एउटा गतिलो उदाहरण यहाँ देखिएको छ । बेनी–अर्थुङ्गे –पाखापानी सडक स्तरउन्नती गर्ने योजना अन्तर्गत बेनी नगरपालिकाको महारानीथानस्थित सडकमा विद्युतको पोलबीच भागमै राखेर सडक निर्माण गरिएको छ । सडकको क्षेत्राधिकारलाई मिचेर विद्युत प्राधिकरणले पोल गाडेका कारण यस्तो समस्या आएको हो ।
सडकबीचमा रहेको पोलको फोटो सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको छ । फेसबुकमा फोटो पोष्ट गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले सम्बन्धित सरकारी कार्यालयलाई गाली गरिरहेका छन् ।
विद्युत सेवा विस्तार गर्दा विद्युत प्राधिकरण म्याग्दीले सडक छेउमै पोल गाडेको र हटाइदिन अनुरोध गर्दा अटेरी गरेका कारण बाध्य भएर पोल विचमा राखेर ढलान गर्नुपरेको भौतिक पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख सिनियर डिभिजनल इन्जिनियर ओमराज ढुङ्गानाले बताउनुभयो ।
‘यो विद्युत प्राधिकरणको लापरवाही हो’, उहाँले भन्नुभयो, ‘सडक क्षेत्राधिकारभित्र पोल गाड्ने अनि सडक विस्तार गर्दा पोल सार्न अनुरोध गर्दा विद्युत कार्यालयले हामीसँग पैसा माग्ने प्रवृत्ति छ ।’ विद्युत पोल स्थान्तरण गर्न कार्यालयसँग बजेट हुँदैन उहाँले भन्नुभयो । सडक क्षेत्राधिकारभित्र रहेका पोलको स्थानान्तरण गर्ने प्रमुख जिम्मेवारी विद्युतकै भएको उहाँले बताउनुभयो ।
यो विद्युत प्राधिकरणको चरम लापरबाही भएको उहाँको भनाइ छ। प्राधिकरणलाई सचेत बनाउन आफूहरुले बीच सडकमा पोल राखेरै ढलान गरेको उहाँले उल्लेख गर्नुभयो ।
भ्याटसहित ४५ लाख रुपैयाँमा ९० मिटर ढलान र दुइसय ३० मिटर कालोपत्रे गर्न योजना भौतिक पूर्वाधार विकास कार्यालय म्याग्दीले निर्माण व्यवसायी श्रमजिवी निर्माण सेवासँग ठेक्का सम्झौता गरेको हो । विद्युतका पोल र केही घरहरुका कारण सडक मापदण्डअनुसार काम गर्न असहज भएको कार्यालयले जनाएको छ । बेनी नगरपालिकाका इन्जिनियर विमल रञ्जन कार्कीले पोललाई स्थान्तरण गर्नका लागि सम्बन्धित निकायसँग कुरा भइरहेको जानकारी दिनुभएको छ ।