काठमाडौं । अक्षरा स्कुलले बुधबार आयोजना गरेको शैक्षिक प्रदर्शनीमा विद्यार्थीहरुको उल्लेखनिय सहभागिता रह्यो । कक्षा १ देखि १० सम्मका विद्यार्थीले विद्यालयको पाठ्यक्रममा आधारित ज्ञानलाई प्रदर्शनीमार्फत देखाएका हुन् । प्रदर्शनीमा कक्षा १ का विद्यार्थीले नेपाली, गणित र विज्ञानसँग सम्बन्धित विभिन्न खेल खेलाएका थिए ।
विद्यार्थीहरु कतै अंक जोड्ने खेल अभिभावकलाई खेलाइ रहेका थिए भने कतै नेपालीका व्याकरण मिलाउने खेल खेलाइरहेका थिए । अभिभावकलाई खेल खेलाउँदा बालबालिका निकै रमाएका देखिन्थ्यो । ‘यसरी खेलाउँदा विद्यार्थीको पनि अभ्यास हुने कक्षा १ को गणित र विज्ञान विषयकी शिक्षिका सिर्जना श्रेष्ठले बताइन् । ‘अभिभावकले पनि आफ्ना बालबालिकाको शैक्षिक विकास कसरी भइरहेको छ भनेर अनुभूति गर्न सक्छन्’ उनले भनिन् ।
खासगरी ‘हेर, गर र सिक भन्ने अभ्यास गर’ भन्ने दर्शनका साथ कक्षा कोठामा भएको पढाइलाई बाहिर देखाउन यस्ता प्रदर्शनी ‘प्लेटफर्म’ हुने शिक्षिका भट्टराई भनाइ छ ।
प्रदर्शनी हेर्न उपत्यकाका अन्य विभिन्न स्कुलका बालबालिकाको समेत सहभागिता थियो । उही उमेरका विद्यार्थीले उही उमेरका विद्यार्थीबाट सिक्ने वातावरण बनोस भनेर अन्य स्कुलका विद्यार्थीलाई पनि प्रदर्शनीमा बोलाएको स्कुलकी प्रिन्सिपल अञ्जु भट्टराइ बताउनुभयो । समग्रमा समाज राम्रो बनाउन सबै ठाउँका बालबालिकाले राम्रो शिक्षा लिनु पर्छ भन्ने मान्यताले ज्ञान आदान प्रदान गर्न उपत्यकाका नीजी र सार्वजनिक गरी सय स्कुललाई निम्तो दिइएको भट्टराईले जानकारी दिनुभयो ।
अक्षरा स्कुलले विगत १० वर्षदेखि एक्काइसौं शताव्दीको अति आवश्यकीय सिप, नेतृत्व क्षमता, सामूहिक कार्य, सहकार्य, विश्वव्यापी प्रतिष्पर्धा, प्रविधिको सदुपयोग, सिर्जनात्मक क्षमता, खोज अनुसन्धानमुलक कार्य, चूनातीको सामना गर्ने तरिका लगायतका विषयमा केन्द्रित रहेर शिक्षा दिइरहेको प्रिन्सिपल अञ्जु भट्टराईले प्रष्ट पार्नुभयो ।
शैक्षिक मेलाको आयोजक विद्यार्थी नै हुन् । विद्यार्थीहरुकै योजना अनुरुप विद्यालयले निर्माण सामग्री उपलब्ध गराएको बताइएको छ ।