भगीरथ भण्डारी
इलाम । कोरोना भाइरसको जोखिम बढेपछि इलामको श्रीअन्तुमा सञ्चालित होम–स्टेले अब पर्यटक नराख्ने भएका छन् । जिल्लाकै बढी पर्यटकको भिडभाड हुने र नयाँ व्यक्तिको आगमनले कोरोना भाइरसको संक्रमण जोखिम हुने भन्दै श्रीअन्तुका होटल, होम–स्टे व्यवसायीले पर्यटक नराख्ने भएका हुन् ।
कोरोना भाइरस संक्रमणकोे महामारीले विश्व नै आक्रान्त बनिरहँदा पनि इलामको अन्तुमा पर्यटक चहलपहल भइरहेपछि यस्तो बेला सबै सजग हुनुपर्ने भएकाले निश्चित समयका लागि अन्तुका होटल र होमस्टेबाट प्रदान गरीने सेवा बन्द गरेको होमस्टे व्यवसायी संघका अध्यक्ष धनकुमार आलेले जानकारी दिए । श्री अन्तुडाँडा सामुदायिक होम–स्टे र होटल र कटेज व्यवसायी संघ आबद्ध सबै व्यवसायीले अबका दिनमा आएका पाहुनाको बुकिङ नलिने निर्णय गरेका हुन् ।
अन्तुमा भएका सबै व्यवसायीको स्वास्थ्य सुरक्षाका लागि आफ्नो व्यवसाय नै केही समयलाई स्थगित गरेको आलेको भनाइ छ । अन्तुमा मात्रै ६३ घरमा होम–स्टे र २७ होटल, कटेज रहेको श्री अन्तुमा स–साना चिटिक्क परेका चिया बगान, चिया बगान भित्रका कटेज, पोखरी, लस्करै मिलेका धुपि सल्लाका रुख र विहानै उठेर हेर्ने सूर्योदय र सूर्यास्त दृश्यावलोकनका लागी पर्यटकको भिड लाग्ने गर्दथ्यो ।
सूर्योदयको दृश्य सँगसँगै अन्तु क्षेत्रमा लोपोन्मुख लेप्चा जातिको संस्कृति, अन्तु पोखरी, गुफा पाताल, सिंहबाहिनी क्षेत्र, मनमोहक हरियाली र चियाबारीका डाँडाकाँडाको दृश्य पनि आकर्षक भएका कारण यहाँ त्यसको मज्जा लिन पनि पर्यटक बाक्लै आउने गरेको पाइन्छ ।
विशेषगरी गर्मीयाममा प्रयर्टकहरु श्री अन्तु पुग्ने गर्दछन् । चिसो हावा पानीका कारण गर्मी छल्न पूर्वी नेपालको तराई क्षेत्र, भारतलगायत अन्य देशबाट समेत प्रर्यटकहरु आउने गरेको पाइन्छ ।
पर्यटकीय क्षेत्र सुनसान
पर्यटकीय क्षेत्रका नामले देशमै चर्चामा रहेको इलाममा कोरोना भाइरस कोभिड–१९ संक्रमणको त्रासका कारण सुनसान बन्न थालेको छ । जिल्लाका पर्यटकीय क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको आवतजावत घटेसँगै सुनसान बन्न थालेको हुन ।
इलाम सदरमुकामसहित कन्याम, श्रीअन्तु, पशुपतिनगर, फिक्कल, सन्दकपुर, गोर्खे, थुम्केलगायतमा पर्यटकको ओहिरो लाग्ने गर्दथ्यो तर यतिबेला पर्यटक आउने क्रम शुन्य जस्तै भएको छ ।
रोङ गाँपालिकाको कुटिडाँडामा अवस्थित सानो पाथिभारा मन्दिरको दर्शन, कन्याममा सेल्फि खिच्ने र दैनिक भिड्भाड देखिने ठाउँ यतिबेला सुनसान छ । पर्यटन सुचना केन्द्रका सुचना अधिकारी गगन घिमिरेकाअनुसार केही समय अघिसम्म इलाम भित्रनेको संख्या दैनिक ३०० को हाराहारीमा रहेपनि हाल ह्वात्तै घटेको छ । इलामको सुन्दरताकै कारण पछिल्लो समय फिल्म सुटिङको आँखामा समेत पर्न थालेको थियो । यहि समयमा धेरै जसो फिल्म सुटिङको लागि इलाम आउने भएपनि कोरोना भाइरस संक्रमणको त्रासले त्यसमा समेत असर परेको छ
।
पशुपतिनगर र फिक्कलमा हेल्प डेक्स
पर्यटकीय क्षेत्रको रुपमा अब्बल रहेको सूर्योदय नगरपालिकाको फिक्कलमा पनि हेल्प डेक्स सञ्चालन गरिएको छ । नेपाल रेडक्रस सोसाईटी सूर्योदय नगरपालिकाको प्राविधिक सहयोग स्थानीय युवाको पहलमा फिक्कल बजारमा हेल्प डेक्स सञ्चालन गरीएको हो ।
कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा विभिन्न सिलसिलामा देशभित्र र बाहिरबाट नेपालीहरु जिल्ला फर्कन थालेपछि जोखीम कम गर्न हेल्प डेक्स स्थापना गरिएको छ । डेक्समा यात्रु, पर्यटक, सवारी चालक, स्थानीयको ज्वरोको तापक्रम थर्मल गनबाट मापन गरीने रेडक्रस सूर्योदयका संयोजक सुजन नेपालले जानकारी दिए । यस अघि नै पशुपतिनगरमा सूर्योदय नगरपालिकाले हेल्प डेक्स सञ्चालन गर्दै आएको छ । नियन्त्रणका लागि कार्यदल गठन इलाम नगरपालिकाले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि कार्यदल गठन गरेको छ ।
गठित कार्यदलले दैनिक बैठक गरी स्थितिको जानकारी प्रमुखलाई दिने र निर्देशन अनुसार आवश्यक प्रवन्ध गर्ने भएको छ । कार्यालयअन्तर्गत गठित कार्यदलले केही समस्या देखा परे तत्काल पहल गरी नगरपालिकाबाट आवश्यक सहयोग गर्न समेत तयारी अवस्थामा रहेको इलाम नगरपालिका प्रशासकीय अधिकृत रामकुमार शाहले जानकारी दिए ।
त्यसैगरी इलाम नगरपालिका वडा नं ६ सिंगफ्रिङस्थित डा.मेघबहादुर पराजुली सामुदायिक अस्पताल हाल बन्द रहेको र यस महामारीको अवस्थालाई दृष्टिगत गर्दै उक्त अस्पताललाई क्वारेन्टाइन तथा आइसोलेसन वार्डका रूपमा प्रयोग गर्न गराउनका लागि तत्काल आवश्यक कारबाही अगाडि बढाउने भएको शाहाको भनाइ छ ।
कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि इलाम नगरपालिकाले अत्यावश्यक सेवाअन्तर्गत रहेका स्वास्थ्य संस्था पूर्ण रूपमा सञ्चालन गर्ने र दमकल, खानेपानी, सरसफाइ, जिन्सी र नगर प्रहरी सेवा पूर्ण रूपमा सञ्चालन गर्ने भएको छ ।
कार्यालयको सवारी साधन तथा मेसिनरी उपकरण र चालकलाई जुनसुकै समयका लाग स्ट्याण्डवाइ राख्ने, कर्मचारीलाई किरिया विदा, बिरामी विदा र प्रसूति विदा बाहेक अन्य विदा नदिइ कार्यालयले बोलाएका जुनसुकै वखत अनिवार्य उपस्थित भई कार्य क्षेत्रमा परिचालन हुन र स्ट्याण्डवाइ रहन निर्देशन दिएको छ ।
इलाम अस्पतालमा ‘आइसोलेशन कक्ष’
नोबल कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र उपचारका लागि इलममा आइसोलेसन कक्ष स्थापना गरिएको छ । जिल्लाको सदरमुकाममा रहेको इलाम अस्पतालमा रहेको क्याबिन वार्डलाई आइसोलेसनको रुपमा सन्चालन शुरु गरिएको हो ।
शङ्कास्पद देखिएका बिरामीको उपचारका लागि अस्पतालमा दुई शैयासहितका आइसोलेशन कक्ष स्थापना गरिएको छ । कोभिड–१९ का शंकास्पद बिरामी भेटिए आइसोलेसनमा राख्नेगरी जिल्लाका सरोकारवालाको बैठकले निर्णय गरेर आइसोलेसन कक्षको व्यवस्थापन इलाम अस्पतालले गरेको हो । ‘उच्च ज्वरो, रुघाखोकी लगायत कोभिड–१९ का शंकास्पद अन्य लक्षण देखिएका व्यक्तिलाई आइसोलेसन वार्डमा राखिने भएको छ भने उक्त स्थानका लागि चिकित्सकको टोली तयारी अवस्थामा छुट्टै राखिएको र साथमा एम्बुलेन्ससमेत तयारी अवस्थामा राखिएको इलाम अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले जानकारी दिए ।
यस्तै इलाम अस्पातलले ‘कोभिड–१९ का बारेमा जनचेतनामूलक सन्देश प्रभाव गर्न अस्पातल परिसरमा विभिन्न फ्लास प्रिन्टसहित साबुन पानीले हातधुने व्यवस्था मिलाएको इलाम अस्पतालका हेल्थ असिस्टेन टीका लुईटेलले बताए ।
त्यस्तै इलाम नगरपालिका वडा नं ६ सिंगफ्रिङस्थित डा.मेघबहादुर पराजुली सामुदायिक
अस्पताल हाल बन्द रहेको र यस महामारीको अवस्थालाई दृष्टिगत गर्दै उक्त अस्पताललाई क्वारेन्टाइन तथा आइसोलेसन वार्डका रूपमा प्रयोग गरिने भएको छ ।