खेम बम काठमाडौं । पार्टी एकताका बिषयमा भइरहेका बहसहरु हाल आएर निर्णयक भुमिकामा प्रवेश गर्न थालेका छन् । सहमतिको बाटो खोज्नका निम्ति एकआपसमा भएका छलफलहरुमा नेता कार्यकर्ताले नयाँ मोडालिटी प्रस्तुत गरेका छन् ।
पार्टी एकता नै अहिलेको टड्कारो आवश्यकता ठानेका दुवै दलका नेता कार्यकर्ता जति चिन्तित छन्, त्यति नै सहमतिय प्रयासले सार्थकता पाईरहेको छ । यसअघिको सहमति अनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई एकिकृत पार्टी अध्यक्ष बनाउने र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गर्ने भद्र सहमति भएको थियो ।
सोही सहमतिलाई कायम राख्न भइरहेका वार्ता, छलफलले निष्कर्ष निकाल्न नसक्दा वैकल्पिक बिषयमा समेत पृथक छलफल भइरहेको छ ।एमालेले पनि नयाँ मोडालिटीसहित वार्तामा बस्ने गरी तयारी थालेको छ । एमाले उपाध्यक्ष वामदेव गौतमले माओवादीलाई अध्यक्ष र एमालेले महासचिव लिएर भए पनि पार्टी एकता गर्नुपर्ने मोडालिटी प्रस्ताव गर्नुभएको छ् ।
वि.सं. २०४७ सालको तत्कालीन माले र माक्र्सवादी एकीकरण गर्दाको यो मोडलअनुसार सेरेमोनियल अध्यक्ष र शक्तिशाली महासचिव बनाउने बामदेवको प्रस्ताव रहेको छ । जुन प्रस्तावले सहजै पार्टी एकिकरणका निम्ति बाटो खोल्ने देखिन्छ ।
माले–माक्र्सवादी एकीकरणपछि बनेको एमालेमा माक्र्सवादीका अध्यक्ष मनमोहन अधिकारी अध्यक्ष बनेका थिए भने मालेबाट मदन भण्डारी महासचिव बने । जसले पार्टी महासचिवलाई बलियो बनाएर राख्यो । विश्वभरी नै कमिन्युष्ट पार्टी महासचिव पद्धतीमा नै चल्दै आएका छन् । माले र माक्र्सवादी एकता भन्दा पहिले नेपालमा समेत सोही पद्धतीमा कम्युनिष्ट थिए । यसरी एकता गर्दा नेताद्वय माधव नेपाल र झलनाथ खनालमध्ये एक जनालाई राष्ट्रपति पनि बनाउन सकिने बामदेवले सारेको प्रस्ताव नै निर्णयक बन्नुपर्ने पक्षमा एक धार उभिएको छ, भने केहिले यो पद्धतीले पार्टी एकतालाई कमजोर तुल्याउने बिश्लेषण गर्दै आएका छन् ।
जनताको जनादेशको उचित मुल्याङ्कन गर्नु एकातिर छ, भने पद र सांगठनिक संरचना निर्माणमा एकखाले समस्या छ । दोहोरो दबाबमा परेका दुवैदलका अध्यक्षहरुलाई नैतिक संकटले समेत च्यापेको छ । जनताको जनभावना र पार्टी पंक्तीभित्र रहेका नेता कार्यकर्ताको मनोभावनालाई बुझ्दै, जालझेल पन्छाउदै सरकार गठनअघि नै पार्टी एकताको सहमतिय प्रयास अहिलेको आवश्यकता बनेको छ ।
पार्टी एकतामा किन ढिलाईःके साँच्चै कम्युनिष्ट पार्टी एउटै हुन्छन् त ? किन ढिलाइ भइरहेको छ पार्टी एकता हुन ? यो बिषयले हाल चर्चा पाएको छ । नेपालका कम्युनिष्टहरू फुट्ने र जुट्ने खासै नौलो कुरा त होइन । विगतका इतिहासलाई केलाएर हेर्ने हो भने टुटफुट र जुटको शृङ्खला अगाडि बढ्दै आएको छ । सन् १८९८ मा सोभियत कम्युनिष्ट पार्टीको स्थापना भयो । स्थापनाको पाँच वर्षको अन्तरालमा कम्युनिस्ट पार्टी विभाजनको सिकार बन्यो ।
नेपालमा पनि त्यँही विभाजनको सिकार विगतमा भएकै हो । नेपाल कम्युनिष्ट पार्टी मिल्न नसक्नु नै मुलुकको लागि दुर्भाग्य भएको छ ।अहिले माओवादी र एमालेबीच छिटो पार्टी एकता हुनु नै जनताको अपेक्षा हो । एमाले र माओवादी केन्द्र वैचारिक, राजनीतिक, सांस्कृतिक, आर्थिक मुद्दामा व्यापक छलफल गरेर अघि बढ्नुपर्छ ।
नेपालका कम्युनिष्ट पार्टीहरू मिलेर एउटै पार्टी बन्नुपर्ने चाहना नेपाली जनताकोे छ । विगतमा भएका वैचारीक वैमनस्यता, निर्वाचनका बेला भएका आपसी द्वन्दलाई मित्रतामा बदल्नका निम्ति समेत आपसी समझदारी हुन आवश्यक छ , त्यसका निम्ति भइरहेको छलफल सकारात्मक तवरले अगाडी बढ्नुपर्दछ ।
जसरी पार्टी एकताका निम्ति दुईदलका अध्यक्षहरु एकधारमा उभिए र सहज तरिकाले एकताको अन्तिम बिन्दुसम्म पुगे । जसले दुवै पार्टीमा भएको वैमनस्यतालाई एकै रातमा कायापलटमा पु¥यायो अर्थात् एक नजिरमा पुगे ।
स्थानीय तहको निर्वाचनका बेला चितवनमा दुवै पार्टीबीच भएको द्वन्दले सीमा नाघेको थियो तर प्रचण्ड र ओली एकै मञ्चमा त्यँहा पुगे, एकैछिनमा बिग्रेको सम्बन्ध सुध्रियो । र त्यँहाका पार्टी नेता कार्यकर्ताले नेतृत्व तहलाई एकता प्रक्रिया बलियो बनाउन सुझाव समेत दिएका थिए ।
विभिन्न चरणमा भएका क्रियाकलापले एकताको विकल्प नभएको देखाएको पाईन्छ ।