पाल्पा । शिवरात्री पर्वको अवसरमा यसवर्ष पनि रामपुरको तालपोखरामा खुल्ला डुङ्गा दौड प्रतियोगिता हुने भएको छ । तालपोखरा संरक्षण समितिले प्रत्येक वर्ष शिवरात्रीमा मेला लगाउँदै आएको छ । फागुन ९ गते शिवरात्री मेलाको अवसरमा ८ गते खुल्ला डुंगा दौैड प्रतियोगिता गर्ने तयारी गरिएकाे तालपोखरा संरक्षण विकास समितिले जनाएको छ ।
कालीगण्डकी उपत्यका र मिनी फेवातालको रुपमा रहेकाे तालपोखरा क्षेत्र हेर्न र डुङ्गामा सयर गर्न बुटवल, पोखरा र काठमाडौंबाट मानिसहरू तालपोखरा पुग्ने गर्दछन् । तालपोखराका अलवा पार्क, पिकनिक पार्क सहितका रमणीय स्थान र पछिल्लो समय खाजा नास्ताको लागि मौलिकतासँग जोडिएको कटेजको विकासले गर्दा तालपोखरा चहलपहल बढ्दो छ ।
सरकारको १०० पर्यटकीय गन्तव्यमा पर्न सफल तालपोखरामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले आयोजना गरिएको डुङ्गा दौड प्रतियोगितामा गत वर्षभन्दा धेरै जोडीले भाग लिने आंकलन समितिको छ । प्रतियोगिताका सहभागी १ जोडीले काठको डुङ्गा प्रयोग गर्नेछन् । गत वर्ष प्लाष्टिककाे -याफ्टिङ बोट प्रयोग गरिएपनि यसवर्ष मौलिकता बढाउन नदी नालामा चलाइएका डुंगा प्रयोगलाई महत्व दिइएको समिति सचिव सुनिल देवकोटाले जानकारी दिए ।
मानवनिर्मित कृतिम तालको विकासबाट पर्यटकीय आकर्षण बढाउन यसबर्ष पनि डुंगा दौड प्रतियोगितालाई निरन्तरता दिइएको अध्यक्ष सागर प्रसाद देवकोटाले बताए । युवाहरुको सक्रियता र सहभागिता बढ्ने र फरक पनि ल्याउने अभिप्रायले प्रतियोगिता राखिको उहाँको भनाइ छ । झण्डै ४५ रोपनी क्षेत्रफलमा फैलिएको तालको बिचमा जलेश्वर शिव भगवानको मन्दिर छ ।
प्रतियोगितामा भाग लिने समुहले मन्दिरको भागलाई परिक्रमा गर्नुपर्ने नियम छ । डुंगा दौड प्रतियोगिताका बिजेता प्रथम हुनेले ७ हजार, दाेश्राे हुनेले ५ हजार र तृृतीयले ३ हजार प्राप्त गर्नेछन् । मेलामा डुङ्गा दौड प्रतियोगिताका साथै भजनकृतन, पुजापाठ तथा विविध सांस्कृतिक कार्यक्रम गरिनेछ ।