पर्वत । सदरमुकाम कुश्माका विभिन्न ठाउँबाट बरामद गरिएको करिब ३ हजार लिटर अवैध घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ । कुश्मा नगरपालिका–७ खरेहा र गोदामका विभिन्न ठाउँबाट तयारी मदिरा ,मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ र भाँडाहरु जिल्ला प्रहरी कार्यालय पर्वतले बरामद गरेको हो ।
स्थानीयले अवैध रुपमा उत्पादन हुँदै आएको मदिराका कारण दैनिक घरमा झगडा हुनुकासाथै घरेलु हिंसा , आर्थिक समस्या बढेको र सेवनकर्ताहरुमा शारीरिक तथा मानसिक समस्या देखिएको लगायतका गुनासा गर्दै अवैध मदीरा नियन्त्रणमा लिएर नष्ट गर्न अनुरोध गरेपछि प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत रहेर अवैध मदीरा नियन्त्रणको अभियान चलाइरहेको छ ।
प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले अवैध रुपमा उत्पादन गरिने घरेलु मदीराका कारण समाजमा बिभिन्न अपराध हुने गरेको बताउँदै यसको नियन्त्रणका लागि जनप्रतिनिधि, समाजसेवी र स्थानीय नागरिकसँग सहकार्य गरेर नियन्त्रणको काम भइरहेको जानकारी दिए ।
प्रहरी निरीक्षक मनिष श्रेष्ठले केही दिन अगाडि पनि जिल्ला प्रहरी कार्यालय पर्वतबाट गएको प्रहरी टोलीले करिब ४५ सय लिटर घरेलु मदीरा बरामद गरेर नष्ट गरेको बताउँदै मदीरा उत्पादकले आम्दानीका अन्य स्रोतलाई अवलम्बन गर्ने हो भने राम्रो काम गरेर पनि परिवारका आवश्यकताहरु पूरा गर्न सकिने बताए ।
मदिरा नष्ट गर्ने कार्यक्रममा प्रहरी नायव निरीक्षक पूर्णिमा थापा, कुस्मा नगरपालिका –६ का वडाध्यक्ष रुद्र गिरी, समाजसेवी मानकुमारी गिरी, पत्रकार लगायतकोसमेत सहभागिता रहेको थियो ।