रुपन्देही । कृषि तथा पशुपंक्षी मन्त्री घनश्याम भुसालले तिलोत्तमा नगरपालिकालाई मुलुककै पहिलो शून्य प्लास्टिक नगरपालिका घोषणा गर्नुभएको छ । शुक्रबार नगर कार्यालयमा आयोजित एक समारोहमा मन्त्री भुसालले तिलोत्तमा नगरलाई नेपालकै पहिलो शून्य प्लास्टिक मुक्त तथा पूर्ण सरसफाइ उन्मुख नगरपालिका घोषणा गर्नुभएको हो ।
जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति रुपन्देहीले खुला प्लास्टिक शून्य अवस्था र पुर्ण सरसफाइका सुचक पूरा गरेसँगै तिलोत्तमालाई खुला प्लास्टिक शुन्य र पूर्ण सरसफाई उन्मुख नगरपालिका घोषणा भएको प्रमाणपत्रसमेत प्रदान गरेको छ ।
नगरपालिकालाई शून्य प्लास्टिक तथा पूर्ण सरसफाइ उन्मुख भएको घोषणा गर्दे मन्त्री भुसालले नेपालमा तिलोत्तमाबाट सरसफाइको इतिहासमा नयाँ काम सुरु भएको बताउँदै शून्य प्लास्टिक अभियान नागरिकको दायित्वबोधसँग जोडिएको उल्लेख गर्नुभयो। उहाँले यो अभियान सुरु गरेकोमा तिलोत्तमावासीले खुसी मान्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले तिलोत्तमाबाट सुरु भएको शून्य प्लास्टिक अभियान राष्ट्रव्यापी हुने विश्वास गर्दै यो घोषणा ऐतिहासिक रहेको धारणा राख्नुभयो ।
तिलोत्तमालाई प्लास्टिकमुक्त बनाउन विभिन्न सार्वजनिक स्थान, घर र पसलमा डस्टविन राखिएको छ । नगरका सार्वजनिक स्थानमा कम्तीमा १ हजार डस्टविन राख्ने नगरपालिकाको योजना रहेको छ । नगरमा फोहोर संकलन कार्यसँगै संकलित फोहोर व्यवस्थापन गर्न जनसहभागिता र र सहकारी मिलेर प्रशोधन केन्द्र समेत सञ्चालनमा ल्याइएको छ ।
बालबालिबालाई प्लास्टिकजन्य सामग्रीका असरबारे सचेत गराउन स्थानीय पाठ्यक्रममा पनि यो विषयलाई समेटिएको नगर प्रमुख बासुदेब घिमिरेले जानकारी दिनुभयो ।