मिना बुढाथोकी सल्यान । कोरोना भाइरसको सम्भावित संक्रमणलाई राक्न विश्वभर लाई नै त्रसित बनाइरहेको कोरोना भाइरसको सम्भावित जोखिमबाट जिल्लाको बढी आवतजावत हुने कपुरकोट नाकामा स्वास्थ्य सहायकता कक्ष स्थापना गरिएको छ । केही दिन अघि कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रीता भण्डारी सहितको टोलि कपुरकोट पुगेर ‘हेल्थ डेस्क’ स्थापना गरेको हो । यसरी ‘हेल्थ डेस्क’ राखिएपनि आवश्यक जनशक्ती र अत्यावश्यक सामाग्रीको अभाव हुँदा सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ ।
हेल्थ डेस्कमा बाहिरी जिल्लाबाट सल्यान भित्रिने सार्वजनिक यातायातमा आउने यात्रुलाई झारेर कपुरकोट चेक जाँच गर्ने गरिएको छ । तर आवश्यक जनशक्ति नभएकाले दिउँसोको समयमा मात्रै स्वास्थ्य जाँच गरिँदै आइएकोमा रातको समयमा जिल्ला भित्रिने सवारी साधनमा जोखिमको सम्भावना बढेको स्वास्थ्यकर्मी पवित्रा घर्तीले बताइन् ।
भारतबाट आउने नेपालीहरुमा कोरोना भाइरस आउन सक्ने जोखिम देखिएकाले नाकामा ‘हेल्थ डेस्क’ स्थापना गरिएको छ । हेल्थ डेस्क स्थापना भएपछि निशुल्क रुपमा ज्वरो जाँच गर्न पाएकोमा आफूलाई खुसी लागेको यात्रु विजय आचार्य र बुद्दिराम शिरिसले बताए ।
कपुरकोटको हेल्थ डेस्कमा बिहान ७ बजेदेखी साँझ ७ बजेसम्म ३ जना कर्मचारी खटिएर चेकजाँच गर्ने गर्छन् । कर्मचारी अभावमा चौबिसै घण्टा यात्रुको स्वास्थ्य जाँच गर्न भने समस्या आएको कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेन बताउनुहुन्छ ।
कपुरकोटस्थित प्रहरी ‘चेक प्वाइन्ट’ नजिकै हेल्थ डेस्क स्थापना गरिएको छ । तत्कालका लागि दुई वटा मात्रै ज्वरो नाप्ने यन्त्र राखिएका छन् । जिल्लामा मास्क, स्यानिटाइजर, एप्रोन र ग्लोब्सजस्ता सामग्रीको अभावका कारण पनि सेवा प्रवाहमा समस्या देखिएको सल्यान अस्पतालले जनाएको छ । महामारी तथा प्रकोप व्यवस्थापन कार्यक्रम फोकल पर्सन रिखराम पुनका अनुसार जिल्लामा कोरोना भाइरस भित्रिन नदिन विभिन्न उपायहरु अपनाइएको जानकारी दिए ।
जिल्लाका सबै स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, प्रहरी, स्वास्थ्य कार्यालय, पत्रकार र सरोकारवालाहरुले कोरोना भाइरससम्बन्धी सचेतना मुलक जानकारी दिने, सरसफाइमा ध्यान दिने र साबुन पानीले हात धुने लगायतका विषयमा नागरिकस्तरमा प्रचार प्रसार गरिरहेका छन् ।