बसन्त लिम्बू ताप्लेजुङ । चीनको तिब्बतसँग सिमाना जोडिएको ताप्लेजुङमा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण भित्रिन नदिन विशेष तयारी थालिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार सुकेटार विमानस्थलमा 'हेल्प डेस्क' स्थापना गरेर विशेष सर्तकता अपनाउन थालिएको हो ।
बुधबार प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले हवाई सेवा सञ्चालन हुने साताको चारै दिन विमानस्थलमा 'हेल्प डेस्क' राख्ने निर्णय गरेको बैठकमा सहभागी फुङलिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेलले जानकारी दिनुभयो । विमानस्थलमा 'डेस्क' स्थापनाका लागि सहरी स्वास्थ्य केन्द्र सुकेटार मार्फत स्वास्थ्यकर्मी खटाइने पनि उहाँले बताउनु भयो ।
त्यस्तै सरोकारवालाहरूको बैठकले वैशाख १५ गते तिब्बतसँगको नाका ओलाङ्चुङगोलामा स्वास्थ्य जाँच केन्द्र स्थापना गर्ने, सार्वजनिक यातायातका साधनमा विशेष प्रकारको डस्बिन (क्लोज डस्बिन) को व्यवस्था गर्ने, सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा ‘ह्याण्ड स्यानिटाईजर’ को व्यवस्था गर्ने लगायतका निर्णय गरेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको भनाइ छ ।
निरौलाका अनुसार सबै स्थानिय तहमा कोरोना संक्रमणको सुचना संकलनका लागि संयन्त्र निर्माण गर्ने, जिल्ला अस्पताल ताप्लेजुङमा उपचारका लागि आउने मौसमी फ्लूका बिरामीलाई विशेष निगरानीमा राख्नेसमेत निर्णय गरिएको छ ।
निरौलाले विश्वका विभिन्न देशमा फैलिरहेको कोराना संक्रमणका विषयमा सबै नागरिकलाई सामान्य भएपनि जानकारी भएको बताउँदै यो संक्रमणबाट बच्नको लागि स्वयम् आफ्नो व्यवहारमा परिर्वतन ल्याउन जिल्लाबासीलाई आग्रहसमेत गर्नुभएको छ ।
चीनको तिब्बतसँग सिमाना जोडिएको ओलाङ्चुङगोलाबाट तत्काल संक्रमण फैलने जोखिम नरहेको बैठकले निश्कर्ष निकालेको छ । अहिले यो नाका प्राकृतिक कारणले बन्द भएकाले तत्काल जोखिम नरहेको ओलाङ्चुङगोलाका वडाध्यक्ष छेतेन शेर्पाले बताएका छन् ।
५६ घरपरिवार बसोबास गर्ने ओलाङ्चुङगोला नाका आफ्नो मुलुकमा संक्रमण फैलिएपछि चीनले महिना दिनअघि नै बन्द गरिसकेको छ ।