भगीरथ भण्डारी इलाम । इलाम जिल्लाकै उच्च क्षेत्र मानिने पर्यटकीय क्षेत्र इलामको सन्दकपुर क्षेत्रमा हिउँ परेको छ । दुई दिनदेखि परेको पानीसँगै हिउँ पनि परेको हो । सन्दकपुर गाउँपालिकाको ४ नम्वर वडा सन्दकपुर ५ नम्वर वडाको जौवारी, माईजोगमाई गाउँपालिकाको थुम्के लगायतका जिल्लाका माथिल्लो भूभागमा हिउँ परेको छ ।
सन्दकपुर गाउँपालिका दुई माईमझुवासम्म हिउँ परेको स्थानीयले बताएका छन् । हिउँ परेसँगै जिल्लामा चिसो बढेको छ । चिसोका कारण स्थानीयलाई दैनिक गर्दै आएका काम गर्न असहज भएको स्थानीय दिनेश ढकालले बताए । उनले भने केटाकेटी, वृद्धवृद्धा र सुत्केरीलाई चिसोका कारण समस्या भएको छ ।
![](https://45.77.241.73/wp-content/uploads/2020/02/sandakpur-2.jpg)
लेकाली क्षेत्रमा हिउँ परेपछि गाईबस्तुलाई घाँस काट्न र ल्याउन कठिनाई भएको किसानको भनाइ छ । चिसोका कारण घरबाट बाहिर निस्कनका लागि समस्या भएकाले गाईवस्तुलाई घाँसपातमा पनि समस्या भएको उनको भनाइ छ । अहिले हिउँ परेसँगै इलाममा तेस्रो पटक हिउँ परेको हो । सन्दकपुर र आसपासमा परेको हिउँको प्रभावले सदरमुकामलगायत जिल्लाभर नै जाडो बढेको छ ।
सन्दकपुर क्षेत्रमा हिमपात भएसँगै हिउँ खेल्ने पर्यटक त्यस क्षेत्रमा जान थालेका छन् । विशेष गरी भारतबाट बढी पर्यटक त्यस क्षेत्रमा आउने गर्दछन् । सन्दकपुर भारतसँग सीमा जोडिएको क्षेत्र हो । यहाँ नेपाल तर्फबाट भन्दा बढी भारत, बङ्गलादेशलगायत तेस्रो मुलुकबाट समेत पर्यटकको चहलपहल हुने गरेको छ ।
![](https://45.77.241.73/wp-content/uploads/2020/02/sandakpur-1.jpg)
उच्च पहाडी क्षेत्रमा हिमपात भएकाे छ भने जिल्लाका अन्य स्थानमा पानी परेको छ । पानी परेपछि जाडो बढेको छ । तर खेती किसानी गर्नेलाई भने पानीले राहत भएको किसानको भनाइ छ ।
सन्दकपुर ३६ सय ३६ फिट उचाईमा रहेको भारतसँग सीमा जोडिएको क्षेत्र हो । हिउँका कारण पर्यटकलाई खाना खुवाउन र बसाउन समस्या भएको व्यवसायीको भनाइ छ ।