खेम बमकाठमाडौं । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू तपाईंको आज मृगौला प्रत्यारोपण हुँदैछ । तपाईंमा उच्च मनोबल बढेको पनि समाचार आइरहेका छन् । हुनत, व्यवस्था परिवर्तनमा विगतका दिनमा तपाईंले खेपेका जेलनेल यो पीडा भन्दा कम्ति थिएनन् । त्यसैलेपनि तपाईंले दुःख के हो ? नजिकबाट बुझिसक्नुभएको छ र आत्मसात पनि गरिसक्नुभएको छ । आज देश विदेशबाट तपाईंको स्वास्थ्य लाभको कामना भइरहेको छ । स्वदेशमै तपाईंको दल होस् या प्रतिपक्षी दल नेपालीले आफ्नो कोमल हृदयलाई तपाईंको पीडासँग लडिबुडी गराइरहेका छन् । छिट्टै तपाईं निको हुनुहोस्, सबैका मन, मष्तिकमा यहीँ शब्द झुण्डिएको छ ।
प्रधानमन्त्रीज्यू, विश्व कोरोनाको त्रासमा जगडिएको छ । कोरोनाकै कारण नेपालको अर्थतन्त्रमा असर गरिरहेको छ । कालोबजारी र महंगी बिस्तारै ओकालो चढ्दै छ । अनाहक हल्ला फिजाएर दैनिक उपभोग्य सामानको अभाव सिजर्ना गरिँदै छ । यतिबेला तपाईं मैले भनेका समस्या त सुन्नुहुन्न तर, भारतीय नाकाबन्दीका बेला तपाईंले देखाएको राष्ट्रियता बडो ओजिलो थियो र सबैले साथ पनि दिएका थिए । त्यसैको परिणति भन्नुपर्छ ७ दशकपछि नेपालको राजनीतिमा ठूलै परिवर्तन आयो । आज मैले लेख्ने शब्दैपिच्छे तपाईंकै शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेको छुँ ।
प्रधानमन्त्रीज्यू, यहाँले देखेको समृद्धिको सपनाले दिनप्रतिदिन सार्थक रुप लिइरहेको छ । मुलुकमा केही भएन, गरिएन किमार्थ होइन यो त नेपाली राजनीतिमा तपाईं र प्रतिपक्षी टिक्ने मेसो मात्रै हो । तपाईंले पार्टीभित्रको निर्णय र प्रतिपक्षीको सकारात्मक कदमलाई बेला बखत सुनिरहनुभएको छ । तपाईंको एक्लो दिमागले कतिसम्म भ्याउँछ गरिरहनुभएको छ तर, तपाईंकै नामलाई लिएर कसैले कहिँकतै गलत फाइदा उठाइरहेका त छैन यसमा तपाईं चनाखो बन्न सक्नुपर्दछ ।प्रधानमन्त्रीज्यू, म तपाईंसँग आज धेरै ठूलो आशा राख्दिन किनकी तपाईं आफ्नो स्वास्थ्यसँग लडिरहनुभएको छ ।
स्वदेशमै उपचार गर्न लाग्नुभएकोप्रति धेरै जनतालेपनि तपाईंको प्रशंसा गरेका छन् । तपाईंको पीडालाई सबैले आफ्नै पीडा सम्झेर प्रार्थना गरिरहेका छन् । तपाईं छिट्टै निको हुनुपर्छ, एक अभिभावक बिरामी पर्दा घरमा के बित्छ म राम्ररी बुझ्दछुँ । अब तपाईं नयाँ उर्जासहित पुनः राष्ट्र हीतमा फर्किएको देख्ने दिन छिट्टै आओस् ।