कविता खड्का भोजपुर । जिल्लाको दक्षिणी भेगमा अवस्थित कावा खोलामा मोटरेवल पक्की पुल बन्ने भएको छ । भोजपुर–मानेभज्याङ–रानीबास–घोडेटार सडक खण्ड अन्तर्गत पर्ने कावा खोलामा आगामी असार महिनाभित्रै सम्पन्न गर्नेगरि पक्की पुल शिलान्यास गरिएको हाे ।
स्वीस सरकारको ५ करोड अनुदान लागतमा निर्माण गर्न लागिएको पुलको ४५ मिटर लम्बाई र ६ मिटर चौडाई रहने छ । १ दशमलव २० मिटर दुवैतिर पैदल हिंड्न मिल्नेगरि पुल निर्माण गरिने स्थानीय सडक तथा पुल कार्यक्रमका प्रदेश १ संयोजक मङ्केश्वर ठाकुरले जानकारी दिए ।
कार्की बन्धु कन्ट्रक्शन विराटनगरले निर्माण गर्न लागिरहेको पुलको सिभिल निर्माण कार्यको लागि २ करोड तीन लाख २४ हजार ३७१ रकम छुट्याइएको छ । पुलमा ट्रस जडानका लागि अर्को कम्पनीसँग सम्झौता तयारी भईरहेको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ ।
केवल सपोर्टेड ट्रस र ओपन फाउन्डेसनको १ स्पानमा बन्ने पुलको दुवैपट्टी पक्की पिलर निर्माण गरिएपछि ट्रस जडान गरिने कार्यालयले जनाएको छ । पुलको आयु ८० वर्ष रहने र भूकम्प प्रतिरोधी बन्ने निर्माण कम्पनीको भनाइ छ । प्रदेश सरकारले खोलामा पुल निर्माणका लागि काम गर्ने तयारी गरिरहेको भएपनि स्वीस सरकारलेसमेत आर्थिक सहयोग गर्ने भएपछि मुख्यमन्त्री शेरधन राईको पहलमा पुल निर्माण अघि बढेको हो ।
पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीका अनुसार प्रदेश सरकार अन्तर्गत पुल निर्माण गर्ने तयारी भएपनि स्वीस सरकारले पनि आर्थिक सहयोग गर्ने जनाएपछि मुख्यमन्त्रीको पहलमा काम अगाडी बढाइएको हो ।
पुल निर्माण कार्य सम्पन्न भएपछि सदरमुकामबाट दक्षिण हुँदै तराईका जिल्लाहरुमा यातायातमा सहजता थपिनेछ । सडक खण्डलाई भोजपुरको उत्तर–दक्षिण जोड्दै संखुवासभाको किमाथाङ्कासम्म कालोपत्रे गर्नेगरि काम अगाडी बढाउने प्रदेश सरकारको योजना छ ।
उदयपुरको मैनामैनीसम्म सडक टेन्डर प्रक्रिया सम्पन्न भई काम शुरु भएको छ भने त्यस यताको सडकको टेन्डर प्रक्रिया अन्तिम चरणमा रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । कार्यालय प्रमुख राजनराज रेड्डीका अनुसार भोजपुरलाई तराईका जिल्लासँग जोड्ने यो सबैभन्दा छोटो सडक हुनेछ ।
पुल निर्माणबारे आइतबार निर्माणस्थलमा स्थानीय तथा सरोकारवालाबीच सार्वजनिक सुनुवाईसमेत सम्पन्न भएको छ । पुल निर्माणपछि भोजपुरका रामप्रसाद राई र हतुवागढी गाउँपालिकाका स्थानीय प्रत्यक्ष लाभान्वित हुने छन् । खोलामा पुल नहुँदा स्थानीयहरु जोखिम मोलेर यात्रा गर्दै आइरहेका थिए ।