हरि अधिकारी कपिलवस्तु । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको लक डाउनका कारण अत्यावश्यक दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन स्थानीय स्तरमा घुम्ती सेवा संचालन गरिएको छ ।
कृषि बहुउद्देश्यीय सहकारी संस्थाले वाणगंगा नगरपालिका -८ का वडावासीलाई अत्यावश्यक दैनिक उपभोग्य बस्तुको घुम्ती सेवा शुरु गरेको हो ।
सरकारले गरेको लकडाउनका कारण वडावासीलाई दैनिक उपभोग्य बस्तुको अभाव नहोस भन्ने उद्देश्यले घरदैलोमै घुम्ति सेवा संचालन गरिएको वडाध्यक्ष गुणनिधी भुसालले जानकारी दिनुभयो ।
कृषि बहुउद्देश्यीय सहकारी संस्थाद्वारा संचालित सहकारी पसलले चामल, दाल, चिनी, नुन, तेल, तरकारी, आलु लगाएतका अत्यावश्य उपभोग्य बस्तुको ढुवानी गरी सुलभ मुल्यमा बिक्री वितरण गरेको छ । लकडाउनको समय सीमा लम्बिने संकेत भइरहेका बेला बजारमा दैनिक खाद्यबस्तुको कृतिम अभाव देखाई कालोबजारी हुनसक्ने भन्दै वडाको समन्वयमा सहकारी पसलले सहज रुपमा उपभोग्य बस्तुको बिक्री वितरण गर्दै आएको छ ।
वडाध्यक्ष गुणनीधि भुसालले वडाबाट ढुवानी खर्च व्यहोर्ने र सहकारी पसलले प्रचलित बजार मुल्यमा बिक्री वितरण गर्दा सहकारीमा आवद्ध सदस्य र वडावासी थप सुविधा पाएको बताउनुभयो । वाणगंगा नगरपालिका-८ का ८ वटा टोलहरुमा प्रत्येक दिन एकपटक दैनिक उपभोग्य बस्तुको विक्री वितरण हुदै आएको छ । सहकारी पसललले वडाका टोलटोलमा दैनिक उपभोग्य बस्तुको बिक्रीवितरण गर्दा कालोबजारीको अन्त्य र कोरोना संक्रमणको जोखिम पनि कम हुने स्थानीय चेतनारायण भण्डारीले बताउनुभयो ।
कृषि बहुउद्देश्यीय सहकारी संस्थाका कार्यवाहक अध्यक्ष कृष्ण न्यौपानेले सहकारी पसलले टोलटोल पिकअप भ्यान मार्फत दैनिक उपभोग्य बस्तुको सहज आपूर्ति गराएको जानकारी दिनुभयो ।
सहकारी पसलमा अझ एक महिना पुग्ने दैनिक खाद्य वस्तुको मौज्दात रहेको जानकारी दिदै घुम्ति सेवाबाट उपभोक्ताले धेरै सुविधा पाएको बताउनुभयो । उपभोक्ताले दैनिक उपभोग्य बस्तुको आवश्यकता परेको खण्डमा फोनमार्फत पनि माग गर्नसक्ने व्यवस्था मिलाइएको छ ।