बन्दना पोखरेल रामपुर पाल्पा । गरे आखिर के हुदैन ? कालो माटोभित्रै भेटिन्छ पहेलो सुन । कृषि र पशुपालनबाट पनि कमाउन सकिन्छ प्रशस्तै धन । त्यसको उदाहरण बनेका छन्, निस्दी गाउँपालिका वडा नम्बर ५, गल्धा ढुंगानावेशीका २९ वर्षीय सुरेश बयम्बु । बाल्यकाल देखि नै जीवनमा केही त गर्नैपर्छ भन्ने भावना थियो बयम्बुमा ।
पैसा कमाउने सपना बोकेर उनी विदेश समेत चाहारे । केही वर्षको विदेश बसाईपछि उनी अहिले गाउँमै रमेका छन्, त्यो पनि कुखुरासँग । उनीसँगै विदेशिएका केही साथीभाइ अहिलेसम्म उतै छन् । बयम्बु भने गाउँमै आफ्नो पाखुरी बजारीहिेका छन् । विदेशबाट फर्किएपछि उनले कुखुराका् खोर बनाए । त्यसमा अहिले करिब ७ सय लोकल कुखुरा पालेका छन् ।
कुखुरामा ४ लाख रुपैयाँ लगानी गरेको उनले बताए । ‘पैसा त विदेशमा पनि हुन्थ्यो तर फुर्सद नै नहुने, जिन्दगी नै मेशिन जस्तो’ उनी भन्छन्, ‘ अर्काको देशमा बगाउने पसिना बगाउनु भन्दा यही राम्रो होला भनेर लोककल कुखुरा पाल्ने थालेको हुँ । यहाँ भए चाडवाडमा परिवारसगैं भइने । इष्टमित्रसँग पनि भेटघाट भइरहे ।’ लोकल कुखुरा खोरबाटै प्रतिकिलो ६ सय रुपैयाँका दरले विक्री हुने गरेको छ । मासुबजारमा पछिल्लो समय बोइलर भन्दा लोकल कुखुराको माग बढी छ । त्यसले बयम्बु आफूले अपनाएको पेशाप्रति सन्तुष्ट छन् ।
‘पहिले पहिले घरघरमा लोकल कुखुरा पालन हुन्थ्यो, अहिले घरघरमा बोइलर कुखुरा हुन थाल्यो’ उनी भन्छन्, ‘गाउँमा पछिल्लो समय लोकल कुखुरा कम हुन थाल्यो । यसको महत्व समे बढ्न थाल्यो । त्यही कारण मैले लोकल कुखुरा पाल्न शुरु गरेँ । लोकल कुखुराबाट वार्षिक ५ लाख रूपैयाँ भन्दा बढी कमाउने बयम्बुको लक्ष्य छ । बयम्बु विदेशबाट फर्किर कुखुरा पालेर घरमै बस्न थालेपछि उनको पत्नी तेजकुमारी खुशी छिन् । पतिले अपनाएको पेशामा उनले पति सघाउँदै आएकी छन् । ‘मरे पनि बाचेँ पनि, खाए पनि नखाए रहन र दुखसुख बाँड्न पाउदाँ खुशी लागेको छ’ उनी भन्छिन् ।
कुखुरा खपतको लागि बयम्बुले मासु पसल समेत खोलेका छन् । उनको मासु पसल निस्दी ५ ढुगांनाबेशीमै छ । रामपुर बजार, बेलडाडा बजार आरुङ्गखोला लगायतका बासिन्दा मासुको लागि उनकै पसलमा आउने गरेका छन् ।