पर्वत । तीन वर्षमा ९७ जनाले आत्महत्या गरेका छन । पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा पर्वत जिल्लामा विभिन्न कारणबाट आत्महत्या गर्नहरूको संख्या वर्षेनी बढ्दै गएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक विकास थापाका अनुसार जिल्लामा गएका अघिल्ला दुई आर्थिक वर्षमा ७६ जना र चालु आर्थिक वर्षको फागुन दोस्रो सातासम्म २१ जना गरी ९७ जनाले आत्महत्या गरेका छन् ।
प्रहरीले राखेको त्रिवर्षीय तथ्यांकलाई हेर्ने हो भने आर्थिक वर्ष २०७४ र०७५ मा झुन्डिएर २७, विष सेवन गरेर २ र खोलामा हाम फालेर ७ गरी ३६ जनाले आत्महत्या गरेका थिए । आर्थिक वर्ष ०७५र०७६ मा झुन्डिएर ३२, विष सेवन गरेर १ र खोलामा हाम फालेर ७ गरी ४० जनाले आत्महत्या गरेका थिए । तीमध्ये १५ जना महिला र २५ जना पुरुष रहेका छन् । जसमा १६ देखि २५ वर्ष उमेर समूहभित्रका ४ जना महिला, २५ देखि ३५ वर्ष उमेर समूहभित्रका १ महिला र ७ पुरुष, ३५ देखि ४५ वर्ष उमेर समूहभित्रका ६ महिला र ४ महिला तथा ४५ वर्षभन्दा माथिको उमेर समूहका ३ महिला र १४ जना पुरुष रहेका छन् ।
उक्त आर्थिक वर्षमा सबैभन्दा बढी आत्महत्याका घटनाहरू डोरीमा झुन्डिएर भएका छन् भने दोस्रोमा हाम फालेर रहेका छन् । आत्महत्या गर्ने महिलाको भन्दा पुरुषको संख्या बढी देखिएको छ । यस्तै, चालु आर्थिक वर्ष ०७६र०७७ को फागुन दोस्रो सातासम्म झुण्डिएर १८, औजार प्रयोग गरेर १ र खोलामा हाम फालेर २ जना गरी २१ जनाले आत्महत्या गरेका छन् । चालु आर्थिक वर्षमा १६ देखि २५ वर्ष उमेर समूहका २ पुरुष, २५ देखि ३५ वर्ष उमेर समूहका १ महिला र ३ पुरुष, ३५ देखि ४५ वर्ष उमेर समूहका ३ पुरुष तथा ४५ वर्ष माथिको उमेर समूहका २ महिला र पुरुष रहेका छन् ।
चालु आर्थिक वर्षमा पनि आत्महत्या गर्नेमा महिलाभन्दा पुरुषको संख्या नै बढी रहेको छ । चालु आर्थिक वर्षको हालसम्म जिल्लामा रहेका ७ वटा स्थानीयतहमा भएका आत्महत्याका घटनालाई हेर्दा सबैभन्दा बढी फलेवास नगरपालिका र जलजला गाउँपालिकामा ६ , कुस्मा नगरपालिकामा ५ , मोदी गाउँपालिकामा २ र महाशिलामा गाउँपालिकामा १ आत्महत्या भएका छन् ।
आत्महत्यालाई सामाजिक र कानुनी रूपमा अपराध तथा धार्मिक दृष्टिमा पापका रूपमा लिइएको भए पनि विभिन्न कारणहरूले आत्महत्या बढिरहेको छ । डेढ वर्षमा ५ बालबालिकाद्वारा आत्महत्या जिल्ला प्रहरी कार्यालय पर्वतमा मुद्दा फाँट हेर्ने प्रहरी नायव निरीक्षक मोहन खड्काका अनुसार पछिल्लो समय बालबालिकाहरूद्वारा पनि आत्महत्या गर्नेक्रम बढेको छ ।
आर्थिक वर्ष ०७५र७६ मा १६ वर्ष मुनिकी एक बालिकाले झुन्डिएर आत्महत्या गरेकी थिइन् । तर, चालु आर्थिक वर्ष ०७६र७७ को ६ महिनामा नै यो दर ४ गुणाले बढेको छ । फागुन १३ गतेसम्मको तथ्यांकअनुसार १६ वर्षभन्दा कम उमेरका ३ जना बालिका र १ जना बालकले झुन्डिएर आत्महत्या गरेका छन ।
बढ्दो प्रविधिका कारण पनि बालबालिका एकोहोरो बन्ने तथा आफ्ना माग पूरा नहुँदा पनि बालबालिकाले आत्महत्या गर्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्याल बताए ।