काठमाडौं । राजधानीबाट आइतबार प्रकाशित विभिन्न पत्रपत्रिकाले कोरोना भाइरस फैलिने बहानामा कालोबजारी बढेको विषयलाई प्रमुख समाचार बनाएका छन् । यसैगरी पत्रपत्रिकाहरुले आज परेको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भलाई जोडेर विभिन्न शीर्षकका समाचारसमेत छापेका छन् ।
शुक्रबार जनता समाचार डट कम मा सुशासन र अपेक्षित विकासका लागि सामञ्जस्यता, इटलीमा १ करोड ६० लाख मानिस क्वारेण्टाइनमा, ट्रक र स्कुटी ठोक्किँदा श्रीमानको मृत्यु, श्रीमती र छोरी गम्भीर घाइते, ग्रुप प्याटर्नमा बाल विकासलाई स्वर्ण, सरकार असफल भए विदेशी हस्तक्षेप वा प्रतिगमनको खतरा, बागमती सरकारले थाल्यो भीमफेदी–कुलेखानी सुरुङमार्गको गृहकार्य र राप्रपा एकीकरण, घोषणा फागुन २८ मा हुने लगायतका शीर्षकमा समाचार प्रकाशन गरिए ।
नागरिक दैनिक मा ‘कोरोना बहानामा कालोबजारी’ शीर्षकमा प्रमुख समाचार छ । समाचार अनुसार विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नेपालमा पनि फैलनसक्ने भन्दै व्यापारीहरुले कालोबजारी शुरु गरेका छन् । यही मौकामा बिक्रेताले मास्क, सेनिटाइजर, पन्जाको मूल्यवृद्दि र कालोबजारी गरिरहेका छन् । १० रुपैयाँ पर्ने मासकलाई चार सय रुपैयाँसम्म लिने गरेको पाइएको छ । प्रिया ट्रेडसले एक सय १)० रुपैयाँ पर्ने सेनिटाइजर तीन सय रुपैयाँमा बेचेको फेला पारेपछि महानगरीय प्रहरी वृत्त जनसेवा न्युरोडको टोलीले सञ्चालक अनिल गुप्तालाई नियन्त्रणमा लिएको छ । खरिद महँगो भएपछि धेरै मूल्यमा बिक्री गर्नु स्वभाविक भएपनि माग बढ्नासाथ व्यापारीहरु दोब्बर तेब्बर मूल्य लिएर सामान बिक्री गर्न थालिरहेको समाचारमा उल्लेख छ ।
नेपाल प्रहरीका लत्ताकपडा खरिदमा अनियमितता भएको समाचारलाई पनि पत्रिकाले प्रथम पृष्ठमा राखेको छ । समाचार अनुसार प्रहरीले लगाउने लुगाको नमुना परीक्षणमै सेटिङ गरिएको पाइएको छ । स्रोतका अनुसार लत्ताकपडा खरिद टेन्डरमा पाँचजना व्यापारीको सिन्डिकेट चल्दै आएको छ । व्यापारी पीताम्बर मुन्का, रितेश अग्वाल, वीरेन्द्र जोशी, टोपेन्द्र बिसी र ज्ञानेन्द्र बस्नेतले सबै ठेक्कामा बेग्लाबेग्लै नाममा टेन्डरमा भाग लिने गरेका छन् ।
कान्तिपुर दैनिक मा कोरोना भाइरसको सम्भावित जोखिमसँग बँच्न अस्पतालले गरिरहेको तयारीबारे मुख्य समाचार छापेको छ । समाचारमा लेखिएअनुसार, अस्पतालहरूको कोरोना उपचारको तयारी किनै फितलो छ । कोरोना संक्रमितलाई आईसीयू तयार पार्न सरकारले निर्देशन दिए पनि अस्पतालहरूले अझैसम्म कार्यान्वयन नगरेको समाचारमा उल्लेख छ ।
कान्तिपुरका अनुसार देशकै एकमात्र सरुवा रोग अस्पतालमा तीनवटा आईसीयू बेड मात्रै छन् । अधिकांश अस्पतालले आम बिरामीलाई नै बेड अभाव रहेको भन्दै आइसोलेसन वार्ड र भेन्टिलेटरसहितको आईसीयू बेड व्यवस्थापन गर्न मानिरहेका छैनन् ।
गोरखापत्र दैनिक ले ‘सीमामा स्वास्थ्य डेस्क’ शीर्षकको समाचारलाई प्राथमिकता दिएको छ । कोरोना भाइरसको पूर्वतयारी स्वरुप प्रदेश १ का चारवटा सीमानाकामा स्वास्थ्य डेस्क व्यवस्थित गरेको छ । विराटनगरको रानी, इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा र भद्पुर नाकामा स्वास्थ्य डेस्क राखिएको हो । नाकाहरमा अनमीसहितको प्रबन्ध गरिएको बताइएको छ । सीमा नाका भएर नेपाल प्रवेश गर्ने स्वास्थ्य परीक्षणपछि शंकास्पद देखिएमा तत्कालै एम्बुलेन्समा राखेर विराटनगर ल्याउने प्रबन्ध मिलाइएको समेत पत्रिकामा उल्लेख छ ।