भगीरथ भण्डारी इलाम । वर्तमान सरकार 'समृद्ध नेपाल र सुखी नेपाली' को नारा लिएर दिगो विकासको लक्ष्यमा अघि बढीरहेको छ । तर स्थानीय सरकारले भने नगरपालिकाले छुट्याएको बजेट के गर्ने ? भन्नबारे योजना नै बनाउन नसकेर अन्यौलता देखिएको छ । आर्थिक वर्ष शुरु भएको आठ महिना बितिसक्दा पनि वडाहरूले योजना बनाउन नसक्दा पहिलेकै असारे विकासको बेथितिको झल्को देखिन थालेको हो, इलाम नगरपालिकामा । नगरपालिकाको प्रत्येक वडामा यस आर्थिक वर्षमा कृषिका लागि मात्रै छुट्याएको बजेटको १० लाख मात्र खर्च भएको पाइएको हो । कृषिका लागि मात्रै भनेर इलाम नगरपालिकाले यस आर्थिक वर्षमा १२ वडामा ६० लाख बजेट छुट्याएको थियो । ६० लाख बजेटमध्ये जम्माजम्मी १० लाख मात्रै खर्च गरिएको पाइएको हो ।
रकम कार्यान्वनका लागि यहाँका कतिपय वडाले त योजना नै बनाउन सकेका छैनन् । नगरपालिकाका प्रत्येक वडामा ५ लाखका दरले छुट्याएको बजेट आठ महिना बित्दा पनि अहिले सम्म अधिकांश वडाले के गर्ने ? भन्ने योजना नै बनाउन नसेकोको पाइएको हो । यसरी समयमै कामको योजना निर्माण गर्न नसक्दा आर्थिक वर्षको अन्त्यमा मात्र हतार हतारमा काम सक्ने प्रवृति जनप्रतिनिधिमा मौलाउने खतरा कायमै छ । नगरपालिकाको ६० लाख कृषि बजेटमध्ये केही वडाले योजनाबद्द रुपमा काम गरेका देखिएपनि अधिकांश वडा भने कसरी काम गर्ने भन्ने सन्दर्भमा रनभुल्लमा परेका छन् ।
किसानको आर्थिक उन्नयनका लागि छुट्याइएको बजेटको जम्मा चार वडाले कार्यान्वयन गरेका छन् । यसरी काम शुरु गर्ने इलाम नगरपालिकाका वडाहरमा १,३,९ र १२ वडा छन् । अन्य कनै पनि वडाले अझैसम्म काम शुरु गर्ने कुनै छाँटकाँट नै देखाएका छैनन् ।
नगरपालिकाको कृषि शाखाका अनुसार वडानम्बर १ ले तरकारी बालीकालागि २ लाख ५० हजार खर्च गरिसकेको छ भने बाँकी रकम उन्नत घरपालुवा पशु व्यवसायको क्षेत्रमा लगानी गर्ने योजना बनाएको छ । १ नम्बर वडाले दुई लाख ५० हजार बराबरको लेकमा हुने नगदे बाली अन्तर्गत आलू, मकै र गहुँको बिउ खरिद गरेर वितरणसमेत गरिसकेको छ ।
त्यस्तै, वडानम्बर ३ ले पनि बेमौसमी तरकारी खेतिका लागी बिउ वितरण गरेको छ । आफ्नो वडामा जुनसुकै समयमा पनि तरकारी उत्पादन गर्न र किसानलाई आत्मनिर्भर बनाउन बेमौसमी तरकारीको बिउ वितरण गर्ने उदेश्य वडाले राखेको छ । उन्नत जातको बन्दागोपी, काउली र मूलाको बिउ वितरण गरेको छ भने किसानलाई बिउ नर्सरीका लागि १० मिटरसम्म प्लास्टिक उपलब्ध गराएको छ । बिउ वितरण गरेर पनि नर्सरिका बिरुवा रोप्ने बेला भइसकेको नगरको कृषि शाखाका कर्मचारी उपेन्द्र नेपालले जानकारी दिए ।
उता वडानम्बर ९ ले १ लाख ५० हजार बराबरको मकै र सिमी, बोडीको बिउ वितरण गरेको छ भने अन्य रकमबाट बाँदर व्यवस्थापन र कृषिसँग सम्बन्धित तालिम सञ्चालन शुरु गरेको छ । १२ नम्बर वडाले पनि आफ्ना बेमौसमी तरकारी खेती, उन्नत जातका बोका वितरण र मौरी पालनका लागी तालिम सञ्चालन गरिरहेको नगरपालिकाको कृषि शाखाले जनाएको छ ।
शाखाका कर्मचारी नेपालका अनुसार ७ नम्बर वडाले आयआर्जनको तलिम गर्ने भने पनि अहिलेसम्म शुरु गरेको छैन् । ८ नम्बर वडाले पनि बजेटको २ लाख ५० हजार आफ्नो वडामा रहेको इलामेली कृषि तथा पशुपन्छी पालन समूहलाई सहयोग गर्ने निर्णय गरेपनि कार्र्यान्वयनमा लिएको छैन् । यसैगरी अन्य २,४, ५, ६, १० तथा ११ नम्बर वडाले के गर्ने भन्ने योजना शाखामा अहिलेसम्म बुझाउन नसकेको नेपालको भनाइ छ । उनका अनुसार ‘बाँकि वडाले पनि काम चाँहि गर्ने भनेर प्रतिबद्दता जनाउका छन् तर यस्तो काम गर्छौ भनेर योजना भने दिन सकेका छैनन् ।’
तर वडानम्बर ५ का अध्यक्षसमेत रहेका नगर प्रवक्ता ठाकुरनारायण श्रेष्ठ भने यसै वर्षको बजेट भएकोले कार्यक्रम बनाउने बेला आएको बताउँछन् । । ‘नगरपालिकाको यस बजेटमा सबै वडाले एकै खालका कार्यक्रम गर्नुपर्छ भन्ने छैन, कुनै वडाले बिउ भिजन वितरण गर्छन भने कुनैले सेमिनार वा तालिम पनि सञ्चालन गर्न सक्छन तर वडामा काम भने हुन्छ’ श्रेष्ठले भने । नगरपालिकाले कृषि विकासका लागि विनियोजन बजेट यसै वर्ष कार्यन्वयन हुने उहााको भनाइ छ ।
यसरी सम्बन्धित क्षेत्रको विकासका लागि छुट्याइएको बजेट समयमै कार्यान्वयन हुन नसक्नाले कुनै समय कृषिमा आत्मनिर्भर कहलिएको इलाम विस्तारै परनिर्भतातिर धकेलिन थालेको सहजै अनुमान गर्न सकिन्छ । कृषि उत्पादनमा अग्रणी मानिने इलाम इलाम हाल तरकारीमा पर निर्भर देखिनुका पछाडी सरकारी निकायको नेतृत्वमा रहेकाहरुको लापरवाही मुख्य कारण देखिने गरेको छ ।
बाहृय जिल्ला आयात बढ्दो
पहिले पहिले आफ्नै जिल्लामा उत्पादन गरेर तराईका मुख्य बजारदेखि भारतसम्म निकासी गर्ने इलाममा पछिल्लो समय बाहृय जिल्लाबाट बढी मात्रामा तरकारी आयात भइरहेको छ ।
खासगरी इलाममा उत्पादन भएको टमाटर, काउली, मूला, रायो साग, स्कुस, खुर्सानी लगायतका तरकारी झापादेखि भारतका विभिन्न ठाउँसम्म बिक्री हुने गरिन्थ्यो तर अहिले भने यिनै तरकारीहरु भारतको सिलिगुडी लगायतका स्थानबाट खरिद गर्नुपर्ने इलामका होटेल व्यवसायीहरुको बाध्यता बनेको छ ।
इलाम चोक बजारको ट्याक्सी स्टेशन लाइनमा विगत १५ वर्षदेखि तरकारीको व्यापार गरिरहेकी प्रतिमा परियार जिल्लामै प्रशस्त तरकारी नपाउनाले अन्यन्त्रबाट ल्याएर भउपनि बेच्नुपर्ने बाध्यता रहेको बताउँछिन् । परियार भन्छिन्, ‘अहिले थोर मात्रामा जिल्लाको तरकारी आएपनि धेरैजसो जिल्ला बाहिरकै तरकारी आउने गरेको छ ।’ आफ्नै जिल्लामा प्रशस्त तरकारी उत्पादन हुने हो भने बाहृय जिल्लाबाट तरकारी खरिद गर्नुपर्ने बाध्यता हट्ने व्यापारीहरुको भनाइ छ ।