प्रतिक पौडेलभैरहवा। सिद्दार्थनगर नगरपालिकाले १५ वर्षे रणनीतिक योजनाबारे छलफल शुरु गरेको छ । भैरहवाको एकीकृत विकासको योजना बनाउन नगरपालिकाले छलफल शुरु गरेको हो । नगरपालिकाको आर्थिक, भौतिक, शिक्षा, स्वास्थ्य तथा कृषि लगायतका क्षेत्रमा दीर्घकालीन योजना बनाउने उद्देश्यले छलफल आयोजना गरिएको नगरपालिकाका कार्यकारी अधिकृत तुल्सीप्रसाद मरासिनिले बताए ।
बिहीबार र शुक्रबार गरी दुई दिनसम्म चल्ने छलफलमा सिदार्थनगरको दिर्घकालीन विकासका लागि नगरका विभिन्न संघ/संस्था तथा तिनका प्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिलगायतको सहभागिता रहने जनाइएको छ । सिद्दार्थनगर नगरपालिकाले यसअघि पनि एकीकृत विकास योजना निर्माण सम्बन्धी छलफल गरेको थियो ।
यस अघिका छलफलका उपलब्धिका रुपमा नगरपालिकाले हाल सम्पन्न गरेका एकीकृत शहरी विकास आयोजना र क्षेत्रिय सहरी विकास आयोजना लगायतलाई लिइएको छ । यी योजना सम्पन्न भएपछि सिद्दार्थनगरको कृषि, पर्यटन, पुर्वाधार लगायतको अवस्थाबारे पहिचान गर्नसमेत छलफलको आयोजना गरिएको बताइएको छ ।
विभिन्न योजनाहरु सम्पन्न गर्न नगरपालिकाले राष्ट्र्रिय योजना आयोग समक्ष सहयोग मागेअनुरुप आयोगले ३ महिनाका लागि जनशक्ति उपलब्ध गराएको छ । आयोजित छलफलबाट ५ वर्षे र १५ वर्षे दीर्घकालीन योजना सार्वजनिक गर्ने नगरपालिकाको तयारी छ ।
छलफलमा नगरपालिकाले भैरहवा सहरको विकासको लागि साढे १३ अर्बभन्दा बढिको योजना सार्वजनिक गरेको छ । त्यस्तै शहरको एकीकृत विकास गर्न करिब ३ अर्ब ५४ करोड भन्दा बढिको योजना अघि बढाएको हो ।
१५ वर्षे योजनामा नगरपालिकाले शहरको सबैभन्दा बढी डण्डा कोरिडोर निर्माणमा ५ अर्ब २४ करोड भन्दा बढिको योजना बनाएको छ । यस्तै सडक निर्माणमा ४ अर्ब १५ करोड भन्दा बढिको योजना सार्वजनिक गरेको छ । मोनोरेलको लागी संभाव्यता अध्ययन पनि अघि बढाउने र २ वर्षभित्र संभाव्यता अध्ययन सक्नेगरि मोनोरेल सञ्चालनका लागि १ करोडको योजना अघि सारेको छ ।
यसैगरी नगरपालिकाले बसपार्क निर्माण गर्न १४ करोड, पानी र सिंचाइमा ७५ करोड, विद्युत् तथा सञ्चारमा १४ करोड, ढल निकासीमा १ अर्ब ५९ करोड, फोहर व्यवस्थापनमा २० करोड, आवास क्षेत्रमा ४९ करोड, पंचवाटिका पार्क निर्माणमा ६९ करोड, भैरहवा गेट निर्माणमा ६ करोड, सामुदायिक कृषी विकास योजनाको लागी ३६ करोड, सिद्धार्थ क्रिकेट रंगशाला निर्माणका लागि २५ करोड, सामाजिक विकासमा शिक्षाको लागी २३ करोड र स्वास्थ्यमा ८१ करोडका योजना सार्वजनिक गरेको छ ।
छलफल कार्यक्रममा संविधानसभा सदस्य आदित्यनारायण कसौधन, मेयर हरिप्रसाद अधिकारी, उपमेयर उमा काफ्लेलगायत रहनु भएको थियो भने देव ज्ञवालीले सहजीकरण गर्नुभएकाे थियाे ।