सन्नी उल्ला धोवी कपिलवस्तु । जिल्ल्लामा केराउ तस्करी विगतका केही महिनाभन्दा झन बढ्दै गएको छ । नेपालबाट दिनहुँ तस्करले सयौँ क्वीन्टल केराउ खुलेआम तस्करी गरिरहेका छन् । दैनिकजसो स्थानिय तस्करले नेपालमा गोदाम राखेर प्रहरीसँगै मिलेमतो गरी तस्करी गर्ने गरेको पाइन्छ ।
कृष्णनगरबाट केराउ ओसारपसारमा महिला, बालबालिका वृद्धवृद्धा बढी संलग्न हुने गरेको पाइएको छ । व्यापारीले यस्ता मानिसलाई तस्करीका लागि एकपटक १ सय देखि १ सय ५० रुपैयाँ दिने गरेको खुलेको छ । तस्करले कृष्णनगर आसपासका क्षेत्रमा गोदाम नै राखेर तस्करी गर्ने गरेको स्थानीय बताउँछन् ।
स्थानीय भन्छन्, ‘प्रहरीलाई गोदामबारे थाहा छ, प्रहरी आएर यतै वरिपरि घुम्छन् र निष्किन्छन, कुनै वास्ता गर्दैनन् ।’ स्थानीयका अनुसार तस्करले साइकल, मोटरसाइकल र अटो रिक्सामा बोकेर सामान ल्याउने गर्दछन्। कृष्णनगर नगरपालिकाका विभिन्न नाका हुँदै तस्करले अनुदानको मटर भारतमा लैजाने गरेका छन् ।
गएको महिनामा इलाका प्रहरी कार्यालय गणेशपुरले यसै नगरपालिकाको छिमेकी गाउँपालिकाको सिमाना क्षेत्रबाट १५ क्वीन्टल केराउको दाल बरामद गरेको थियो । तर प्रहरीको बेवास्ताका कारण यो क्षेत्रमा अहिले पनि खुलेयाम तस्करी हुने गरेको छ। व्यापारीले प्रहरीलाई महिनावारी बुझाएर तस्करी गराउने गरेको स्रोतको दाबी छ ।
हाल कृष्णनगरका विभिन्न नाका हुँदै तस्करी भइरहेको छ । कृष्णनगरको सीमाक्षेत्र भारतसँग जोडिएको र खुल्ला सिमाना भएकाले तस्करलाई चोरी निकासी गर्न सहज छ । विगत केही महिनादेखि केराउको दाल महँगो भएपछि तस्करले मौका छोपी चोरी निकासीमा संलग्न भएको तथ्य बाहिर खुलेको हो ।
नेपालमा बङ्गलादेशबाट अनुदानमा आउने दाल प्रतिकिलो रुपैयाँ ६५ मा बिक्री हुने गरेको छ । आजभोली दाल भारतीय बजारमा ८० रुपैयाँमा बिक्री भएकोले नेपालमै सस्तो पर्ने गरेकोले तस्कर सक्रिय बनेका हुन् । नगरपालिकाको भगवानपुर, बेदमऊ, सोनवर्षा र सिर्सिहवा नाका हुँदै तस्करले पायक पर्ने ठाउँबाट भारत निर्यात गरिरहेका छन् ।
कृष्णनगर इलाका प्रहरी कार्यालयको मातहतमा रहेको प्रहरी चौकी बेदमऊ र सिर्सिहवा नजिकैबाट खुलेयाम तस्करले मटर तस्करी गर्दा पनि प्रहरी बेखबर जस्तै बनेको छ । यसरी प्रहरीकै अगाडीबाट तस्करी हुनुले प्रहरीकै मिलेमतोमा तस्करी भइरहेको पुष्टि हुन्छ । ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले भने खुल्ला सिमाना भएका कारण तस्करी हुने गरेको हल्का जवाफ दिएका छन् ।
उनले कहिलेकाहीँ तस्करहरु पक्राउ हुने गरेको बताए पनि तस्करहरुले हप्तामा तिन देखि ५ ट्रक मटर आयात गरी तस्करी गर्ने गरेको स्थानीयको दाबी छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिप शमशेर जबराले यस बारेमा तथ्य बुझेर छिट्टै नियन्त्रण गरिने बताएका छन् ।