राजन पौडेलकाठमाडौँ । चर्चित सांगीतिक समूह नेपथ्यले यही फागुन १७ गते काठमाडौंमा विशेष सांगीतिक कार्यक्रम गर्ने भएकाे छ । हेल्प नेपाल नेटवर्कसँगको सहकार्यमा “शिक्षाका लागि संगीत” नाम दिइएको सांगीतिक कार्यक्रम भृकुटीमण्डपमा आयोजना गरिने भएको हाे ।
सन् २०१५ मा आएको विध्वंशकारी भूकम्पबाट क्षतिग्रस्त दोलखाको राजकुलेश्वर निम्न माध्यमिक विद्यालय भवनको पुनर्निर्माणमा सहयोग जुटाउन अभिप्रायले कार्यक्रम आयोजना गर्न लागिएको हेल्प नेपाल नेटवर्कले जनाएको छ ।
“सन् २०१५ यता हामीले सिन्धुपाल्चोकको ठोकर्पा मावि लगायत विभिन्न जिल्लाका विद्यालय भवन पूनर्निर्माण गर्न सघाएका छौं। भीमेश्वर नगरपालिकास्थित राजकुलेश्वर निम्न माध्यमिक विद्यालय भवनको पुनर्निर्माण शुरु भएको छ । त्यसकाे र्निर्माणको काम सम्पन्न गर्न सहयोग जुटाउन चर्चित व्याण्ड नेपथ्यसँगको सहकार्यमा यो सांगीतिक साँझ आयोजना गर्न लागिएको हो,” हेल्प नेपाल नेटवर्क नेपाल शाखाका कार्यसमिति सदस्य तथा कार्यक्रम संयोजक रोशेन्द्रध्वज खड्काले भन्नुभयाे।
“पूर्वाधार राम्रो हुँदा बालबालिकाको पठन पाठनमा पनि राम्रो प्रभाव पर्छ। त्यसैले हामी अरु जिल्लाका लागि पनि नमुना बन्न सक्ने गरी विद्यालयको पुनर्निर्माण कार्य अगाडी बढाइरहेका छौँ ,” खड्काले उल्लेख गर्नुभयाे ।
कार्यक्रममा चर्चित गायक अमृत गुरुङकाे प्रस्तुति रहने बताइएकाे छ । इ-सेवामा गएर कार्यक्रमको टिकट किन्न सकिन्छ । अहिले टिकटको मूल्य रू ९०० राखिएको छ। कार्यक्रमको दिन भने टिकटको मूल्य प्रति व्यक्ति १,२५० ताेकिएको आयोजकले जनाएकाे छ ।
“मातृभूमिको लागि महिनामा एक डलर” भन्ने नाराका साथ २० वर्ष अघि बेलायतमा स्थापना गरिएको हेल्प नेपाल नेटवर्कले नेपालमा शिक्षा, स्वास्थ्य, आपतकालीन मानवीय सहायता लगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ।