कास्की । कोरोना भाइरस संक्रमणबाट सतर्कता अपनाउन गण्डकी प्रदेशअन्तर्गत विभिन्न जिल्लाका अस्पतालमा १ सय ११ आइसोलेसन बेड तयारी अवस्थामा राखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार कोरोना भाइरस संक्रमण पुष्टि भएमा बिरामीको उपचारका लागि प्रदेशका विभिन्न जिल्लाका सरकारी तथा निजी अस्पतालमा विशेष सुविधासहितको आइसोलेसन कक्ष तयार गरिएको हो ।
गण्डकी प्रदेशको सबैभन्दा ठूलो अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा दश श्ययाको आइसोलेसन कक्ष तयार गरिएको छ । मणिपाल शिक्षण अस्पतालमा १५, गण्डकी मेडिकल कलेजमा १५, चरक मेमोरियलमा ३० र जीपी कोइराला स्वासप्रस्वास केन्द्र तनहुँमा ३० श्ययाको आइसोलेसन कक्ष तयारी अवस्थामा राखिएको निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
प्रदेशका ५० शैयाभन्दा बढीका सबै सरकारी तथा निजी अस्पताललाई आफ्नै बजेट, स्रोतमा कम्तीमा पाँच शैयाको आइसोलेसन कक्ष स्थापनाका लागि कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि गठन गरिएको प्रदेशको उच्चस्तरीय निर्देशक समितिले गत साता निर्देशन दिएको थियो । स्याङ्जा मा चार तथा पर्वतमा तीन, धौलागिरी अञ्चल अस्पताल बागलुङमा चार शैयाको आइसोलेन कक्ष तयार गरिएको उहाँले जानकारी दिनुभयो । लमजुङ, नवलपुर, जोमसोम, बागलुङका केही निजी अस्पतालमा समेत एक,दुई वटाका दरले शैया तयार गरिएको बताइन्छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले कोरोना सङ्क्रमित भएको प्रमाणित भएका बिरामीलाई उपचारका लागि विशेष व्यवस्थासहितको कक्ष र चिकित्सक तयारी अवस्थामा राखिएको बताउनुभयो । ‘कोरोनाविरुद्ध पूर्वसावधानी अपनाउँदै संक्रमितलाई विशेष प्रकारले उपचारका लागि छुट्टै कक्षको व्यवस्था गरेका छौँ’ उहाँले भन्नुभयो, ‘गण्डकी प्रदेशका कोही पनि संक्रमितभएको पाइएको छैन । आवश्यक परेमा श्यया थप्न सकिन्छ ।’ पछिल्लो समय सामान्य रुघाखोकीका बिरामी समेत कोरोनाको त्रासले परीक्षणकाे लागि अस्पताल पुग्ने गरेकाले भीडभाड बढेको उहाँको भनाइ छ ।
स्वास्थ्य सहायता कक्षस्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका विभिन्न आठ स्थानमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ । पोखरा विमानस्थलको प्रस्थान र आगमन, लेकसाइडको बाराहीचोक, बागलुङको बुर्तिबाङ, तनहुँको आँबुखैरेनी, स्याङ्जाको गल्याङस्थित राम्दी पुल, मुस्ताङको जोमसोम विमानस्थल, मुक्तिनाथ र घाँसा, नवलपरासीको गण्डक ब्यारेज र नवलपुरको गैँडाकोट नगरपालिका अगाडि स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ ।
त्यसैगरी विभिन्न सार्वजनिक तथा निजी सङ्घ संस्थाले आआफ्नो पायकको स्थानमा स्वास्थ्य सजगताका लागि सहायता कक्ष स्थापना गरी सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्ने गरेका छन् ।