भगीरथ भण्डारी इलाम । स्थानीय तहमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आतंकित बनाएको जनप्रतिनिधिहरुले आरोप लगाएका छन् । बढ्दो भ्रष्टाचार न्युनिकरणका लागि अख्तियारको इटहरीस्थित कार्यालयले सदरमुकाममा गरेको अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधिले अख्तियारले भ्रष्टाचार नियन्त्रणका नाममा आतंक मच्चाएको बताएका हुन् । स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई मात्र भेला पारिएको कार्यक्रम नियोजित र थर्काउने शैलिको भएको भन्दै स्थानीय सरकारका प्रमुखहरुले आक्रोश व्यक्त गरेका हुन् ।
अन्तरक्रियामा सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईले अख्तियारले स्थानीय तहका जनप्रतिनिधिलाई थर्काउने शैलीमा कार्यक्रम आयोजना गरेको बताएका छन् । फाकफोकथुम गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठले पनि अख्तियारले ठूला भ्रष्टचारीलाई आश्रय दिँदै साना काममा भाँजो हाल्ने गरेको उल्लेख गरे। 'भ्रष्टाचार भयो भन्ने हल्ला' का आधारमा अख्तियारले दु:ख मात्र दिने गरेको श्रेष्ठको भनाइ छ । नागरिकलाई आतंकित पार्ने काममा मात्र अख्तियार सक्रिय भएको भन्दै श्रेष्ठ आक्रोशित भएका हुन् ।
स्थानीय तहले भ्रष्टाचारविरुद्ध धेरै राम्र काम गरेको भए पनि कतिपय अवस्थामा अख्तियारले आतंकित बनाउने गरेको जनप्रतिनिधिको गुनासो छ । श्रेष्ठले भने, ‘भ्रष्टाचार भयो भन्ने उजुरीका भरमा अख्तियारले कसैलाई दुःख दिनु राम्रो होइन र विकास निर्माणका काममा पक्षपात समेत हुने गरेको छ ।’ अन्तरक्रियामा माईजोगमाई गाउँपालिकाका अध्यक्ष जितबहादुर राईले उजुरी परेको लामो समयसम्म पनि अख्तियारले मुद्धाको किनारा नलगाइदिने गरेकाले समस्या उत्पन्न भएको बताए । उनले भने,‘ झुटा उजुरीहरुमा अख्तियार रुमल्लिनु राम्रो होइन् ।’
‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीले आफ्नो परिचय नदिइ कागजपत्र माग्ने गरिएको छ र आयोजना स्थलमा पुगेर बिना परिचय तेरो आयोजनाको कागजात निकाल भन्ने गरिएको छ, यो राम्रो भएन’ जनप्रतिनिधिहरुले भने । एक महिनाअघि फाकफोकथुम गाउँपालिकाको एक आयोजनास्थल पुगेका २ कर्मचारीले त्यस्तो व्यवहार गरेको पाइएको भन्दै अख्तियारले पनि कानूनभित्रै रहेर काम गर्नुपर्नेमा उनीहरुको जोड छ ।
२ वर्षअघि नै सम्पन्न भइ सञ्चालनमा रहेको आयोजनाका अध्यक्षलाई कुनै परिचय नदिई कागजात निकाल भनेपछि अध्यक्षले तत्काल सम्भव नहुने बताएका थिए । तत्काल सम्भव नहुने भनेपछि दुई तीन दिन भित्रमा कागज लिएर आउनु भनियो । जनप्रतिनिधि भन्छन्, ‘यसरी सात दिनसम्म कार्यालयको नाम र परिचय लुकाएर आयोजनामा अख्तियार पुग्नाले जनताले दुख त पाए/पाए, अख्तियार पनि भ्रष्टाचार भन्दा टाढा छैन भन्नेमा शंका उत्पन्न भएको छ । यस्तो व्यवहारले गर्दा अख्तियारका कर्मचारी आफैं नियम मिचेर गाउँमा जनतालाई आतंक मच्चाउनमा तल्लिन रहेको देखिन्छ ।’
अख्तियार दुरुपयोग अनुसन्धान कार्यलय इटहरीमा इलामका भ्रष्टाचारका ७६ उजुरी दर्ता भएपनि ३९ मात्रै फछर्यौट गरिएको पाइएको छ । आर्थिक वर्ष २०७५/७६ मा स्थानीय तहसमेत गरी संघीय मामिला तथा सामान्य प्रशासन र शिक्षा विज्ञानतर्फ १८/१८, भूमि व्यवस्थातर्फ १, वन तथा वातावरणतर्फ १२ , भौतिक पूर्वाधार तथा यातायात र स्वास्थ्य तथा जनसंख्यातर्फ ४/४, उर्जा जलस्रोत तथा सिँचाइतर्फ ८, गृह र खानेपानीतर्फ ३/३, कृषि तथा पशुपन्छि विकासतर्फ ४ र शहरी विकासतर्फ एउटा उजुरी परेकाे पाइएको छ । ७६ वटा उजुरीमध्ये ३९ उजुरी फछर्यौट भइसकेका छन भने ३७ उजुरी फछर्यौट हुन बाँकी रहेको तथ्याङ्क छ ।
कार्यक्रममा अख्तियार इटहरीका प्रमुख चक्रबहादुर बुढाले भ्रष्टाचारको प्रवृत्ति न्युनिकरणका लागि प्रतिबद्धताको खाँचो रहेको बताए । बुढाले भ्रष्टाचार न्युनिकरणका लागि कर्मचारी, जनप्रतिनिधि र स्वयं नागरिक नै लाग्नुपर्नेमा जोड दिए । अख्तियारका कर्मचारीले परिचय लुकाएर नजाने र गएमा कारबाही गरिने बुढाले जानकारी दिए । अख्तियार इटहरीका शाखा अधिकृत गिरिराज भट्टराईले इलाममा सबैभन्दा बढि उजुरी स्थानीय तहमा भएका भ्रष्टाचारबारे पर्ने गरेको बताएका छन् ।