फाइल तस्बीरसनिउल्ला धोबी कपिलवस्तु । यहाँको महाराजगंज नगरपालिकाबाट एक वर्षको अवधीमा १ सय ४३ अपाङ्गता भएका व्यक्तिले अपाङ्गता परिचयपत्र लिएका छन् । नगरपालिकाले २०७५ को माघमा अपाङ्गता भएका व्यक्तीको परिचय पत्र वितरण कार्यविधी २०७५ लागु गरेपछी नगरस्तरबाटै परिचय पत्र वितरण शुरु गरिएको हो ।
कार्यविधि लागु भएपछी एक महिनाको अवधीमा १ सय ४३ अपाङ्गता परिचय पत्र वितरण गरिएको नगरपालिकाको महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख विन्दवासिनी चौधरीले बताउनुभयो। ‘महाराजगंज नगरपालिकाबाट पूर्ण अपाङ्गतामा (क) वर्गमा १४,् (ख) वर्ग अति अशक्तमा ८७, (ग) वर्ग मध्यम अपाङ्गतामा ३४ तथा साधारण अपाङ्गता (घ) वर्गमा ८ जनाले परिचयपत्र लिएका छन’, उहाँले भन्नुभयो ।
अपाङ्गता परिचयपत्र वितरणका लागि नगरपालिका उप प्रमुख शुभवती कुर्मीको संयोजकत्वमा स्थानीय अपाङ्गता समन्वय समिति गठन पछि अपाङ्गता भएका व्यक्तिको तथ्याङ्क सङ्कलनको काम अघि बढेको छ । सबै वडामा तथ्यांक संकलन गर्ने काम शुरु भएको स्थानिय अपाङ्गता समन्वय समिति संयोजक शुभवती कुर्मीको भनाइ छ ।
प्रत्येक महिनाको १५ गते समितिको नियमित बैठक बसी परिचय पत्र वितरण गर्ने गरिएको छ । परिचयपत्रले अपाङ्गता भएका व्यक्तिलाई यातायात, अस्पताल र हवाइमार्गमा छुटको सुविधा दिलाउन सहयोग पुग्ने गरेको छ ।
परिचयपत्र लिन आउने व्यक्तिले अनिवार्य रूपमा सम्बन्धित वडा कार्यालयको सिफारिस, तस्वीर टाँसेको निवेदन, उमेर पुगेको हकमा प्रमाणका लागि नागरिकता र उमेर नपुगेको हकमा जन्म दर्ता, बसाइँसराइ गरेको भए सोको पत्र, अस्पष्ट अपाङ्गता भएकाको हकमा अस्पतालको पत्र ल्याउनुपर्ने नगरपालिकाले प्रावधान बनाएको छ ।
नेपालमा अपाङ्गतालाई चार प्रकारमा वर्गीकरण गरी १० भागमा विभाजन गरिएको छ । शारीरिक, दृष्टिसम्बन्धी, सुनाइ सम्बन्धी, श्रवण दृष्टि विहीन, स्वर तथा बोलाई मानसिक वा मनोसामाजिक, बौद्धिक अपाङ्गता, हेमोफेलिया र बहुअपाङ्गता भएका व्यक्तिले अपाङ्गताको परिचयपत्र पाउनेछन् ।