लोकेन्द्र प्रशाद जोशीदार्चुला । प्रदेश नम्बर ७ ले लामो समयदेखि प्रतिक्षा गरिरहेको चमेलिया जलविद्युत आयोजनाको शनीबार औपचारिक रुपमा उदघाटन हुदैछ ।
११ बर्ष लगाएर निमार्ण सम्पन्न भएको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजनाको प्रधानमन्त्री शेर बहादुर देउवाले शनिबार उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री देउवाले शनीबार बिहान ११ः३० बजे पछि चमेलिया जलविद्युत आयोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजना प्रमुख अजय कुमार दहालले जानकारी दिए ।
चमेलिया जलविद्युत आयोजनाको शनिवार हुने उद्घाटनका लागी चमेलिया क्षेत्र सिंगारिएको छ ।
लामो समयको प्रतिक्षापछि निर्माण सम्पन्न भएको चमेलियाको पावर हाउँस क्षेत्रमा सिंगारपटार गरीएको र उक्त क्षेत्रमा फुलहरु समेत रोपिएको छ । आयोजनाको उद्घाटन कार्यक्रममा सहभागि हुन प्रदेश प्रमुख मोहनराज मल्ल लगायत ब्यक्तीहरु शुक्रबार नै आयोजनास्थल पुगिसकेका छन ।
आयोजनास्थलमा सुरक्षा ब्यबस्था निकै कडा पारिएको दार्चुला प्रहरी प्रमुख डिएसपी जनक बहादुर शाहीले जानकारी दिए ।
उद्घाटनका लागी प्रधानमन्त्री देउवाका साथै उपप्रधान तथा ऊर्जामन्त्री कमल थापा, मन्त्री जयन्त चन्द लगायत मन्त्रालय र बिद्युत प्राधिकरणका उच्चपदस्थ कर्मचारी पनि चमेलिया आउने भएका छन् ।
हेलीकप्टरमार्फत अतिथिहरु आउने भएपछि चमेलियाको आयोजनास्थल बलाँचमा दुईवटा हेलिप्याड निर्माण गरिएका छन् ।
एउटा हेलिप्याड पहिल्यैदेखि बनाइएकोमा अर्को नयाँ हेलिप्याडको समेत निर्माण भएको चमेलिया जलविद्युत आयोजनका प्रमुख अजयकुमार दाहालले बताए ।
बैतडी र दार्चुलाको सिमानदी चमेलियामा २०६३ पुष देखि निर्माण सुरु भएको चमेलिया जलविद्युत आयोजनाले गत पुष महिनादेखि परिक्षण प्रशारण सुरु गरेको थियो ।
परिक्षणका क्रममा सफल देखिएपछि निर्माण सुरु भएको ठिक ११ बर्षपछि चमेलिया विद्युत आयोजनाबाट बिद्युत उत्पादन भएको हो ।
चमेलियाको सुरुको लागत साढे ८ अर्बबाट बढेर करिब १६ अर्ब पुगेको छ भने २०६८ मा सम्पन्न हुनुपर्ने आयोजना बिभिन्न पटक म्याद थप गर्दै ६ वर्ष ढिलो गरी ११ बर्षमा सकिएको हो ।