बागलुङ । आज भोली बागलुङ जिल्लाका नापी कार्यालयका कर्मचारी हैरान परेका छन । नापी कार्यालय बागलुङका प्रमुख योगेन्द्र कुमार यादव बिहीबार कार्यालयमा निहुरीएर बसिरहेका थिए । कम्प्युटरको अगाडि बसेका यादवको हातमा ठूलाे प्लास्टिकको पाता देखिन्थ्यो । आफ्नो कार्यकक्ष भन्दा तल झरेर सेवाग्राहीले नक्सा चेकजाँच गर्ने कक्षमा थिए यादव ।
बागलुङ नगरपालिकाका एक सेवाग्राहीको नक्सा हेरेर कित्ता छुट्टाउन उनलाई निकै समय लाग्यो । जिल्लाका अधिकांश बजार क्षेत्रका नक्सा फाटेका छन् । प्लास्टिकमा बनाइएका नक्सा कुनै मेटिएका छ भने कुनैमा रेखानै देखिदैनन् । पुराना नक्सामा सेवाग्राहीले मागेको रेखांकन उपलब्ध गराउन कर्मचारीलाई निकै कठिन हुने गरेको छ । प्राविधिक शाखाका कर्मचारी मात्रै होईन नापी कार्यालयका प्रमुख र अन्य शाखामा रहेका कर्मचारीसमेत त्यहाँ पुगेर सघाउने गरेका छन् ।‘मेटिएका नक्साहरुमा मागेको कित्ता भेटाउनै मुस्किल हुन्छ’ कार्यालय प्रमुख यादव भन्छन् ‘आदेश दिएर बस्ने जस्तो नै छैन्, सेवाग्राहीलाई छिटो सेवा दिन सबै कस्सिएर खोज्छौं र प्राविधिकहरुले प्रमाणित गर्नुहुन्छ ।’
जग्गाको मुल्यांकन बढि र धेरै किनबेच हुने सदरमुकाम बागलुङ बजार क्षेत्रको नक्सा सबैभन्दा धेरै मेटिएका छन् । नक्सा स्पष्ट नभएकै कारण कर्मचारीहरु लामो समय खर्चेर सेवाग्राहीको काम गरिरहेका हुन्छन् । ठाउँ–ठाउँमा च्यातिएको नक्साबाटै मुस्किलले कर्मचारी सेवाग्राहीको माग अनुसारको नक्साङ्कन गर्ने गरेका छन् । ‘नक्सा पुराना भएर काम गर्नै नसकिने अवस्था छ’ अमिन गोविन्द शर्माले भन्नुभयो ‘हरेक दिन सेवाग्राहीको गाली खेप्नु बानी नै परिसकेको छ ।’
गाउँका जग्गा कम खरिद बिक्री हुनेभएकाले नक्सा खासै नमेटीएको भएपनि बजारक्षेत्र र सडक आसपासका जग्गाको नक्सा मेटिने गरेका छन् । ‘खरिदबिक्री धेरै हुँदा नक्साको प्रयोग धेरै हुन्छ’ कार्यालय प्रमुख यादव भन्नुहुन्छ – ‘पुनःनापी गर्नुपर्ने धेरै नक्साहरु छन् ।’ काम धेरै हुने कार्यालय भएर पनि नापी कार्यालयको विषयमा सरोकारवालाले कम चासो राख्ने गरेको उहाँको गुनासो छ । विवाद रहेका जग्गामा समय निकै खर्चिएर नक्सांकन गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।
बजार क्षेत्रका जग्गा धनीहरु हरेक दुई वर्षमा कुनै न कुनै रुपमा नक्सा लिन आउने गरेको उहाँले जानकारी गराउनुभयो। नाम निसाना नै नरहेका जग्गाको भने कार्यालयले पुराना लिखत र स्थलगत अनुगमन गरेर सेवाग्राहीलाई नक्सा उपलब्ध गराउने गरेको कार्यालयका चेकफाट प्रमुख कृष्ण प्रसाद उपाध्यायले बताउनुभयो।
नक्साको समस्या धेरै भएपछि कार्यालय र बागलुङ नगरपालिकाले पुनःनापीको पहल थालेका छ । नगरपालिकाका प्रमुख जनकराज पौडेलले पुनःनापीको लागि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई औपचारिक पत्र लेखेर पुनःनापीको पहल थालेको बताउनुभयो ।
मन्त्रालयले नापी विभागलाई आवश्यक कारबाहीका लागि पत्राचार गरेपछि विभागले नापी कार्यालयसँग नाप नक्साको काम, क्षेत्रफल, जनशक्ति र समयको विषयमा योजना माग गरेको छ ।
२०४० को दशकमा भएको नापी नै जिल्लाको पहिलो र अन्तिम नापी हो । समय समयमा पुनःनापी गर्नुपर्ने अवस्था आएपनि हुन सकेको छैन् । नक्सा मेटिएको नगर क्षेत्रको पुनःनापी जुनसुकै हालतमा गरिने नगर प्रमुख पौडेल बताउनुभयो ।