फाइल तस्बिर
भगीरथ भण्डारी इलाम । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि इलामका १० स्थानीय तहले २ सय ७४ जना राख्न मिल्ने क्षमताको क्वारेन्टाइनको व्यवस्था गरेको छ । हालसम्म ८८ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
इलाम नगरपालिकामा ६ जना र रोङ गाउँपालिकामा ८२ जना गरी ८८ जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालय इलामका प्रशाशकीय अधिकृत सूचना अधिकारी सफल पोर्तेलले बताउनुभयो । हालसम्म इलाम अस्पतालले नौ जनालाई कोशी अञ्चल अस्पताल रेफर गरेको छ ।
अत्यधिक ज्वरो आएका नौ वर्षीय बालकसहित नौजना रेफर गरिएको डा. प्रभु शाहले बताउनभयो । अत्यधिक ज्वरो देखिएपछि उनीहरुलाई रेफर गरिएको डा.शाहको भनाइ छ ।
इलाम नगरपालिकाले सिङफ्रिङमा रहेको डा. मेघबहादुर पराजुली सामुदायिक अस्पतालमा १५ जना क्षमताको क्वारेन्टाइन बनाएको छ । योे अस्पतालमा रहेको क्वारेन्टाइनमा भारतबाट आएका ६ जनालाई राखेर नियमित फलोअपमा राखिएको पोर्तेलले बताउनुभयो । कोरोना भाइरस (कोभिड १९) पोजेटिभ देखिएकी फ्रान्सबाट आएकी युवतीसँगै दोहा कतारबाट जहाजबाट आएका इलाम नगरपालिका ४ का एक युवा इलाम अस्पतालमा स्वास्थ्य परीक्षण गरी सेल्फ क्वारेन्टाइनमा बसेका छन् । देउमाई नगरपालिकाले भानुभक्त माविमा १० वेडको क्वारेन्टाइन बनाएको छ । नगरभित्र हालसम्म बैदेशिक रोजगारीबाट आएका २० जना होम क्वारेन्टाइनमा बसिरहेका छन ।
रोङ गाँउपालिकामा १ सय ५० जना क्षमताको क्वारेन्टाईन निर्माण गरेको छ । अहिलेसम्म भारत र अन्य मुलुकबाट घर फर्किएका नागरिकहरुको तथ्याङ्क संकलन गरी ६२ जनालाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी रहने गरी सुरक्षित बासको व्यवस्था गरिएको छ । यसरी सररक्षित निगरानी केन्द्रमा बसेकाहरुका लागि भोजन, बत्ती, पानी, टेलिफोन र इन्टरनेटको व्यवस्था गाँउपालिकाले मिलाएको र दैनिक २ पटक स्वास्थ्य परीक्षण भइरहेको छ ।
माईजोगमाई गाउँपालिकामा २ स्थानमा १३ बेडको क्वारेन्टाइनस्थापना गरेको छ । गाउँपालिकाले नयाँबजारको अमरकल्याण माविमा १० बेड र नेपाल ज्योती माविमा ३ बेडको क्वारेन्टाइन बनाइको हो । भारतबाट आएकाहरुलाई होम क्वारेन्टाइनको सल्लाह दिएको भए पनि हालसम्म कसैलाई क्वारेन्टाइनमा राखिएको छैन । माङसेवुङ गाउँपालिकाले जनता आधारभुत विद्यालयमा १० बेडको क्वारेन्टाइन स्थापना गरेको छ । गाउँपालिका प्रवेश गर्ने मुख्य बाटोहरुमा चेकजाँचका साथै दैनिक खाध्य बस्तुहरु स्टकका लागि दमकबाट आयात गरिएको छ । चुलाचुली गाउँपालिकाले १ सय ५०जना क्षमताको क्वारेन्टाइन स्थापना गर्ने तयारी गरेको छ । गाउँपालिकाले कमलको जनता माविमा ७ बेडको स्थापन गरेको छ । बाह्रगोठेको जनता माविमा १५ बेडको स्थापना गर्न छलफल भइरहेको छ । विभिन्न देशबाट आएकाहरुको बारेमा टोल विकास संस्थाका प्रतिनिधिहरुलाई लगत संकलन गर्न खटाइएको छ । माई नगरपालिकामा ४ जना क्षमताको क्वारेन्टाइन स्थापना गरिएको छ । नगरले स्थानिय गरुवा बहुमुखी क्याम्पसमा क्वारेन्टाइन स्थापन गरेको हो । अहिले सम्म कसैलाई क्वारेनटाइनमा नराखिएको पाइएको छ । माइ नगरपालिकामा भारत सहित बैदेशिक रोजगारीबाट आएका १ सय बढीको स्वास्थ्य चेक जाँच गर्दा शंकास्पद लागेको एक जनालाई मेची अञ्चल अस्पताल पठाएको थियो ।
सन्दकपुर गाउँपालिकाले पालिका भित्र रहेको ६ वटा माध्यमिक विद्यालयमा ५० जना क्षमताको क्वारेन्टाइनको तयारी गरिरहेको छ । गाउँपालिकामा कोरोनाका आशंकामा २ जना विराटनगर रेफर भएका छन् । सन्दकपुर गाउँपालिका वडा नं ३ का एक युवक र उनकी आमालाई इलाम अस्पतालले कोशी अञ्चल अस्पताल बिराटनगर रिफर गरेको हो ।
जनप्रतिनिधिको एक महिनाको भत्ता कोरानो नियन्त्रणमा
इलामको फाकफोकथुम गाउँपालिकाले जनप्रतिनिधिहरुको एक महिनाको तलव र भत्ता कोरोना नियन्त्रणमा खर्च गर्ने भएको छ । गाँउपालिका उपाध्यक्ष सरस्वती राईका अनुसार जनप्रतिनिधिको तलब र भत्ताबाट सेनिटाइजर, डिटोल, सावुन मास्क लगायतको खरिद गरिनेछ ।
गाउँपालिकाले प्रत्येक वडामा २ हजारको दरले मास्क वितरण गरेको राईको भनाइ छ । गाउँपालिकाले केन्द्र नजिकैको सिंहदेवी माविमा २० शैयाको क्वारेन्टाइन बनाउन थालेको र बैदेशिक रोजगारीबाट आएकाहरुको स्वास्थ्य परीक्षण गरी हाल होम क्वारेन्टाइनमा राखिएको राईले बताउनुभयो ।