बन्दना पोखरेल पाल्पा । यहाँका रामपुर, किर्तिपुर र सहलकोट हुँदै नवलपुरको झ्यालबास जोड्ने सडक खण्डको निस्दीखोलामा पक्की पुल बन्ने भएकाे छ छ । प्रदेश नम्बर ५ को भौतिक पुर्वाधार विकास मन्त्रालयले पुल निर्माण गर्न लागेकाे हाे । रामपुर नगरपालिका १ र ३ जोड्ने निस्दीखोला मसानेघाट पक्की पुलको प्रदेश ५ का भौतिक पुर्वाधार विकास मन्त्री वैजनाथ चौधरी र पूर्वमन्त्री एवं संघीय सांसद दल बहादुर रानाले संयुक्त रुपमा शुक्रबार शिलान्यास गर्नु भएको हो । पुलको बन्ने भएपछि स्थानीयमा खुशीयाली छाएको छ ।
पुल शिलान्यासका क्रममा भौतिक पुर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले प्रदेश सरकारको सक्रियताले विकास निर्माणको काम अघि बढेको बताउनुभयो । ‘पहिले पनि विकास नभएको त होइन, तर प्रदेश सरकारको निर्माणपछि समयमै अनुगमन, प्राविधिक सल्लाह तथा रकम निकासा हुने गरेको छ’ उहाँले भन्नुभयो । सामाजिक न्यायसहितको समृद्धि भन्ने मुल नाराका साथ प्रदेश सरकारले विभिन्न कामहरु अघि बढाइरहेको उल्लेख गर्नुहुँदै मन्त्री चौधरीले पाल्पाका धेरै नाका राजर्मागसँग जोडिन थालेका बताउनुभयो ।
पुल शिलान्यास कार्यक्रममा पूर्वमन्त्री तथा संघीय सांसद दल बहादुर रानाले निस्दीखोलामा पक्की पुल बनाउने सपना १२ वर्ष अघिको प्रयास भएको उल्लेख गर्नुहुँदै एउटा मुख्य सपना पूरा भएको बताउनुभयो । निस्दी खोलाको पुलसँगै अब रामपुर - पन्थे - सहलकोट झ्यालवास सडकलाई सुधार गर्न प्रदेश सरकारले ध्यान दिनुपर्नेमा उहाँको जोड छ । रानाले रामपुर -३ र निस्दी - २ लाई जोड्ने पुल पनि निर्माण प्रकियामा रहेको जानकारी दिनुभयो । रानाले अगाडी भन्नुभयो, ‘सरकारले काम गर्न सकेन, सबै बिग्रियो भन्दै सामाजिक सञ्जालमा लेख्नेहरु कागले कान लग्यो भनेर कागको पछि कुदिरहेजस्तो गरिरहेका छन्, कुनैपनि योजनाहरु आजको भोली नै सम्पन्न हुँदैनन्, समय लाग्छ र काम भइरहेको हुन्छ ।’
उद्घाटन समारोहमा प्रदेशसभाका सांसद युवराज खनालले संघ, प्रदेश र स्थानीय सरकारले पुर्वाधार निर्माणमा विशेष जोड दिएर काम गरिरहेको बताउनुभएको छ । खनालले पुल निर्माण कार्यले स्थानीयलाई निकै सहज हुने उल्लेख गर्नुभयो । रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले नगरले आफ्नो स्रोत र साधनले भ्यायसम्म विकासमा ध्यान दिएको उल्लेख गर्नुभयो । थापाले नगरपालिका पुर्वाधारसँगै पर्यटन विकासलाई प्रथामिकतामा राखेर काम अघि बढिरहेको जानकारी दिनुभयो ।
प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालयका निर्देशक इन्जिनियर भिमार्जुन पाण्डेले ६२ दशमलव ९५ मिटर लामो पुल ८ करोड ५४ लाख ३३ हजार ५ सय ८१ रुपैयाँ अनुमानित लागतमध्ये इलाइट निर्माण कम्पनीले ८ करोड १२ लाख २५ हजार ६ सय ४३ को लागतमा सम्झौता गरेको र पुल निर्माण कार्य २४ महिनामा सकिने बताए । नयाँ प्रविधि अनुसार निर्माण हुने पुलको चौडाई ११ मिटर हुनेछ ।